नेपाल टि२० लिग : शीर्षस्थानको लुम्बिनीमाथि पोखराको अप्रत्याशित जित

हिमाल प्रेस १६ पुष २०७९ १६:०६
10
SHARES
नेपाल टि२० लिग : शीर्षस्थानको लुम्बिनीमाथि पोखराको अप्रत्याशित जित

काठमाडौँ- पोखरा एभेन्जर्सले नेपाल टि२० लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ। पोखराले शनिबार लुम्बिनी अलस्टार्सलाई नौ विकेटले हराएको हो। शीर्षस्थानको लुम्बिनीका लागि यो पहिलो हार हो। उसले यसअघिका सबै पाँच खेल जितेको थियो। जबकि पोखराले सुरुवाती पाँच खेलमा निरन्तर हार व्यहोर्दै आएको थियो।

पछिल्लो जितपछि सात खेलबाट चार अंक बटुलेको पोखरा पाँचौँ स्थानमा छ। पराजित लुम्बिनी १० अंकसाथ शीर्षस्थानमा यथावत छ।

लुम्बिनीमाथिको अप्रत्याशित जितमा आशिफ शेख पोखराका लागि नायक साबित भए। उनले ६२ बलमा ७७ रन बनाएपछि पोखराले लुम्बिनीले दिएको १२८ रनको लक्ष्य १८.२ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो। जारी लिगमा आशिफका लागि यो दोस्रो अर्धशतक हो। उनले जनकपुर रोयल्सविरुद्ध ५० रन बनाएका थिए।

त्सपछिका तीन खेलमा उनको प्रदर्शन सन्तोकजनक रहन सकेको थिएन। तर शुक्रबार फारवेस्टविरुद्ध ४५ रन जोडेर आफू लयमा फर्र्किएको संकेत उनले गरेका थिए।

विजयी टिमका लागि आशिफका दाजु आरिफले २६ रन जोडे। आरिफले लिगमा बनाएको यो नै उच्च स्कोर हो। पोखराका लागि ओपसनङ गरेका सुमित महर्जनले १३ रनको योगदान गरे।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीका लागि ओपनर हरमित सिंहले ३८ रन बटुलेका थिए। पराजित टिमका लागि यो नै व्यक्तिगत उच्च स्कोर रह्यो।

कप्तान दीपेन्द्र सिंह ऐरी र ह्यारी टेक्टर १०–१० रनमा आउट भए। त्यसैगरी शाड्ली भान शाल्विकले १६, सुनिल धमलाले १५, पाट ब्राउनले सात र गुल्शन झाले दुई रन बनाए। कुशल भुर्तेल शून्यमा सीमित हुँदा तिलक भण्डारीले पनि रनको खाता खोल्न सकेनन्।

लुम्बिनीलाई कम योगफलमा रोक्न पोखराका जाहिर खान र विपिन खत्रीले तीन–तीन विकेट हात पारे। त्यसैगरी आरिफ शेख, तुल थापा र सिद्धान्त लोहनीको नाममा एक–एक विकेट रह्यो।

प्रकाशित: १६ पुष २०७९ १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =