मतदाताको उत्साह घटेकै हो त? यस्ता छन् कारण

हिमाल प्रेस ४ मंसिर २०७९ १३:३०
2
SHARE
मतदाताको उत्साह घटेकै हो त? यस्ता छन् कारण

काठमाडौँ- देशभरका मतदानका केन्द्रमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मतदान जारी छ। तर मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति त्यति देखिँदैन। बिहानीपखको मतदान केन्द्रमा मतदाताको उपस्थिति हेर्दा त्यति उत्साहजनक नदेखिएको विज्ञहरू बताउँछन्।

उनीहरूका अनुसार बिहानीसत्रमा महिलाहरू मतदानमा नगएकाले सहभागिता कम देखिएको हो। बिहानको घरधन्दा सकेर मतदान गर्न जाने प्रचलनले यस्तो देखिएको हुन सक्ने राष्ट्रिय निर्वाचन पर्यक्षण समिति (नियोक) का अध्यक्ष प्रा. कपिल श्रेष्ठ बताउँछन्।

अर्को कारण दलहरू एक्लाएक्लै निर्वाचनमा सहभागी नहुँदा पनि मतदातामा उत्साह घटेको देखिएको छ। श्रेष्ठ भन्छन्, ‘गठबन्धनका कारण निर्वाचन परिणाम यस्तै हुन्छ भनेर आकलन गर्न कठिन छैन। त्यसैले मतदातामा उत्साह नदेखिएको हो।’

फेरि पनि पुरानै नेताहरू सत्तामा आउने प्रबल सम्भावना देखिएकाले पनि कतिपय मतदाता उत्साहित हुन नसकेको उनको बुझाइ छ। तेस्रो कारण मतदाताहरू निर्वाचनप्रति सजग भएका कारण पनि उत्साह घटेको जस्तो देखिएको उनले बताए।

प्राध्यापक श्रेष्ठले भने, ‘विकसित मुलुकमा चुनावमा भीडभाड भएको खबर बाहिर आउँदैन। नेपाली मतदाता पनि चुनावी प्रक्रियाप्रति सजग भएर यस्तो भएको हुन सक्छ।’

नियोकको पर्यवेक्षणअनुसार दिउँसो १२ बजेसम्म करिब २५ प्रतिशत मतदान भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। निर्वाचन आयोगले भने जारी मतदान प्रक्रियाका विषयमा जानकारी दिन १ बजे पत्रकार सम्मेलन गर्ने भएको छ।

प्रकाशित: ४ मंसिर २०७९ १३:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 19 =