अमेरिका पुगेर जेलेन्स्कीले भने : युक्रेनलाई गरिएकाे सहयोग ‘च्यारिटी’ होइन, विश्व सुरक्षाका लागि लगानी हो

हिमाल प्रेस ७ पुष २०७९ ९:४७
12
SHARES
अमेरिका पुगेर जेलेन्स्कीले भने : युक्रेनलाई गरिएकाे सहयोग ‘च्यारिटी’ होइन, विश्व सुरक्षाका लागि लगानी हो

काठमाडौँ- युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकाले युक्रेनलाई रुसविरुद्ध लड्न गरिरहेको आर्थिक सहयोग फगत ‘च्यारिटी’ नभई विश्व सुरक्षाका लागि लगानी भएको बताएका छन्। अमेरिकी संसद्लाई सम्बोधन गर्दै जेलेन्स्कीले आफ्नो देशलाई अमेरिकाबाट भइरहेको सहयोग नरोकिने विश्वास पनि व्यक्त गरे।

रुसले युक्रेनमाथि गत फेब्रुअरीमा हमला सुरु गरेको थियो। दुई देशबीचको युद्ध अहिले पनि टुंगिएको छैन। युद्ध सुरु भएपछि जेलेन्स्की पहिले पटक विदेश भ्रमणमा निस्किएका हुन्। ‘तपाईंहरुले युक्रेनलाई दिएको आर्थिक सहयोग च्यारिटी होइन। यो त विश्व सुरक्षा र लोकतन्त्रका लागि अमेरिकाले गरेको लगानी हो,’ अमेरिकाको तल्लो सदनको च्याम्बरमा उपस्थित सांसदहरूलाई सम्बोधन गर्दै जेलेन्स्कीले भने।

बुधबार अमेरिका पुगेका जेलेन्स्कीले त्यहाँका राष्ट्रपति जो बाइडनसँग भेटवार्ता गरे। उनले अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ मा सम्बोधन गर्नुको मुख्य कारण चाहिँ रिपब्लिकन पार्टीका सासंदहरूलाई सन्देश दिनु रहेको बताइएको छ। किनभने रिपब्लिकन पार्टीका सासंदहरूले बारम्बार युक्रेनलाई गइरहेको सहयोगबारे प्रश्न उठाइरहेका छन्।

आउँदो जनवरी ३ बाट रिपब्लिकन पार्टीको बहुमत हुने अमेरिकी तल्लो सदनमा जेलेन्स्कीलाई स्वागत गर्न सबै सांसद आआफ्नो कुर्सीबाट उठेका थिए। उनी संसद् भित्र  प्रवेश गर्दैगर्दा तीन सांसदले ठूलो युक्रेनी झण्डा प्रदर्शन गरेका थिए।

‘अमेरिकी संसद्लाई सम्बोधन गर्न पाउँदा सम्मानित भएको महसुस गरेको छु। सबै अमेरिकीसँग सम्वाद गर्न यहाँ आइपुगेको छु। यो अवसरमा म के भन्न चाहन्छु भने, युक्रेन जिउँदो छ। युक्रेन लडिरहेको छ, थाकेको छैन। दुनियाँका लागि हामीले रुसलाई हराएका छौँ,’ जेलेन्स्कीले भने।

अमेरिकी संसद्लाई विदेशी पाहुनाले सम्बोधन गर्न परम्परा नयाँ होइन। सन् १८७४ बाट सुरु यो परम्परा अन्तगर्त हवाईका तत्कालिन राजा कालाकाउवा, बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल, बेलायती राजा र रानी, पोप लगायतले सम्बोधन गरेका छन्।

अमेरिकी संसद्लाई अंग्रेजीमा सम्बोधन गरेका जेलेन्स्कीले युक्रेन सजिलै हार नमान्ने र आफ्नो भूमिको रक्षामा निरन्तर लडिरहने सन्देश दिए। उनको अभिव्यक्ति सुनेर अमेरिकी संसद्मा उपस्थित दुवै डेमोक्रयाटिक र रिपब्लिकन दुवै वपार्टीका सांसद्हरू बारम्बार आफ्ना ठाउँबाट उठेर ताली बजाइरहेको देखिन्थे।

हाल रुस र युक्रेनबीच युद्ध अन्त्य गर्ने विषयमा कुनै किसिमको समझदारी हुन सकेको छैन। तर जेलेन्स्कीले शान्तिवार्ताका लागि १० बुँदा तयार पारेका छन्। यसबारे उनले अमेरिकी राष्ट्रपति बाइडनसँग छलफल गरेको बताइएको छ।

जेलेन्स्कीलाई अमेरिकाको भ्रमण गराउन र त्यहाँको सांसद्मा सम्बोधन गर्ने वातावरण मिलाउन गत अक्टोबरबाटै प्रयास सुरु गरिएको थियो। क्रोएसियाको जाग्रेबमा अन्तर्राष्ट्रिय संसद् सम्मेलनमा भाग लिन गएकी अमेरिकी सभामुख न्यान्सी पेलोसीले युक्रेनी संसद्का प्रमुख भेरखोभना राडासँग भेटवार्ता गरेकी थिइन्। त्यहीबेलादेखि यस्तो प्रयास सुरु भएको बताइन्छ।

रुसले युक्रेनमाथि हमला सुरु गरेको ठ्याक्कै तीन सय दिन पुग्दै गर्दा जेलेन्स्की अमेरिका ओर्लिएका हुन्। उनी यस्तो समयमा अमेरिका पुगेका छन्, जहाँ युक्रेनलाई थप ४४ अर्ब अमेरिकी डलर बराबरको आर्थिक र सैन्य सहयोगलाई स्वीकृति दिने विषयमा छलफल भइरहेको छ। यसअघि नै अमेरिकाले युक्रेनलाई ५० अर्ब अमेरिकी डलर प्रदान गरिसकेको छ।

प्रकाशित: ७ पुष २०७९ ९:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + seventeen =