सपनासँग टाढिँदै-टाढिँदै नजिकिएका अनिल

संगीता श्रेष्ठ १६ पुष २०७९ १४:४९
390
SHARES
सपनासँग टाढिँदै-टाढिँदै नजिकिएका अनिल फिल्म छायांकनका क्रममा गोठालाहरूसँग अनिल बुढामगर र उनको टोली।

‘थाइल्यान्ड पुगेपछि झल्याँस्स भएँ। म के गर्दै छु? मेरो सपना त यो होइन, मैले नेपाल फर्किनुपर्छ भन्ने लाग्यो। बसिरहेको होटलबाट बाहिर निस्किएपछि थाइल्यान्ड प्रहरीले पक्राउ गर्‍यो। केही दिन जेलमा बिताएँ।’

‘यदि प्रशंसा भइरहेको छ भने प्रसन्न होइन, सचेत हुनुपर्छ।’यो भनाइ हो, भारतीय कवि तथा आलोचक पंकज चतुर्वेदीको।

पछिल्लो समय चुलिएको आफ्नो चर्चाप्रति चलचित्रकर्मी अनिल बुढामगरको सोच पनि यस्तै-यस्तै छ। त्यसैले उनी आफू निर्देशित वृत्तचित्र ‘आग्रे-द आइरन डिगर’ले एकपछि अर्को पुरस्कार जित्दा जति खुसी छन्, उति नै सजग।

दर्शकको मायाले आफूमाथि जिम्मेवारी थपिएको महसुस गरिरहेका छन्। ‘आग्रे’का लागि उनको चौतर्फी प्रशंसा भइरहेको छ। तर अनिल भने पुरस्कार र सम्मानले दर्शकप्रति आफ्नो जिम्मेवारी बढेको बताउँछन्।

आफूलाई ‘सिकारु’ चलचित्रकर्मी भन्छन् उनी। अनि सामाजिक सञ्जाल फेसबुकमा आफ्ना साथीभाइ र शुभचिन्तकसँग पुरस्कार पाउँदाको प्रसन्नता प्रकट गर्दै लेख्छन्, ‘बडेमानको चलचित्र बनाएको छु भनेर मक्ख पर्ने आँट आएन। यसो भनिरहँदा हामीले बनाएको चलचित्र ‘छिः’ छ भन्ने पनि होइन। सिकारु चलचित्रकर्मी हुँ। कमीकमजोरी पक्कै छन्। तैपनि महोत्सवमा माया दिनुभयो। अझै जिम्मेवारी थपिएको छ।’

०००

कुनै बेला ‘काठमाडौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)’मा पुग्नु नै अनिलको सबैभन्दा ठूलो सपना थियो। मंसिर २२ देखि २६ सम्म चलेको किम्फको २० औँ संस्करणमा उनको निर्देशनमा बनेको ‘आग्रे’ले उत्कृष्ट वृत्तचित्रको पुरस्कार पायो। अनिलले वर्षौँदेखि बुनेको सपना पूरा भयो।

किम्फको निर्णायक मण्डलमा जर्मन निर्देशक/निर्माता माइकल पज, कोरियाको उल्जु माउन्टेन फिल्म फेस्टिभलकी कार्यक्रम निर्देशक जिन्ना ली र नेपाली एनिमेसन फिल्म निर्देशक/निर्माता किरणभक्त जोशी थिए।

पुरस्कार प्रदान गर्दा निर्णायकहरूले ‘आग्रे’को मनग्य प्रशंसा गरेका थिए। पुरस्कार थाप्न मञ्चमा उक्लिएका अनिल भने बोल्दाबोल्दै भावुक भए। त्यतिखेर उनले आफ्ना बुबालाई सम्झिए। जो सन् २०१७ मा अनिलको सर्ट फिल्म ‘लोम्बा’ किम्फमा छनोट भएको समाचार छापिएको पत्रिका किन्न गाउँबाट दुई दिन हिँडेर सदरमुकाम झरेका थिए।

‘त्यो कुरा सम्झिँदा किम्फ मेरा लागि सबथोक थियो,’ अनिलले भने, ‘अबचाहिँ बुबा मैले किम्फमा पुरस्कार पाएको समाचार खोज्न आउनुहुन्छ होला।’

किम्फलगत्तै १० औँ संस्करणको ‘नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा पनि ‘आग्रे’ले पुरस्कार जित्यो। मानवअधिकार चलचित्र केन्द्रद्वारा आयोजित महोत्सवमा वृत्तचित्रले उत्कृष्ट गैरआख्यान (नेपाल) तर्फ विधामा पुरस्कार हात पार्‍यो।

पुस ३ देखि ६ सम्म भएको महोत्सवमा वृत्तचित्रले पुरस्कार जितेपछि अनिललाई साथीभाइ र प्रशंसकबाट बधाई ओइरियो।

०००

रुकुम, तकसेरामा जन्मिएका अनिलले कक्षा ५ सम्म त्यहीँ पढे। कुरा २०५९-६० सालतिरको हो, देश सशस्त्र द्वन्द्वमा थियो। जनयुद्ध चर्किन थालेपछि दाइदिदीजस्तै गाउँ छाडेर अनिल दाङ झरे। कक्षा ६ मा भर्ना भए।

अनिल बाल्यकालदेखि साहित्यमा औधी रुचि राख्थे। नेपाली शिक्षक पनि साहित्यप्रेमी थिए। बेलाबेलामा विद्यार्थीलाई कथा-कविता लेख्न लगाउँथे। एकपटक कक्षा ६ का विद्यार्थीलाई कथा लेख्न अह्राए।

विद्यार्थीले आआफ्नो क्षमताअनुसार कथा लेखे। अनिलले पनि लेखे। उनको कथा पढेर शिक्षक नारायण भट्टराई छक्क परे। कक्षा ६ मा पढ्ने विद्यार्थीले त्यो कथा लेखेको भन्ने उनले पत्याउनै सकेनन्। कुरोको चुरो पत्ता लगाउन आफ्नै अगाडि अनिललाई फेरि कथा लेख्न लगाए।

सुरुमा अलि आत्तिए। हल्का डराए। बालक अनिल अलमलमा परे। तर ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैँ सानैदेखि प्रतिभाका धनी उनले कथा लेखिभ्याए। शिक्षक निकै प्रभावित भए। खुसी भएर एउटा डायरी किनिदिए। त्यसमा आफ्नो दैनिकी लेख्न भने। दिनहुँ गरिने काम र हुने घटना टिप्टाटिप्दै लेख्ने बानी तिखारिँदै गयो। भाषाशैली र लेखन सबल हुँदै गयो। अनिलले कक्षा ९ मा पढ्दाताका नै ‘पापी गाउँ’ उपन्यास लेखे।

उनको सिर्जनात्मक क्षमता देखेर ती शिक्षकले एसएलसीपछि पढ्न काठमाडौँ जाने सल्लाह दिए। आज्ञाकारी अनिलले पनि शिक्षकको आज्ञा शिरोपर गरे।

काठमाडौँ आएर कक्षा ११ मा पढ्न थालेपछि उनको भेट लाजिम बुढासँग भयो। जसले फिल्मसम्बन्धी कार्यशालाबारे बताए। जहाँ आफूले जान्ने, सुन्ने चलचित्रकर्मीबाट नयाँ-नयाँ कुरा सिक्ने मौका पाएको अनिलले बताए। ‘तीन महिनाको तालिममा धेरै कुरा सिक्ने मौका पाएँ,’ उनले भने।

काठमाडौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)मा ‘आग्रे’ले उत्कृष्ट वृत्तचित्रको पुरस्कार पाएपछि अनिल।

अनिलको सपना चलचित्रकर्मी बन्ने भए पनि परिवारलाई उनले त्यसरी सपनालाई पछ्याएको खासै मन परेको थिएन। त्यसैले परिवार कहिले लाहुरे बन्न भन्थ्यो त कहिले अमेरिका जान कर गर्थ्यो।

परिवारको मन राख्न अनिलले यी दुवै काम नगरेका होइनन्। तर चित्त भने कुनै काममा लागेन। उनलाई बन्दुक होइन क्यामरा बोक्ने रहर थियो। त्यसैले ब्रिटिस आर्मीको लाहुरे बन्ने तालिम बीचमै छाडेर क्यामरा बोकेर हिँडे।

फिल्म क्षेत्रबाट छोराको खासै प्रगति नदेखेपछि अभिभावकले उनलाई अमेरिका जान भने। ‘त्यतिखेर अचम्म पनि लाग्यो,’ अनिलले विगत सम्झिए, ‘फिल्मका लागि एक सुको दिन नसक्ने परिवार अमेरिका जान ५०-६० लाख रुपैयाँ खर्च गर्न तयार थियो।’

अनिल अमेरिकाका लागि निस्किए। ‘थाइल्यान्ड पुगेपछि झल्याँस्स भएँ,’ उनले भने, ‘म के गर्दै छु? मेरो सपना त यो होइन, मैले नेपाल फर्किनुपर्छ भन्ने लाग्यो।’

साथीहरूसँग बसिरहेको होटलबाट बाहिर निस्किए। थाइल्यान्ड प्रहरीले पक्राउ गर्‍यो। ‘मलाई हतकडी लगाउँदै त्यहाँको प्रहरीले जेलमा हाल्यो,’ अनिलले सुनाए, ‘केही दिन जेलमा बिताएँ।’ त्यसपछि उनलाई नेपालका लागि ‘डिपोर्ट’ गरियो।

नेपाल फर्कनेबित्तिकै सबैभन्दा पहिला उनले आफ्नो पासपोर्ट च्याते। किन फर्किएको? भनेर घरपरिवार पनि रिसायो। अनिललाई फिल्म क्षेत्रमै केही गर्नु थियो। उनको त्यो इच्छालाई मलजल गरे नवीन सुवेदीले। उनले पुरानो फिल्मलाई सम्पादन गर्ने सल्लाह दिए। पुरानो फिल्म अर्थात् ‘लोम्बा’। जसलाई अनिलले छायांकन गरेर यत्तिकै छाडेका थिए। नवीनको सुझावले बाटो देखायो। उनी ‘लोम्बा’ सम्पादनतिर लागे।

०००

अनिल पहिलोपटक सन् २०१७ मा किम्फमा सहभागी भएका थिए। महोत्सवमा त्यही छोटो चलचित्र ‘लोम्बा’ प्रदर्शन भयो। कथा भेडाहरूको नेतामाथि थियो, जसलाई ‘लोम्बा’ भनिन्छ। लोम्बाको मृत्युपछि गोठालालाई आइपर्ने समस्यामा उनले फिल्म बनाएका थिए।

उतिखेर उनलाई महोत्सवमा भाग लिने, पुरस्कार जित्ने रहर थियो। त्यही हुटहुटीले उनलाई देशका मात्र नभई विदेशका पनि विभिन्न चलचित्र महोत्सवमा सहभागी हुन हौस्यायो। अमेरिकाका थरीथरीका फिल्म फेस्टिभलमा तीनवटा पुरस्कार जिते पनि।

तर एकाएक उनी चलचित्र महोत्सवबाट विरक्तिए। कारण खुलाए, ‘महोत्सववाला फिल्म बनाएर मात्रै हुँदैन भन्ने लाग्यो। पुरस्कारस्वरूप पाइने पैसाले घरजग्गा बेचेर फिल्म बनाउने निर्माताको पैसा उठ्छ त? यसरी फिल्म बनाउनुको के अर्थ!’

०००

बिस्तारै उनी चलचित्र महोत्सवबाट टाढिए। खिन्न अनिलको जीवनलाई गति दिन घरपरिवारले उनको बिहे गरिदिने निर्णय गर्‍यो। सन् २०२० मा उनको विवाह भयो। घर र ससुराली मिलेर ललितपुर, जाउलाखेलमा एउटा क्याफे खोलिदिए। क्याफे गरिखाने बाटो बन्यो।

बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म अनिल त्यहीँ खटिन्थे। उनको खटाइ श्रीमतीलाई असह्य भयो। फिल्म क्षेत्रमा केही गर्ने चाहना भएको श्रीमान् आफ्ना सपनाबाट टाढिँदा उनलाई छटपटी भयो। उनले अनिललाई फेरि फिल्ममा फर्किन प्रेरित गरिन्। ‘श्रीमतीले मलाई बुझिन्, मेरा मरिरहेका सपनामा प्राण भरिन्,’ अनिलले भने, ‘आफ्नो सपनाका पछि लाग्ने हौसला दिइन्।’

श्रीमतीको प्रेरणाले उनले एकपटक फेरि फिल्ममा काम सुरु गरे। त्यही बेला ‘आग्रे’को निर्देशन गर्ने अवसर पाए। ‘अगाडिका निर्देशकले निर्माण टोलीलाई आज र भोलि भन्दै अल्झाएको रहेछ,’ उनले भने, ‘सचिन घिमिरेले मेरोमा पठाएका रहेछन्।’ यसरी अनिलको पोल्टामा ‘आग्रे’ पर्‍यो।

०००

फलामखानी उत्खनन गर्नेलाई ‘आग्रे’ भनिन्छ। वृत्तचित्रमा फलामखानीमा काम गर्ने ८६ वर्षीय रज बुढामगरको कथा छ। जेलबाङमा १६ औँ शताब्दीदेखि निरन्तर फलाम उत्खनन भइरहेको थियो।

पछि त्यो खानीबाट उत्खननमा रोक लगायो। खानी बन्द भएपछि त्यसको असर जेलबाङका मान्छेहरूको जनजीवनमा पर्‍यो। खानी बन्द भएकै कारण रजका जेठा छोरा भारत गए। परिवारसहित उता लागेका उनी कहिल्यै फर्किएनन्।

खानी बन्द भएकै कारण वैदेशिक रोजगारीको तयारीमा रहेका कान्छा छोरा सशस्त्र द्वन्द्वको सिकार भए। युद्धताका उनी सेनाको हातबाट मारिए। रज एक्लिए। उनको एक्लो जीवननै ‘आग्रे’मा देखाइएको छ।

०००

‘आग्रे’लाई अनिल महोत्सवमा लैजान चाहँदैनथे। ‘यो टिम वर्क हो, त्यसमा मेरोमात्र कुरा हुँदैन,’ उनले सुनाए, ‘मलाई पो महोत्सवमा सहभागी हुन मन नपर्ला तर अरूको मन त होला नि!’

टोलीका अरू साथीको सोचको सम्मान गर्दै उनले फिल्म विभिन्न महोत्सवमा पठाउने थाले।

महोत्सवमा ‘आग्रे’को डेब्यु ‘फिल्म साउथ एसिया’बाट भयो। गत वैशाखमा भएको महोत्सवमा तीन हजारभन्दा बढी चलचित्र, वृत्तचित्रले आवेदन दिएका थिए। तीमध्ये एक थियो, ‘आग्रे’। आठ देशका ७१ वृत्तचित्र छनोट भए। ‘आग्रे’ पनि भयो। महोत्सवमा छानिए पनि पुरस्कार भने जित्न सकेन।

तैपनि टोलीले हरेस खाएन। अनिलले वृत्तचित्र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा पठाउन थाले। यहीँबाट सुरु भयो, ‘आग्रे’को सफलता यात्रा। विभिन्न देशका २० भन्दा बढी चलचित्र महोत्सवमा वृत्तचित्र छनोट भइसकेको छ। अनि, थुप्रैमा पुरस्कार पनि हात पारिसकेको छ।

‘महोत्सवका लागि मात्रै पनि फिल्म बनाएको होइन,’ उनले भने, ‘तर फिल्मले महोत्सवमा पाइरहेको सम्मान र पुरस्कारलाई ऊर्जाका रूपमा लिएको छु।’

प्रकाशित: १६ पुष २०७९ १४:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =