उद्योग सञ्चालनका लागि सहकारीद्वारा जडीबुटी खेती

हिमाल प्रेस १४ पुष २०७९ १३:४८
4
SHARES
उद्योग सञ्चालनका लागि सहकारीद्वारा जडीबुटी खेती

झापा- महेन्द्रद्वार सहकारी संस्थाले सञ्चालनमा ल्याएको सनराइज हर्बल उद्योग सञ्चालनका लागि आफैँ जडीबुटी खेती सुरु गरेको छ। उद्योगलाई प्रशोधनका लागि चाहिने कच्चा पदार्थ उत्पादन गर्ने उद्देश्यले सहकारीले प्रदेश नं १ सरकारको सहयोगमा जडीबुटी खेती सुरु गरेको हो।

सहकारीले विसं २०७७ मंसिरदेखि एक करोड रुपैयाँ लगानीमा मेचीनगर नगरपालिका–८ मा उद्योग सञ्चालनमा ल्याएको हो। पर्याप्त कच्चा पदार्थको अभावमा हप्ता दुई दिनमात्र उद्योग चल्ने गरेको सहकारी सञ्चालक समितिका अध्यक्ष राजु दाहालले बताए।

उनका अनुसार उद्योग सञ्चालनका लागि प्रदेश सरकारबाट ७५ लाख रुपैयाँ अनुदान प्राप्त भएको छ। औषधिजन्य पदार्थको खेतीका लागि चालु आर्थिक वर्षमा कुल ५० लाख रुपैयाँमा ७५ प्रतिशत सरकारको अनुदान र २५ प्रतिशत सहकारीको लगानी हुने भएको छ।

उद्योगमा औषधिजन्य कच्चा पदार्थ तेजपत्ता, लेभन ग्रास, सिटोनेला, हर्दी, निम, बकाइनो, मसला, तुलसी बाबरीलगायतका कच्चा पदार्थ प्रशोधन भइरहेको उनले बताए। सहकारीका सदस्यले उत्पादन गरेका औषधिजन्य कच्चा पदार्थ उद्योगले खरिद गर्दै आएको छ। तर उद्योगलाई चाहिने पर्याप्त कच्चा पदार्थ उत्पादन गर्न नसक्दा पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन।

अध्यक्ष दाहालले दैनिक उद्योगमा दुई मेट्रिक टन कच्चा पदार्थ प्रशोधन गर्ने क्षमता रहेको बताए। पछिल्लो समय कृषि क्षेत्रलाई प्राथमिकता दिएर अघि बढिरहेको सहकारीले चालु आवबाट औषधिजन्य बिरुवा रोपण सुरु गरेको छ।

सहकारीले हात्ती प्रभावित क्षेत्र मेचीनगर–१, ४, ५ र ६ नं वडाको दशगजा क्षेत्रमा सदस्य किसानको खेतबारीमा बिरुवा रोपण सुरु गरेको छ। दुई वर्षभित्रमा एक सय बिघा जमिनमा सिटोनेला, लेवन ग्रास र तेजपत्ता लगाउने अभियानमा अघि बढेको सहकारीले हाल ३० बिघा क्षेत्रमा सिटोनेला र लवनग्रास प्रजातिका बिरुवा रोपिसकेको उनले बताए।

विगतमा छिमेकी जिल्ला इलामबाट तितेपाती र पाँचथरबाट धसिङ्ग्रे खरिद गरेर ल्याउन गरेता पनि ढुवानी खर्च महँगो परेका कारण अहिले ल्याउन नसकिएको उनले बताए। उनले भने, ‘हामीसँग दुई हजार दुई सय सेयर सदस्य छन् । उनीहरुलाई नै जडीबुटीको खेती गर्न लगाउन थालेका छौँ। यसो गर्दा सेयर सदस्यको जीविकोपार्जन गर्नका लागि आम्दानी पनि हुन्छ, उद्योगलाई चाहिने कच्चा पदार्थको समेत अभाव हुँदैन।’

सहकारीले सदस्यहरूको खेतमा रोपिएको औषधिजन्य वनस्पति प्रतिकिलो आठमा खरिद गर्ने सदस्य र सहकारीबीच सम्झौता भइसकेको उनको भनाइ छ। उनले किसानले रोपण गरेको औषधिजन्य पदार्थ लगाएको तीन महिनापछि आम्दानी दिने बताए। उनका अनुसार एक बिघा जमिनमा लगाइएको जडीबुटी खेतीबाट एकपटकमा ४० क्वन्टिल कच्चा पदार्थ उत्पादन हुनेछ। उनले कच्चा पदार्थ उत्पादन भएसँगै उद्योगसमेत नियमित सञ्चालनमा आउने बताए।

प्रकाशित: १४ पुष २०७९ १३:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =