झापाको हल्दिबारीमा १५ शय्याको अस्पताल उद्घाटन

हिमाल प्रेस ८ पुष २०७९ १९:१५
6
SHARES
झापाको हल्दिबारीमा १५ शय्याको अस्पताल उद्घाटन

बनियानी– हल्दिबारी गाउँपालिकामा १५ शय्याको हल्दिबारी आधारभूत अस्पताल उद्घाटन गरिएको छ। गाउँपालिका कार्यालय हाताभित्र सञ्चालनमा आएको अस्पतालबाट बहिरंग सेवासहित १५ प्रकारका सेवा उपलब्ध हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए।

अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम, आकस्मिक स्वास्थ्य सेवा, प्रयोगशाला, फार्मेसी, इसीजी, एकीकृत बालरोग तथा नवजात शिशु व्यवस्थापन, सुरक्षित मातृत्व, परिवार नियोजनलगायतका सेवा प्राप्त हुने प्रमुख निरौलाले बताए। उक्त अस्पतालको शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले उद्घाटन गरेका छन्।

स्वास्थ्य सेवा प्राप्त गर्न गाउँपालिकाबासी अन्यत्र धाउनुपर्ने अवस्था अन्त्य गर्न आधारभूत अस्पताल सञ्चालन ल्याइएको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनको भनाइ छ। ‘सामान्य उपचारका लागि पनि अन्यत्रै धानउनुपर्ने अवस्था अन्त्य भएको छ,’ उनले भने, ‘यसमा पनि स्वास्थ्य सेवा अत्यन्तै महंगो र सर्वसाधारणको पहुँचभन्दा बाहिर गइरहेकाले सोको अन्त्यका लागि अस्पताल सञ्चालनमा ल्याएका हौं,’ उनले भने।

स्वास्थ्य बीमा कार्यक्रमको प्रथम बिन्दुका रूपमा अस्पताल सञ्चालनमा आएको उनले जानकारी दिए। अस्पतालमा १ जना मेडिकल अधिकृतसहित ९ जना जनशक्ति रहेको छ। हल्दिबारीमा ३ वटा स्वास्थ्य चौकी र २ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त बजेटअनुरूप हल्दिबारी १ अस्पतालको भवन निर्माण भइरहेको छ। ३३ हजार गाउँपालिकाबासीको स्वास्थ्य सेवामा पहुँच स्थापित गर्न १८ करोड रुपैयाँको लागतमा निर्माणाधीन अस्पताल भवनको करिब २५ प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको छ।

सोही अस्पताल अन्तरगत अस्थायीरूपमा हल्दिबारी गाउँपालिकाको स्रोत साधन प्रयोग गरी हल्दिबारी ५ स्थित हल्दिबारी गाउँपालिकको हाताभित्र ‘हल्दिबारी आधारभूत अस्पताल’ सञ्चालनमा आएको हो।

प्रकाशित: ८ पुष २०७९ १९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eighteen =