युक्रेनमा युद्ध अन्त्य गर्न रुस तयार छ : पुटिन

हिमाल प्रेस ८ पुष २०७९ ११:४७
46
SHARES
युक्रेनमा युद्ध अन्त्य गर्न रुस तयार छ : पुटिन

काठमाडौँ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य गर्न चाहेको अभिव्यक्ति दिएका छन्। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी समकक्षी जो बाइडनसँग भेटवार्ता गरेको एक दिनपछि पुटिनको यस्तो भनाइ सार्वजनिक भएको हो।

‘हामी यो युद्धलाई जारी राख्ने पक्षमा छैनौँ। यो चाँडै अन्त्य होस् भन्ने हाम्रो चाहना हो,’ बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै पुटिनले भने। पुटिनको यस्तो अभिव्यक्तिलाई ह्वाइटहाउसका प्रवक्ता जाेन किर्बीले भने गम्भीर रुपमा नलिएको बताएका छन्।

‘पुटिनले अहिलेसम्म शान्तिवार्ताका लागि आफू तयार रहेको संकेत गरेका छैनन्,’ किर्बीले भने। रुसले युक्रेनमाथि फेब्रुअरी २४ बाट हमला सुरु गरेको थियो। हमलालाई जारी राखिरहेकाले रुस युद्ध अन्त्य गर्न इच्छुक नरहेको किर्बीको जिकिर थियो।

‘रुसका युद्धक विमानले हवाई आक्रमण रोकेका छैनन्। उसको थल सेनाले पनि लगातार आक्रमण गरिरहेको छ। अनि पुटिन चाहिँ युद्ध रोक्न चाहेको बताइरहेका छन्। भनाइ र गराइमा भिन्नता भएपछि कसरी पत्याउने?’ किर्बीको प्रश्न थियो।

किर्बीले बाइडन रुसी समकक्षीसँग वार्ताका लागि तयार रहेको पनि बताए। तर यसका लागि पुटिनले वातावरण सिर्जना गर्नुपर्ने किर्बीको भनाइ छ। ‘वार्ताका लागि उनी साँच्चै तयार हुनुपर्छ,’ पत्रकारहरुलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै किर्बीले भने।

रुसले यसअघि पनि युद्ध रोक्न आफू तयार रहेको बताउँदै आएको छ। तर युक्रेन र उसलाई युद्धमा साथ दिइरहेका देशहरु भने रुसलाई विश्वास गर्न तयार छैनन्। उनीहरुको दाबी छ, ‘युक्रेनमा रुस हारिरहेको छ। स्थिति सम्हाल्न उसलाई समय चाहिएको छ। त्यसकारण वार्ताको कुरा गरेर सबैलाई भुल्याउन खोजिरहेको छ।’

पुटिन भने युद्धलाई कूटनीतिमार्फत अन्त्य गर्नुको विकल्प नरहेको बताइरहेका छन्। ‘ढिलो चाँडो युद्धमा सहभागी सबै पक्ष वार्तामा बस्नै पर्छ, समझदारी गर्नैपर्छ। यो कुरा जति चाँडो बुझ्यो त्यति राम्रो। हामी त वार्ताका लागि पहिले बाटै तयार छौँ,’ पुटिनले भनेका छन्।

उनले युक्रेन वार्ताका लागि तयार नरहेको आरोप पनि लगाएका छन्। युक्रेन भने रुसले आक्रमण रोकेर कब्जा गरेको भूभाग फिर्ता गरे मात्र वार्तामा बस्ने बताइरहेको छ।

प्रकाशित: ८ पुष २०७९ ११:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =