मागेको १५ वर्ष बित्यो, सिउरेनी खोलामा कसैले बनाएन पुल

हिमाल प्रेस १६ मंसिर २०७९ १५:१०
10
SHARES
मागेको १५ वर्ष बित्यो, सिउरेनी खोलामा कसैले बनाएन पुल

जाजरकोट– झोलुंगे पुल माग गर्न थालेको १५ वर्षभन्दा बढी हुँदा पनि जाजरकोटबासीको माग पूरा भएको छैन। पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका ४ र ११ मा पर्ने सिउरेनी खोलामा पुल निर्माण हुन सकेको छैन।

तत्कालीन संविधानसभा सदस्य भक्त शाहदेखि अहिलेसम्मका सबै नेतालाई पुलका लागि माग गरे पनि कसैले ध्यान नदिएको स्थानीयवासी रेशम खड्काले बताए।

लुहादह, कोताङलगायतका आधा दर्जन गाउँका सर्वसाधारण ज्यान जोखिममा पारेर खोला तर्दै आएको खड्काको भनाइ छ।

खोला पार गर्न खोज्दा ०७५ सालमा जुनिचाँदे ४ कै कालो दमाइ र दल्जिते दमाइको मृत्यु भएको थियो।

यसअघि धेरैले ज्यान गुमाएको जुनिचाँदे ४ का वडाध्यक्ष हरि खड्काको भनाइ छ।

‘०६४ बाट पुलका लागि तत्कालीन जिल्ला विकास समितिमा धेरै पटक निवेदन दिइएको थियो। त्यसपछि सांसदहरूलाई पनि पुलका लागि जानकारी गराएका थियौँ,’ उनले भने, ‘गाउँपालिकाले छ वर्षदेखि निरन्तर नीति कार्यक्रमयसलाई समेटेको छ तर कार्यान्वयन भने भएको छैन।’

खोलामा पुल नहुँदा वर्षातको समयमा स्वास्थ्य सेवा लिन आउने नागरिकले सास्ती भोग्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्र कोताङका प्रमुख विनोद शाहीले बताए।

‘पुलको बाटो हुँदै स्वास्थ्य संस्था आउँदा झन्डै एक घण्टा बढी हिँड्नुपर्छ। बाटो अप्ठ्यारो भएकाले धेरै मानिस त्यो बाटो जाँदैनन्,’ उनले भने।

व्यापारी पदम बुढाले पुल नहुँदा व्यापारीलाई सामान ढुवानीमा समस्या भएको अनुभव बताए।

खोलामा पानीको वहाव बढी भएको समयमा सामान नै ढुवानी गर्न नसकिने उनको भनाइ छ।

प्रकाशित: १६ मंसिर २०७९ १५:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 13 =