व्यवसायीसमेत रहेका सांसदहरू भन्छन्- व्यवसाय क्षेत्रका समस्या हल गर्न पहल गर्छौं

हिमाल प्रेस ७ पुष २०७९ २१:२५
4
SHARES
व्यवसायीसमेत रहेका सांसदहरू भन्छन्- व्यवसाय क्षेत्रका समस्या हल गर्न पहल गर्छौं

काठमाडौँ– बैंकको ब्याजदर वृद्धिको कारण समस्या परेको उद्योगी व्यवसायीहरूको पक्षमा नीति बनाउने काममा लाग्ने व्यवसायीसमेत रहेका सांसदहरूले बताएका छन्। बिहीबार शपथ ग्रहणपश्चात संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै उनीहरूले यस्तो बताएका हु्न्। निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको पक्षमा नीति नियम बनाउन आफूहरूले काम गर्ने उनीहरूको भनाइ छ।

पछिल्लो समय मुलुकको अर्थतन्त्रमा देखिएको समस्या तथा बैंकको उच्च ब्यादर वृद्धिको कारण समस्यामा परेका उद्योगीहरूलाई राहत दिनेगरी काम पनि उल्लेख गरेका छन्। उद्योगी व्यवसायीहरूसमेत रहेका सांसदहरूले जनताका समस्याभन्दा पनि उद्योगी व्यवसायीका समस्या समाधान गर्न काम गर्ने बताएका छन्।

विनोद चौधरी

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बैंकिङ तरलता अभाव, पुँजीगत खर्च ३५ प्रतिशत भन्दा कम हुने,कर्मचारीहरूलाई तलब ऋण गरेर खुवाउनुपर्ने अवस्था रहेकाले अर्थतन्त्र समस्यामा रहेको बताए। बैंकिङ ब्याजदर उच्च भएकाले उद्योग व्यवसाय नै चल्न नसक्ने अवस्था रहेको उनको भनाइ छ। पछिल्लो समय महिनामा ६० हजार नेपाली युवा नेपाल छाडेर विदेश जाने क्रममालाई रोक्ने काममा लाग्ने उनले बताए।

पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्याहरू सरकारले तत्काल समाधान गर्न नसके अर्थतन्त्रले धान्न नसक्नेसमेत उनले स्पष्ट पारे। अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने प्रमुख प्राथमिकतामा राखेर आगामी सरकारले ठोस निर्णय प्रक्रियामा काम गर्नुपर्ने उनको जोड छ।

‘बजारमा तरलता अभाव रहेको अवस्था छ। बजेट ३५ प्रतिशतभन्दा कम उठेको स्थिति छ। ऋण लिएर कर्मचारीहरूको तलब धान्नुपर्ने स्थिति छ। अहिले अत्याधिक मात्रामा उत्पादन घटेको अवस्था र बैंकको ब्याजदर बढ्नाले प्राय: सबै उद्योग व्यवसायहरू चल्न नसक्ने अवस्थामा पुगेका छन्,’ उनले भने, ‘यी समस्याहरू तत्काल समााधान गर्न सकिएन भने देशको अर्थतन्त्रले धान्न सक्दैन। त्यो समस्या समाधान गर्ने प्रतिनिधि पात्र म पनि हो। ती प्राथमिकतालाई केन्द्रबिन्दुमा राखेर आगामी आउने सरकारले सम्पूर्ण कामको लानुपर्छ।’

देवी भट्टचन

व्यवसायीसमेत रहेका नेकपा एमालेका सांसद देवी भट्टचनले मुलुकको आर्थिक उन्नति र निजी क्षेत्रको हीतका लागि काम गर्ने बताए। ‘प्रतिनिधिसभा सदस्य पदको शपथग्रहण पश्चात संसदमा प्रवेश गर्ने ढोका खुलेको छ। मुलुकको आर्थिक उन्नति र निजी क्षेत्रको हितका लागि काम गर्नेछु,’ उनले भने।

सुनिलकुमार शर्मा

मेडिकल व्यवसायीसमेत रहेका नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्माले निजी क्षेत्रका व्यवसायीहरूको पक्षमा सांसदले गर्नसक्ने नीति निर्माणको काम गर्ने बताए। उनले कानुन निर्माण गर्दा व्यापारीहरूको पक्ष र राज्यको पक्षमा पहल गर्ने उल्लेख गरे। आगामी पाँचवर्षमा सबैभन्दा पहिलो प्राथमिकता पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज स्थापना गर्ने रहने स्पष्ट पारे।

‘निजी क्षेत्रका व्यवसायीहरूको पक्षमा सांसदले गर्नसक्ने नीति निर्माणको क्रममा गर्नसक्ने काम गर्नेछु। कानून निर्माण गर्दा व्यापारीहरूको पक्ष र राज्यको पक्षमा के गर्न सकिन्छ त्यो विषयमा पहल गर्छु। मेरो पहिलो प्राथमिकता पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज स्थापना गराउनु छ। निर्वाचन क्षेत्रको विकास निर्माण र देश निर्माणको सवालमा लाग्छु,’ उनले भने।

हरि ढकाल

सेयर लगानीकर्तासमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले निजी क्षेत्रका सबै क्षेत्रको विकासको लागि नीति निर्माणको काम गर्ने बताए। सेयर बजार विस्तार र विकासको लागि नियमन निकायहरूले बनाउन नसकेका नीतिगत व्यवस्थाहरू बनाउन पहल गर्ने उनको भनाइ छ। निजी क्षेत्रमा रहेका समस्याहरू समाधानका लागि बनाउन बाँकी नीति नियमहरू बनाउन लाग्ने उनले बताए।

‘मैले एउटा मात्रै क्षेत्र हेरेर हुँदैन सबै क्षेत्रको विकासको लागि बनाउनुपर्ने नीतिका लागि काम गर्ने हो। निजी क्षेत्रमा रहेका समस्याहरू समाधानका लागि बनाउन बाँकी नीति नियमहरू बनाउन लाग्नेछु,’ उनले भने।

वीरेन्द्र महतो

यस्तै अर्का व्यवसायी तथा जनता समाजवादी पार्टीका सांसद वीरेन्द्र महतोले उच्च रूपमा वृद्धि भएको बैंकिङ व्याजदरको विषयमा सदनका कुरा उठाउने बताए। बैंकमा महँगो ब्याजदरको कारण व्यापारीहरूलाई असर परेकाले ब्याजदर कम गरेर व्यवसायीहरूलाई राहत दिने कामका लागि संसदमा पहल गर्ने उनको भनाइ छ।

प्रकाशित: ७ पुष २०७९ २१:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seven =