सहकारी प्रकरणबारे सभामुखले शीर्ष चार दलसँग छलफल गर्ने

हिमाल प्रेस २६ चैत २०८० ८:०८
10
SHARES
सहकारी प्रकरणबारे सभामुखले शीर्ष चार दलसँग छलफल गर्ने

काठमाडौँ- सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेतालाई प्रमुख प्रतिपक्षको मागबारे छलफल गर्न बोलाएका छन्।

सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने अल्टिमेटम दिएकाले सभामुखले दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन्।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार सभामुखले सोमबार बिहान साढे १० बजे सभामुखको कार्यकक्ष सिंहदरबारमा शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन्।

अधिकारीका अनुसार प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई छलफलका लागि बोलाइएको छ ।

घिमिरेले आइतबार चार जना नेतासँग टेलिफोनमा कुरा गरेर छलफलको समय निर्धारण गरेका हुन्। गत २१ गतेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले अर्को बैठकमा छानबिन समिति गठन नभए संसद् ठप्प पार्ने अल्टिमेटम दिएको थियो। प्रतिनिधि सभाको अर्को बैठक चैत २७ गते मंगलबार बोलाइएको छ।

सत्तारुढ दलले कांग्रेसको माग अनुसार समिति गठन नहुने बताउँदै आएका छन्। कांग्रेसले विगत एक महिनायता निरन्तर लामिछानेमाथि प्रश्न उठाउँदै आएको छ।

यसैबीच सरकारले यही साता हिउँदे अधिवेशन अन्त्य गर्नै तयारी गरेको छ। स्रोतका अनुसार आगामी बिहीबारको मन्त्रिपरिषद् बैठकमार्फत हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने तयारी छ। जेठ १५ मा बजेट पेस गर्नुपर्ने भएकाले सो अगावै वर्षे अधिवेशन आह्वान हुनेछ।

प्रकाशित: २६ चैत २०८० ८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =