नापतौलमा ठगी गर्ने ७८३ व्यवसायीलाई कारबाही

हिमाल प्रेस १२ फागुन २०८० १८:०९
18
SHARES
नापतौलमा ठगी गर्ने ७८३ व्यवसायीलाई कारबाही

काठमाडौँ- नापतौल यन्त्रको जाँचमा अनियमितता तथा तौलमा ठगी गर्नेलाई कारबाही गरी जरिबाना गरिएको छ। नापतौलका क्रममा ठगी गर्ने, समयमा नापतौल यन्त्रको जाँच नगराउने ७८६ व्यवसायी तथा उद्योगीलाई कारबाही स्वरुप जरिबाना गरिएको हो।

गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको सात महिनामा सो कारबाही गरेको जनाएको छ। सो कार्यालयबाट विभिन्न समयमा बजार क्षेत्रमा खटिएका कर्मचारी तथा उजुरीका आधारमा उक्त संख्यामा कारबाही गरिएको कार्यालय प्रमुख मनिषकुमार दासले जानकारी दिए। उनका अनुसार कार्यालयले चालु आवको उक्त अवधिमा ७६६ व्यवसायी तथा उद्योगीलाई नापतौल यन्त्र सञ्चालनका लागि नयाँ इजाजतपत्र प्रदान गरिएको छ।

कार्यालयबाट प्राप्त तथ्यांक अनुसार मकवानपुर, चितवन, पर्सा, बारा तथा रौतहट जिल्लाका व्यवसायी तथा उद्योगीलाई २०८०/८१ को साउनदेखि माघसम्ममा सो इजाजतपत्र प्रदान गरिएको जनाइएको छ। पाँच जिल्ला कार्यक्षेत्र रहेको सो कार्यालयले सात महिनाको अवधिमा ३४ व्यवसायीको नापतौल यन्त्रको नवीकरण, दुई हजार ५१६ व्यवसायीको यन्त्रको जाँचसमेत गरिएको प्रमुख दासले जानकारी दिए।

उनका अनुसार १५५ पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्पको जाँच, ४८६ पम्पको नोजल जाँचलगायत जाँच गरिएको छ । सो अवधिमा कार्यालयका कर्मचारीबाट विभिन्न बजारक्षेत्रको १० स्थानमा डोर सञ्चालन, एकल अनुगमन २० पटक र नौपटक संयुक्त अनुगमन भएको थियो। चालु आवको हालसम्म ७३ लाख सात हजार ८५९ राजश्व संकल भएको कार्यालयका सूचना अधिकारी सञ्जीव ठाकुरले जानकारी दिए।

हेटौँडाको औधौगिक क्षेत्रमा रहेको नापतौल विभागको ट्यांकर ‘क्यालिविरेशन’को कार्यालयमा भौतिक साधन, बजेट तथा कर्मचारीको अभावले काम गर्न समस्या भइरहेको कार्यालयका अधिकृत नयन आचार्यले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + fourteen =