स्याङ्जामा पुल हेर्न आउने विदेशी पर्यटक बढ्दै

हिमाल प्रेस ९ असार २०८० ८:५२
6
SHARES
स्याङ्जामा पुल हेर्न आउने विदेशी पर्यटक बढ्दै स्याङ्जाको गल्याङ नगरपालिकास्थित आँधीखोलामाथि रहेको झोलुंगे पुल। गल्याङ ७ र ८ जोड्ने ३ सय ६८ मिटर लामो यो पुल १ सय ९० मिटर अग्लो स्थानमा छ। तस्बिर- नारायण विक/रासस

स्याङ्जा– स्याङ्जामा लामो र अग्लो झोलुंगे पुल हेर्न आउने विदेशी पर्यटकको संख्या बढ्दै जान थालेको छ।

गल्याङ नगरपालिका ८ र ७ जोड्ने चिउरीस्थित आँधीखोलामाथि ३ सय ६८ मिटर लामो, १ सय ९० मिटर अग्लो झोलुंगे पुल दुई वर्ष पहिले निर्माण भएको थियो। अघिल्लो वर्षभन्दा यस वर्ष धेरै गर्मी बढेको छ।

गर्मी छल्न भारतीय नागरिक पोखरा, कुस्मा र मुक्तिनाथ आउने गरेका छन्।

भारतीय नागरिकका लागि पोखरा, कुस्मा र मुक्तिनाथ जान सिद्धार्थ राजमार्ग सबैभन्दा छोटो र सजिलो राजमार्ग हो। सो राजमार्गको छेवैमा भएकाले पनि घुम्न हिँडेका भारतीय नागरिक चिउरीको झोलुंगे पुलको अवलोकन गरेर जान्छन्।

यस्तै चीन, जापान, अमेरिका, जर्मनलगायत विभिन्न मुलुकबाट पोखरा घुम्न आएका विदेशी पर्यटक गौतमबुद्धको जन्मथलो लुम्बिनीमा जान पनि सिद्धार्थ राजमार्ग नै बढी प्रयोग गर्छन्।

अघिल्लो वर्षका तुलनामा यस वर्ष धेरै भारतीय पर्यटकले चिउरीमा रहेको पुल भ्रमण गरेको स्थानीय भीम रानाले बताए।

भारतबाट बुटवल पाल्पा हुँदै पोखरा, कुस्मा र मुक्तिनाथ जाने हरेक भारतीय पर्यटकका गाडी अग्लो र लामो झोलुंगे पुल हेर्न चिउरीमा रोकिने गरेको उनले जानकारी दिए।

‘कुनै समय यहाँ फोटो खिच्ने र टिकटक बनाउने आन्तरिक पर्यटकको अत्यधिक चाप हुने गर्दछ।’ रानाले भने, ‘अहिले पुल हेर्न आउने आन्तरिक पर्यटक घटेका छन् तर विदेशी पर्यटक बढ्दै गएका छन्।’

पर्यटकको मनोरञ्जनको साधन मात्र नभएर उनले झोलुंगे पुल स्थानीयस्तरमा उत्पादित वस्तुको बजारीकरणका लागि कोसेढुंगा सावित भएको बताए। गल्याङ-७ पेलाकोटमा रहेको केदारनाथ मन्दिरमा दर्शन तथा पूजाका लागि तीर्थयात्रीलाई पुलले सहज बनाएको केदारनाथ मन्दिर धार्मिक तथा पर्यटन विकास समितिका सचिव टीकाराम पाठकको भनाइ छ।

मन्दिरमा जान लाग्ने दुई घण्टाको बाटो आधा घण्टामा छोटिएको उनले जनाए।

गल्याङ नगरपालिकाका मेयर गुरु भट्टराईले झोलुंगे पुल अवलोकनका लागि आउने पर्यटकको संख्या बढेपछि चिउरीमा हाल पार्किङ र पुलसम्म जान आउन रेलिङसहितको पदमार्ग निर्माण गरिएको बताए।

झोलुंगे पुल नुवाकोटस्थित एसए शैलेन्द्र जेभीले ०७८ असार मसान्तमा सम्पन्न गरेर सर्वसाधारणका लागि खुला गरेको थियो। पुल १ करोड ८३ लाखमा ठेक्का सम्झौता भएको थियो।

प्रकाशित: ९ असार २०८० ८:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =