पार्टीले सांसद निलम्बन गर्न माग गर्दा किन विपक्षमा सभामुख?

हिमाल प्रेस १७ चैत २०८० ११:३८
20
SHARES
पार्टीले सांसद निलम्बन गर्न माग गर्दा किन विपक्षमा सभामुख? फाइल तस्बिर

काठमाडौँ- जनमत पार्टीकी सांसद गोमालाभ सापकोटालाई निलम्बन गर्न माग गर्दै पार्टीले लेखेको पत्र सभामुख देवराज घिमिरेले त्रुटीपूर्ण भनेका छन्। घिमिरेले सापकोटालाई कारबाही गर्न नमिल्दै भन्दै कारबाही अस्वीकृत गरेका छन्।

जनमतले सांसद सापकोटालाई स्पष्टीकरण सोधेर कारबाही स्वरूप पार्टीबाट निष्कासन गरेको व्यहोरा उल्लेख गर्दै गत फागुन २७ गते संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो। तर सभामुख घिमिरेले जनमत पार्टीले पठाएको पत्रहरू अध्ययन गर्दा सापकोटाले दल त्याग गरेको नदेखिएको र निजलाई दलबाट निष्कासन गरेको नपाइएको भन्दै सांसद पद कायम गरेका हुन्।

संसद सचिवालयले जनमत पार्टीलाई पठाएको पत्रमा ‘कारबाही कानुन एवं प्रक्रियागत रूपमा प्रथम दृष्टिमै त्रुटीपूर्ण देखिन आएको’ उल्लेख छ।

पत्रमा भनिएको छ, ‘त्रुटीपूर्ण कार्यलाई अनदेखा गरि निजमाथि गरेको भनिएको कारबाही अगाडि बढाउन सक्ने अवस्था भएन।’ सभामुखको सचिवालयले कारबाही प्रक्रिया नपुगेको जनाएको छ।

यस्तो छ कानुनी व्यवस्था

राजनीतिक दल सम्बन्धी ऐनको दफा ३२ ले कुनै पनि सांसदले दलको सदस्यबाट राजीनामा दिएमा, अर्को दलको सदस्यता लिएमा वा आफैं संलग्न भई अर्को दल गठन गरेमा दल त्याग गरेको मानिने ब्यवस्था गरेको छ।

यी कारण विद्यमान भएमा सांसदलाई दलले निष्कासन गर्न सक्ने छ। यसरी निष्कासन गर्नुअघि सांसदलाई सफाइको मौका दिनुपर्छ। जाँचबुझका लागि समिति गठन गर्नुपर्छ। सफाइ सन्तोषजनक नभएमा केन्द्रीय समितिको निर्णय गरेर विधानको व्यवस्था बमोजिम आधार र कारण खुलाई कारबाही गर्नुपर्छ।

सभामुख घिमिरेले जनमत पार्टीलाई राजनीतिक दल सम्बन्धी ऐनमा भएको यही प्रक्रिया पूरा नभएको उल्लेख गर्दै निष्कासन त्रुटीपूर्ण ठहर गरेका हुन्।

सभामुख घिमिरेले स्वीट्जरल्याण्ड जानुअघि चैत १२ गते नै जनमत पार्टीलाई संसद सचिवालय मार्फत् पत्र पठाएका थिए। यता जनमतले भने सभामुखको कार्यशैलीमाथि नै प्रश्न उठाएको छ। उनले सभामुख निष्पक्ष नबनेको बताएको छ।

सांसद सापकोटालाई निलम्बन गर्न जनमत पार्टीले लेखेको पत्र संसद्‍ सचिवालयमा

प्रकाशित: १७ चैत २०८० ११:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =