मधेशमा जनमत पार्टी निर्णायक, को बन्ला मुख्यमन्त्री?

विपिन पोखरेल १६ मंसिर २०७९ १८:२१
5.4k
SHARES
मधेशमा जनमत पार्टी निर्णायक, को बन्ला मुख्यमन्त्री? प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बिहीबार बालुवाटारमा भेट गर्दै जनमत पार्टीका अध्यक्ष डा. सीके राउत। साथमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र पूर्व उपसभापति विमलेन्द्र निधि।

काठमाडौँ- मधेश प्रदेशमा सरकार बनाउन दुवै गठबन्धनसँग बहुमत नपुग्ने भएको छ। त्यसैले सत्ता गठनका लागि प्रमुख दलका नेता ससाना दल र स्वतन्त्र सांसद तान्न सक्रिय भएका छन्। निर्वाचन मत परिणामअनुसार मधेशको मसिहाका रूपमा रहेका जसपा र लोसपालाई चुनौती दिँदै एमाले बलियो देखिएको छ। यस्तै अर्को शक्तिका रूपमा अगाडि बढेर सीके राउत नेतृत्वको जनमत पार्टी सरकार गठनका लागि निर्णायक हुने देखिएको छ।

सत्ता पक्षतर्फ (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा) बीच पाँचदलीय गठबन्धन रहेको मधेशमा नेकपा एमालेले पनि जनता समाजवादी पार्टीसँग गठबन्धन गरेको थियो।

प्रदेशसभामा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी १०७ सिट छ। प्रत्यक्षतर्फ एमालेका १५, नेपाली कांग्रेसका १३, जसपाका नौ, लोसपाका सात, जनमत पार्टीका ६, नेकपा माओवादीका चार, नेकपा (एकीकृत समाजवादी) का चार र स्वतन्त्रका ६ जना विजयी भएका छन्।

सत्ता गठबन्धनबाट प्रत्यक्षतर्फ २८ जना सांसद निर्वाचित भएका छन् भने विपक्षीतर्फ एमाले र जसपाको गरेर २४ जना सांसद चुनिएका छन्। मधेशमा खसेको समानुपातिकतर्फको २० लाख ८४ हजार ६९३ मत गणना हुँदा चार लाख २७ मतसहित कांग्रेस ठूलो दल भएको छ। तीन लाख ५१ हजार ७२५ मतसहित नेकपा एमाले दोस्रो, तीन लाख २८ हजार ३५५ मतसहित जनमत तेस्रो, दुई लाख ९८ हजार ४३२ मतसहित जसपा चौथो, एक लाख ८० हजार ७६७ मतसहित नेकपा माओवादी पाँचौँ, एक लाख १३ हजार ८८६ मतसहित नेकपा एस छैटौँ दल बनेका छन्।

लोसपा यसपटक मधेशको सातौँ दल बन्न पुगेको छ। यसले मधेश प्रदेशमा एक लाख १३ हजार २०९ मत ल्याएको छ। यस्तै राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उनमुक्ति पार्टीले पनि मधेशमा थ्रेसहोल्ड पार गरेर केही सिट पाउने देखिएको छ।

समानुपातिकतर्फको ४३ सिटमा नेपाली कांग्रेस १०, नेकपा एमालेले आठ, जनमत पार्टीले ६, जसपाले ६, नेकपा माओवादीले चार, नेकपा एसले तीन, लोसपाले तीन, राप्रपा, नेसंसपा, नागरिक उन्मुक्ति पार्टीले एकएक सिट पाउने देखिएको छ।

समानुपातिकतर्फ सत्ता गठबन्धनसँग २० सिट र विपक्षी गठबन्धनसँग राप्रपाको एक सिट जोड्दा १५ सिट हुने देखिन्छ। प्रत्यक्ष र समानुपातिक गरेर सत्ता गठबन्धनसँग ४८ सिट मात्रै पुग्छ। विपक्षी गठबन्धनसँग पनि ३९ सिट मात्रै पुग्छ। प्रदेश सरकार बनाउन ५४ जना सांसद चाहिन्छ। जनमत पार्टीले मधेशमा १२ जना सांसद पाउने भएसँगै उसको मत निर्णायक हुने देखिएको छ।

६ जना स्वतन्त्र सांसद र साना दलका सांसदको मत पनि महत्त्वपूर्ण हुने देखिएको छ।

प्रमुख दलको दौडधुप

प्रत्यक्षतर्फ १५ सिटमा विजयी हासिल गरेसँगै एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउन दौडधुप सुरु गरेको छ। एमाले नेता रेवती पन्तले मधेश प्रदेशमा सबैभन्दा ठूलो दलका रूपमा एमाले हुने भएकाले प्रदेश सरकार बनाउन पहल गर्ने भए पनि केन्द्रीय सरकारको समीकरणबाट प्रदेश सरकार कसको बन्ने भन्ने निश्चित हुने बताए।

उनले भने, ‘नेकपा एमालेमा प्रत्यक्षतर्फ निर्वाचित प्रदेशसभाका रामकुमार लेखी, रामचन्द्र मण्डल, हरिनारायण महतो गरी तीन सांसदमध्येबाट एक जना मुख्यमन्त्रीको दाबेदार भए पनि यसबारे छलफल भइसकेको छैन। हामीले प्रदेशमा सरकार निर्माणका लागि पहल गरे पनि केन्द्रमा बन्ने सरकार समीकरण पर्खन्छौँ।’

‘अध्यक्षज्यू यही विषयमा छलफलका क्रममा हुनुहुन्छ। पार्टीले कसैलाई समर्थन गर्ने वा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने विषयमा छलफल गरेर निर्णय गर्छ।’ एमालेसँग तालमेल गरी प्रत्यक्षतर्फ प्रदेशसभामा नौ सिट जितेको जसपाबाट मुख्यमन्त्री लालबाबु राउत स्वाभाविक दाबेदार छन्। उनी पर्सा १ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

प्रत्यक्षतर्फ चार सिट जितेको नेकपा माओवादीले भावी मुख्यमन्त्रीका लागि दाबी नगरे पनि प्रत्यक्षतर्फ ६ सिट जितेको जनमतले भने मुख्यमन्त्रीमा दाबी गर्ने जनाएको छ। जनमत पार्टीका उपाध्यक्ष मोहम्मद अब्दुल खानले प्रदेश समानुपातिक तर्फबाट उम्मेदवार भएका उपाध्यक्ष वसन्तकुमार कुशवाहा वा महासचिव चन्दनकुमार सिंहमध्ये एक जना प्रदेश प्रमुखको दाबेदार हुने बताए।

मधेश प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धन तथा नेकपा एमाले र जनता समाजवादी पार्टी जसपाको गठबन्धन चुनावी मैदानमा थिए। दुवै गठबन्धनको स्पष्ट बहुमत आउन नसकेपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने भएको छ।

अघिल्लो निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ संघीय समाजवादी फोरम (हालको जसपा) ले १९ र राष्ट्रिय जनता पार्टी (हालको लोसपा)ले १५ गरी ३४ सिट जितेका थिए। १०७ सदस्यीय मधेश प्रदेशसभामा जसपाको २९ र लोसपाको २५ सिट थियो। एमालेको २१, कांग्रेसको १९, माओवादी केन्द्रको ११ र संघीय समाजवादी नेपालको एक सिट जोड्दा पनि सरकार बन्ने अवस्था थिएन। अहिले भने यी दुवै गठबन्धनले स्पष्ट बहुमत नआएपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने देखिएको छ।

जनमत पार्टीका महासचिव चन्दनकुमार सिहंले मधेश प्रदेशमा सरकार बनाउने विषयमा आफ्नो दलको भूमिकाका बारेमा स्पष्ट भइनसकेको बताए। उनले भने, ‘अहिले हाम्रो पार्टीको भूमिका के हुन्छ? कसरी अघि बढ्ने भन्ने निश्चित भएको छैन। जनमत पार्टीको बलियो उपस्थिति भएकाले पनि नयाँ सरकारमा हाम्रो दाबी रहन्छ।’

उनले सरकारमा जाने विषयमा विभिन्न दलसँग छलफल भइरहेको जानकारी दिए। सिंहले भने, ‘अध्यक्षज्यू यही विषयमा छलफलका क्रममा हुनुहुन्छ। पार्टीले कसैलाई समर्थन गर्ने वा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने विषयमा छलफल गरेर निर्णय गर्छ।’

यस क्रममा कांग्रेस नेतृत्वको गठबन्धनसँग सहकार्य गर्न जनमत तयार भएको छ। अध्यक्ष राउतले बिहीबार प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणसहित नेताहरूसँग भेटे गरी यस्तो सहमति जनाएका हुन्।

मधेशमा सरकार निर्माणका लागि सीके राउत नेतृत्वको जनमत पार्टी निर्णायक बनेको छ। १०७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन कम्तीमा ५४ सिट चाहिन्छ। जनमत पार्टीलाई आफ्नो पक्षमा पार्न कांग्रेस र एमाले दुवैले कसरत गरे पनि यस विषयमा निर्णय भने भइसकेको छैन।

जनमत पार्टी निर्णायक रहेकाले उक्त पार्टीका नेताहरूसँग छलफल भइरहेको कांग्रेसका प्रदेशसभा सदस्य रामसरोज यादवले जानकारी दिए। उनले भने, ‘सरकार निर्माण गर्ने विषयमा गठबन्धन दल र जनमत पार्टीबीच छलभल भएको छ। संघीय सरकारमा गठबन्धन गरेका माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी मिलेर सरकार बन्छ। मुख्यमन्त्री कसले पाउने भन्ने विषयमा सहमतिकै आधारमा अघि बढ्ने हो। अहिले नै यस विषयमा निर्णय भने भएको छैन।’

एमालेले पनि कांग्रेस र एकीकृत समाजवादीबाहेक अन्य सबै दलसँग सहकार्यका लागि ढोका खुला रहेको जनाएको छ।

प्रकाशित: १६ मंसिर २०७९ १८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =