टिकटकले चर्चामा ल्याएपछि खुदीखोला पुलमा पर्यटकको चहलपहल

हिमाल प्रेस २१ जेठ २०८० ६:५३
8
SHARES
टिकटकले चर्चामा ल्याएपछि खुदीखोला पुलमा पर्यटकको चहलपहल

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका-१ समस्तीपुरमा खुदीखोलामाथि झोलुंगे पुल छ। समुद्र सतहबाट २ सय ७० मिटर उचाइमा अवस्थित उक्त पुलले सोही वडाको यांचोक जोड्छ।

यो पुल नेपालकै दोस्रो अग्लो झोलुंगे पुल भएको दाबी गरिएको छ। पृथ्वी राजमार्गअन्तर्गत बरादीदेखि साढे २ किलोमिटर दूरीमा अवस्थित उक्त पुलले पछिल्लो समय पर्यटकलाई आकर्षित गरेको छ।

सामाजिक सञ्जालदेखि टिकटकबाट उक्त पुलको प्रचार भएपछि यहाँ पुग्ने पर्यटकको संख्या बढ्दो छ। गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयमार्फत ०७७ सालमा उक्त पुल निर्माण गरिएको हो।

डि टाइपको उक्त पुलको लम्बाइ २ सय २० मिटर रहेको छ। उक्त पुलमा एकैपटक ४ सय ७५ पदयात्री आवतजावत गर्न मिल्छ। बाबिरो÷प्रमिला जेभीले उक्त पुलको निर्माण गरेको हो।

पुल पर्यटकीय गन्तव्यको रूपमा विकास हुन थालेपछि गाउँपालिका यसको प्रवर्द्धनमा जुटेको छ। झोलुंगे पुललाई केन्द्रित गरेर गाउँपालिकाले पर्यटन विकासका योजना अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए।

‘हामीलाई जानकारी भएसम्म नेपालको सबैभन्दा अग्लोमध्येको झोलुंगे पुल हो भन्ने छ, यो पुललाई केन्द्रित गरेर पर्यटनका योजना बनाउँदैछौँ,’ उनले भने।

पर्यटन प्रवर्द्धनका निम्ति झोलुंगे पुलसम्म आउने बाटो स्तरोन्नति गर्न लागिएको अध्यक्ष चुमानले बताए। साथै झोलुंगे पुलमा आधारित रहेर साहसिक खेल सञ्चालन गर्ने योजना बनाइएको उनको भनाइ छ।

‘यहाँ बन्जी जम्प, जीप लाइन सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर डीपीआर बनाउँदैछौँ, यो एउटा नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास हुने निश्चित छ,’ उनले भने।

अध्यक्ष चुमानका अनुसार झोलुंगे पुल घुम्न आउने पाहुनालाई लक्षित गरी नजिकै रहेको गुरुङ बस्ती गिरानचौरलाई पर्यटकीय गाउँ बनाउने काम भइरहेको छ। यसका लागि चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो।

‘राजमार्गनजिकै रहेको झोलुंगे पुल घुम्न आउने पाहुनालाई गुरुङबस्तीसम्म लैजान सकिए त्यहाँका स्थानीयवासीको जीविकोपार्जनको माध्यम बनाउन सकिन्छ’, उनले भने, ‘बिदा र शनिबारका दिन अन्य दिनभन्दा बढी पर्यटकको चहपहल हुन्छ।’

गाउँपालिकाले झोलुंगे पुलनजिकै रहेको आँधीमूलको पर्यटन प्रवर्द्धन गर्ने काम गरिरहेको छ। यसका लागि यहाँ कृत्रिम ताल निर्माण गर्ने योजना अगाडि सारिएको छ।

‘आँधीमूल पर्यटकीय धार्मिकस्थल हो, २० मिनेटको दूरीमा रहेको आँधीमूलमा कृत्रिम ताल बनाउँदैछौँ। झोलुंगे पुल र आँधीमूलको सही व्यवस्थापन गर्न सकिए यहाँका स्थानीयवासीको आर्थिक विकासका निम्ति महत्त्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भने।

आँधीमूलमा कृत्रिम ताल बनाउन ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। आँधीमूलमा रहेको मन्दिर, २३ वटा धारालगायतले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ। आँधीमूलमा ठूलो एकादशीका दिन पनि विशेष मेला लाग्ने गरेको छ। आँधीमूल मन्दिरको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ।

गाउँपालिकाले आँबुखैरेनी गाउँपालिका-४ मा रहेको मस्र्यांदी नदीमा मोटरबोट सञ्चालन गर्ने लक्ष्य राखेको छ। मोटरबोट सञ्चालन गरी स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको उनले बताए।

‘ यहाँ मोटरबोट सञ्चालन गर्न सकिए राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई आँबुखैरेनीमा भुलाउन सक्छौं। यसका लागि ऊर्जा मन्त्रालयमार्फत अनुमति चाहेका छौ,’ उनले भने।

चिनियाँ अधिकारीसँग पनि यस विषयमा कुराकानी भएकोसमेत उनले जनाए। ‘नेपाल भ्रमणमा आउने अधिकांश चिनियाँ पर्यटक राजमार्ग हुँदै पोखरातर्फ जाँदा उनीहरूलाई आँबुखैरेनीमा एकदिन भए पनि राख्न सकिए यहाँका स्थानीयवासीको जीविकोपार्जनमा पनि सहयोग पुग्छ’, उनले भने। -रासस

प्रकाशित: २१ जेठ २०८० ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nineteen =