ग्रेडरले कुल्चिदियो चेतनाको नर्स बन्ने सपना

हिमाल प्रेस १६ मंसिर २०७९ १९:४९
ग्रेडरले कुल्चिदियो चेतनाको नर्स बन्ने सपना बिहीबार ग्रेडरले किचेर चेतनाको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका विद्यार्थी र स्थानीयबासी। तस्बिर- पदमराज भट्ट/हिमाल प्रेस

धनगढी– बैतडीको विकट गाउँपालीका डिलाशैनीबाट पढाइको धोका पूरा गर्न धनगढी आउँदा चेतना साउदको लक्ष्य ठूलो भएर नर्स बन्ने थियो।

गाउँका दिदीहरू पनि नर्स थिए। अस्पताल जाँदा होस् या सामाजिक सञ्जाल; नर्सले सेतो लुगा लगाएर बिरामीको सेवा गरेको उनले देखेकी थिइन्।

‘ठूलो भएर म पनि यस्तै नर्स बन्छु, अनि बिरामीको सेवा गर्छु,’ उनले सोचेकी थिइन्। चेतना साउद धनगढी उपमहानगरपालिका ५ तारानगरमा परिवारसँगै बस्थिन्।

नजिकैको पञ्चोदयमा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन्। पढाइ सन्तोषजक थियो तर बिहीबार बिहानको एक ग्रेडरले उनीसँगै उनको नर्स बन्ने सपना पनि कुल्चिदियो।

‘सबै शिक्षक तथा साथीभाइसँग मिलनसार व्यवहार गर्थिन्,’ शिक्षक सुरेन्द्र जोशीले भने, ‘के बन्नेभन्दा नर्स बन्ने भन्थिन्। समयमै गृहकार्य पनि गर्थिन्। तर के गर्ने राम्रो मान्छेलाई धर्तीमा ठाउँ हुँदैन भन्थे आज त्यस्तै लागिरहेको छ। उनको मृत्युको खबर पत्याउँनै सकिरहेको छैन। उनी आँखा वरिपरि घुम्दै छिन्।’

घरबाट विद्यालयनजिकै पुगेकी थिइन्। हसनपुर डिभोटी चोकदेखि हसनपुर पिपल्लचौतारा सडक निर्माणमा क्रममा प्रयोग भएको ग्रेडरले सुरुमा उनलाई ठक्कर दियो।

उनी उठ्ने प्रयासमा रहँदा-रहँदै ग्रेडरले कुल्चिएको स्थानीय बताउँदै आएका छन्। घटनास्थलमै उनको ज्यान गयो।

त्यसबाट आक्रोशित विद्यार्थी र स्थानीयले बाटो बन्द गर्दै नाराबाजी गरेका थिए। विद्यार्थीहरू धनगढी बजार, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि आन्दोलनमा उत्रिएपछि धनगढीमा निषेधाज्ञा नै घोषणा गर्नुपरेको छ।

शुक्रबार (आज) दिउँसो भने आफन्त र प्रशासनबीच सहमति भएको छ।

आफन्तले ग्रेडर चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता गराएका छन्। घटनामाथि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। -राससको सहयोगमा

प्रकाशित: १६ मंसिर २०७९ १९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =