बागलुङमा मोटरेवल पुल बनेपछि झोलुंगे पुल प्रयोगविहीन

हिमाल प्रेस २० असार २०८० ८:५७
6
SHARES
बागलुङमा मोटरेवल पुल बनेपछि झोलुंगे पुल प्रयोगविहीन फाइल तस्बिर।

बागलुङ– मध्यपहाडी पुष्पलाल लोकमार्गले छिचोलेको बागलुङमा पछिल्लो ५ वर्षयता लोकमार्गमै आधा दर्जन मोटरेबल पुल थपिए। मोटरेबल पुल थपिएपछि बाह्रैमास सवारीसाधन चल्न पाउँदा यात्रुलाई सहज भएको छ।

गलकोट नगरपालिका-११ रिघा र बडिगाड गाउँपालिकाको सीमानामा रहेको गिरींदीखोला पुल बनेपछि छेउमै रहेको झोलुंगे पुलबाट वारपार गर्न छोडेका छन्।

काठको फलेक प्रयोग गरेर बनाइएको उक्त झोलुंगे पुल जीर्ण बनेको छ। मोटरेबल पुल निर्माण भएपछि पैदलयात्रुले सहजताका लागि मोटरेबल पुल प्रयोग गर्न थालेका छन्।

गिरींदी खोलामाथिको झोलुंगे पुलका काठ कुहिएर झर्न थालेका छन्।

बडिगाड गाउँपालिकाभित्रै रहेको लब्दी खोला मोटरेबल पुल र भीमगिडेको भीमगाड खोलामा मोटरेबल पुल निर्माण भएपछि झोलुंगे पुल प्रयोगविहीन अवस्थामा रहेको स्थानीय कमल पौडेलले जानकारी दिए।

‘मध्यपहाडी पुष्पलाल लोकमार्गका कारण बागलुङमा धेरै मोटरेबल पुल बने। मोटरेबल पुलका कारण झोलुंगे पुल प्रयोगविहीन अवस्थामा छन्,’ उनले भने।

कतिपय खोलामा साना छोटा झोलुंगे पुलमाथि लामो झोलुंगे पुल निर्माण गरिएका छन्। बागलुङ नगरपालिका-१ देखि बागलुङ नगरपालिका-१० भकुण्डे जोड्नेगरी काठेखोलामा बनाइएको झोलुंगे पुल, काठेखोलाको दोबिल्ला खोलामा रहेको झोलुंगे पुल, काठेखोलाकै लामाबगरमा रहेको झोलुंगे पुलकै ठाउँमा मोटरेबल पुल निर्माण गरिएका छन्।

बागलुङ बजारदेखि तित्याङ जोड्ने गरी निर्माण भएको लामो झोलुंगे पुलका कारण काठेखोलामाथि रहेको छोटो झोलुंगे पुल प्रयोग गर्न छाडिएको छ।

झोलुंगे पुल भएकै स्थानमा मोटरेवल पुल निर्माण गर्दा प्रयोगविहीन अवस्थामा छन्। बागलुङ नगरपालिका आसपास, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका क्षेत्रमा ग्रामीण सडकमा समेत मोटरेवल पुल निर्माण हुँदा झोलुंगे पुल प्रयोग गर्न छाडिएको छ। ती पुललाई आवश्यक स्थानमा प्रतिस्थापन गर्न आवश्यक छ।

लामा र अग्ला झोलुंगे पुल र पक्की पुलका कारण नदी तर्नका लागि निर्माण गरिएको स-साना झोलुंगे पुल बागलुङमा प्रयोगमा आउन छाडेका छन्। जिल्लामा हाल चार सय ४५ भन्दा बढी झोलुंगे पुल रहेको तथ्यांक छ।

करिब १ सय ५० झोलुंगे पुल प्रगोगविहीन अवस्थामा रहेका विवाइसीमार्फत झोलुंगे पुल व्यवस्थापन कार्यक्रमका संयोजक प्रेम केसीको भनाइ छ।

मोटरेवल पुलसँगै सडकयात्राका कारण पदमार्ग विस्थापित हुँदा झोलुंगे पुल प्रयोग हुन छाडेको उनको भनाइ छ।

प्रकाशित: २० असार २०८० ८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =