महामारीपछि बदलिएको सिने जगत

सुस्मिता बजगाईं २७ मंसिर २०७९ १३:३५
194
SHARES
महामारीपछि बदलिएको सिने जगत चलचित्र ‘महापुरुष’ हेर्न हलमा भरिभराउ दर्शक। तस्बिरः हरिवंश आचार्यको फेसबुकबाट

काठमाडौँ- कोरोना भाइरस महामारीका कारण थलिएको चलचित्र क्षेत्रमा पछिल्लो समय चहलपहल देखिएको छ। सिनेमा हलमा चलचित्रको संख्यामात्र होइन, हेर्ने दर्शकको संख्या पनि निकै बढेको छ।

बलिउड र हलिउड चलचित्रतिर आकर्षित हुने दर्शक अहिले नेपाली चलचित्रतर्फ तानिन थालेका छन्।

नेपाली चलचित्रको सफलताको सुरुवात भयो, ‘कबड्डी ४ : द फाइनल म्याच’बाट। रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ।

‘कबड्डी’ सिरिजको यो चलचित्रलाई दर्शकले खूब मन पराए। चलचित्र सफल भयो। मनग्ये कारोबार पनि गर्‍यो।

त्यसपछि व्यावसायिक रूपमा सफल हुने चलचित्रको सूचीमा थपिए, ‘प्रकाश’, ‘प्रेम गीत ३’, ‘ए मेरो हजुर ४’, ‘के घर के डेरा’, ‘दुई नम्बरी’, ‘झिंगेदाउ’, ‘महापुरुष’लगायत नाम।

यी सबै चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाए। राम्रो व्यापार गरे। प्रेमकथादेखि सामाजिक विषयवस्तुमा बनेका यी चलचित्र सफल हुँदा मनोरञ्जन क्षेत्रले केही राहत पायो। महामारीले गर्दा सुस्ताएको सिने जगतलाई उकास्न यी चलचित्रको महत्त्वपूर्ण भूमिका रह्यो।

‘चलचित्र चल्ने वा नचल्ने कुरामा प्रमोसनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। चलचित्रको नाम, कलाकार, निर्देशकका आधारमा चलचित्र हेर्ने–नहेर्ने मनस्थिति बनाउने दर्शक पनि छन् यहाँ। त्यसैले चलचित्र बनाउनुमा जति मेहनत गर्नुपर्छ, त्यसको प्रचारमा पनि त्यति नै खटिनुपर्छ।’

आशा गरिएका कतिपय चलचित्रले सफलताको स्वाद चाख्न पाएनन्। ‘चिसो मान्छे’, ‘लाखे’ त्यस्तै चलचित्रका उदाहरण हुन्। टिजर, ट्रेलरदेखि प्रिमियर सोमा प्रशंसा पाएका यी चलचित्रको अवस्था हलमा पुगेपछि नेपाली उखान ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै भयो। चलचित्रले दर्शकको मन जित्न सकेनन्। अनि, फ्लप भए।

निर्विकल्प प्रचार

दुई–चार चलचित्र चल्दैमा नेपाली चलचित्र क्षेत्रकै अवस्था राम्रो भयो भन्न नमिल्ने चलचित्र निर्देशक दीपेन्द्र लामा बताउँछन्। ‘दर्शकलाई चित्त बुझेका चलचित्र राम्रा चलेका छन्,’ उनले भने, ‘तर हिट चलचित्र औँलामा गन्न सकिने मात्र छन्। नचलेका चलचित्र धेरै छन्।’

पछिल्लो समय हिट भएका चलचित्रले नेपाली दर्शकको अपेक्षा बढाएको र निर्माता–निर्देशकमाथि चुनौती थपिदिएको लामाको तर्क छ।

‘अहिले चलेका चलचित्रले अब बन्ने चलचित्रलाई केही चुनौती थपिदिएका छन्,’ उनले भने, ‘त्यसको दबाब निर्माता–निर्देशकले महसुस गरेका छन्।’

हलमा चलचित्र चल्नु–नचल्नुमा निर्देशक–निर्माताको मुख्य भूमिका रहने निर्देशक लामाको भनाइ छ। ‘कथावस्तुमात्र राम्रो भएर हुन्न,’ उनले भने, ‘चलचित्र दर्शकले हेर्ने हुन्। दर्शकसम्म चलचित्र पुर्‍याउन निकै गृहकार्य गर्नुपर्छ। चलचित्र तयार भएपछि त्यसको पोस्टर, टिजर, ट्रेलरदेखि प्रमोसनमा पनि त्यति नै मेहनत गर्नुपर्छ।’

त्यसमा निर्माण टिमले अहम् भूमिका खेल्ने उनी बताउँछन्। त्यसैले होला हिजोआज चलचित्र निर्माण टिमले प्रचारप्रसारमा एकदमै ध्यान दिने गर्छन्। चलचित्रका कलाकार पनि स्कुल–कलेजदेखि विभिन्न रियालिटी सोसम्म प्रमोसनका लागि पुग्ने गर्छन्।

अहिलेको समयमा चलचित्र चलाउन प्रमोसन नगरी नहुने चलचित्र निर्देशक दीपेन्द्रकुमार खनाल बताउँछन्। ‘चलचित्र चल्ने वा नचल्ने कुरामा प्रमोसनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ,’ उनले भने, ‘चलचित्रको नाम, कलाकार, निर्देशकका आधारमा चलचित्र हेर्ने–नहेर्ने मनस्थिति बनाउने दर्शक पनि छन् यहाँ। त्यसैले चलचित्र बनाउनुमा जति मेहनत गर्नुपर्छ, त्यसको प्रचारमा पनि त्यति नै खटिनुपर्छ।’

कोरोनाकालपछि हिट भएका केही चलचित्रले मात्र दर्शकको अपेक्षा बढाएका होइनन्। महमारीअघिका केही चलचित्रले पनि दर्शकको प्रशस्त माया पाएका थिए। ‘पशुपति प्रसाद’, ‘आमा’, ‘दुई रुपैयाँ’, ‘छ माया छपक्कै’ जस्ता चलचित्रलाई दर्शकले निकै मन पराएका थिए।

तर, सधैँ एकै किसिमको चलचित्र आउँदा दर्शकमा ‘मोनोटोनस’ हुने भएकाले समयसँगै चलचित्र परिष्कृत हुँदै जानुपर्ने निर्देशक लामाको भनाइ छ। निर्देशक खनाल पनि लामासँग सहमत छन्।

‘समीक्षात्मक रूपमा चलेका चलचित्रले कोरोना भाइरसको महामारीअघि पनि राम्रै व्यापार गरेका थिए,’ खनालले भने, ‘चलचित्र हलमा लागेपछि दर्शक र बजारको मानसिकतामा भर पर्छ। ‘के घर के डेरा’ले सोचेभन्दा राम्रो गर्‍यो। तर, प्रदर्शनअघि निकै चर्चा कमाएको ‘चिसो मान्छे’ले सन्तोषजनक नतिजा ल्याउन सकेन।’

वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका नेपाली र उनको परिवारको कथा समेटिएको ‘चिसो मान्छे’ होस् वा दिदीभाइको भावनात्मक सम्बन्धमाथि बनेको ‘ऐना झ्यालको पुतली’ लगायत चलचित्रलाई धेरैले ‘अर्ग्यानिक चलचित्र’ भने। नेपाल र नेपालीको कथा बोकेका यी चलचित्रले दर्शकको मन छोए।

यस वर्ष प्रदर्शनमा आएको ‘प्रेम गीत ३’को निर्माण टिमले चलचित्रको प्रचार नेपालमा मात्र गरेन, भारतसम्म पुग्यो। हिन्दी भाषामा समेत सार्वजनिक भएको चलचित्रको प्रमोसन नेपाल र भारतमा जोडतोडले गरियो।

त्यसरी प्रचार गरेको फल चलचित्रले पायो। नेपालमा चलचित्र सुपरहिट भयो। निर्माण टिमका अनुसार भारतमा पनि चलचित्रले राम्रै दर्शक पायो।

त्यस्तै ‘माउथ पब्लिसिटी’का भरमा सफल हुने चलचित्र हो, ‘ऐना झ्यालको पुतली’। चलचित्रका निर्देशकदेखि कलाकारसम्मले आफैँ सिनेमा हलमा पुगेर दर्शकलाई चलचित्र मन परे अरूलाई पनि भनिदिन आग्रह गरेका थिए।

‘एक कान, दुई कान, मैदान’ भनेझैँ दर्शकले गरेको प्रचारले ‘ऐना झ्यालको पुतली’ले चौतर्फी चर्चा पायो। चलचित्र सफल भयो।

हल जाने बढे

अहिले पनि धेरै नेपाली सिनेमा हलमा गएर चलचित्र हेर्दैनन्। नेपालमा चलचित्र हेर्ने संस्कृतिको राम्रो विकास नभएकोले दर्शक हलसम्म नपुग्ने निर्देशक खनाल बताउँछन्।

महामारीअघि अवस्था झनै दयनीय थियो। हल जाने दर्शकको संख्या नगण्य थियो। कोरानाकालपछि परिदृश्य अलिकति चाहिँ बदलिएको छ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गर्‍यो। मान्छे घरभित्रै थुनिएर बस्न बाध्य भए। लामो समय घरभित्र बस्दा उकुसमुकस भएका मानिसलाई बाहिर जानु थियो, खुल्ला हावामा सास फेर्नु थियो। एक्लाएक्लै हुँदा अतालिएका धेरैलाई रमाइलो गर्नु थियो।

त्यसका लागि सिनेमा हल उपयुक्त उपाय भइदियो। महामारीको पीडालाई भुलाउन कतिपयले सिनेमा हलको बाटो समाते। ‘पीडा बिसाउन मानिसहरू मनोरञ्जनका लागि हलतर्फ लागे,’ निर्देशक खनालले भने।

‘नेपाली चलचित्र हलिउड र बलिउडका कपी हुन्छन्’ भन्ने धारणा परिवर्तन भएकाले पनि हल जानेहरू बढेको उनको दाबी छ। नेपालीपन बोकेका चलचित्रले मान्छेको सोच बदल्नुमा महत्त्वपूर्ण भूमिका खेलेको उनी बताउँछन्।

‘पछिल्लो समय बनेको धेरैजसो चलचित्र हाम्रो समाजमा रहेका समस्या र सामाजिक विषयवस्तुमा आधारित छन्,’ खनालले भने, ‘तिनले नेपालीपन बोकेका छन्। आफ्नो वरिपरि भइरहेका घटना र कथालाई पर्दामा देख्दा दर्शक चलचित्रसँग जोडिन्छन्। आफ्नै कथा पर्दामा देखेजस्तो लाग्छ होला दर्शकलाई।’

वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका नेपाली र उनको परिवारको कथा समेटिएको ‘चिसो मान्छे’ होस् वा दिदीभाइको भावनात्मक सम्बन्धमाथि बनेको ‘ऐना झ्यालको पुतली’ लगायत चलचित्रलाई धेरैले ‘अर्ग्यानिक चलचित्र’ भने।

नेपाल र नेपालीको कथा बोकेका यी चलचित्रले दर्शकको मन छोए। चलचित्र ‘चिसो मान्छे’ले समीक्षकहरूबाट प्रशंसा पाए पनि हलबाट पैसा भने बटुल्न सकेन। तर, कम बजेटको ‘ऐना झ्यालको पुतली’ले तारिफसँगै राम्रो कारोबार पनि गर्‍यो।

यस्ता चलचित्रले हलमा दर्शकको संख्या अझै बढ्दै जानेमा निर्देशक लामा र खनाल ढुक्क छन्।

हलमा फ्लप, युट्युबमा हिट

सिनेमा हलमा राम्रो प्रदर्शन गर्न नसकेका कतिपय चलचित्रलाई निर्माण टिमले अहिले युट्युबमा सार्वजनिक गरिरहेका छन्।

हलमा नहेरिए पनि युट्युबमा भने चलचित्रले प्रशस्तै ‘भ्युज’ पाइरहेका छन्। ट्रेन्डिङमा परिरहेका छन्। कतिपय त ट्रेन्डिङमा एक नम्बरमा पनि परेका छन्।

हल गएर चलचित्र नहेर्नेले पनि युट्युबमा खोजीखोजी नेपाली चलचित्र हेर्ने गरेका छन्। हलबाट उठाउन नसकेको पैसा अन्य माध्यमबाट भए पनि उठिरहँदा चलचित्र निर्माताले केही राहत भने महसुस गरेका छन्।

हलमा नचलेका चलचित्रले युट्युबमा राम्रो भ्युज पायो भन्दैमा त्यसलाई उत्कृष्ट मान्न नसकिने निर्देशक लामा बताउँछन्।  ‘युट्युबमा सबैले चलचित्र पूरै हेरेका हुन्छन् भन्ने यकिन हुँदैन,’ उनले भने, ‘त्यसैले युट्युबमा आउने भ्युजको पछि चाहिँ लाग्नुहुन्न।’

‘चलचित्रको कथावस्तु राम्रो छ भने चलचित्रलाई केही कुराले छेक्दैन। हलमा मात्रै राम्रो गरेको चलचित्रलाई राम्रो मान्नुपर्छ भन्ने छैन।’

युट्युबमा दर्शकले हेरेकै भरमा चलचित्रको लगानी नउठ्ने निर्मातासमेत रहेका निर्देशक खनाल बताउँछन्। ‘सित्तैमा हेर्न पाएपछि धेरै भ्युज जानु स्वाभाविक हो,’ उनले भने, ‘यसले निर्माताको करोडौँको लगानी उठाउन सक्दैन। यसलाई व्यापार भन्न पनि मिल्दैन। केही राहत भने हुन्छ।’

तर यसमा चलचित्र निर्देशक तथा निर्माता शोभित बस्नेतको बुझाइ अलि फरक छ। ‘चलचित्र निर्माण टिमलाई चाहिने दर्शक हो,’ उनले भने, ‘हलमा हेर्न सक्नेले हलमा हेर्छन्, नसक्नेले युट्युबमा। दर्शकले जुन माध्यमबाट हेर्न रुचाउँछन्, त्यसबाट हेर्छन्। निर्माता/निर्देशकले त दर्शकले चलचित्र हेरे भनेर नै खुसी हुनुपर्ने हो।’

हलबाट निर्माताले लगानी उठाउने भएकोले हललाई बढी प्राथमिकता दिएको बस्नेतको भनाइ छ। ‘जता चले पनि दर्शकले रुचाउन् भनेर नै चलचित्र बनाउने हो,’ उनले भने, ‘चलचित्रको कथावस्तु राम्रो छ भने चलचित्रलाई केही कुराले छेक्दैन। हलमा मात्रै राम्रो गरेको चलचित्रलाई राम्रो मान्नुपर्छ भन्ने छैन।’

युट्युबले गर्दा निर्माण टिमलाई केही फाइदा अवश्य हुने गरेको उनी बताउँछन्। ‘युट्युब पनि व्यापारको माध्यम बनेको छ,’ उनले भने, ‘पहिले युट्युब टिमले चार/पाँच लाख रुपैयाँमा नेपाली चलचित्र किन्ने गथ्र्यो। तर, अहिले एउटा चलचित्रलाई ७५ लाख रुपैयाँसम्म दिन तयार हुन्छन्।’

युट्युबमा बढी हेरिएका नेपाली चलचित्र

गत मंसिर ४ मा साम्तेन भुटिया निर्देशित ‘चचहुई’ युट्युबमा रिलिज भयो। दुई वर्षअघि हलमा प्रदर्शनमा आएको चलचित्रलाई ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो।

युट्युबमा आएको केही घण्टामै चलचित्र ट्रेन्डिङमा पर्न सफल भयो। चलचित्रले २६ लाखभन्दा बढी भ्युज पाइसकेको छ। आर्यन सिग्देल, मिरुना मगर मुख्य भूमिकामा रहेको चलचित्रमा भोजराज सापकोटा, माओत्से गुरुङलगायत कलाकार छन्।

त्यस्तै, दसैँताका बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको चलचित्र हो, ‘म यस्तो गीत गाउँछु २’। यो चलचित्रलाई पनि युट्युबमा ४२ लाखभन्दा बढीले हेरेका छन्।

कोभिड–१९ का कारण पटकपटक प्रदर्शन मिति सरेको चलचित्र गत फागुन १३ मा रिलिज भएको थियो। सुदर्शन थापाको निर्देशन रहेको चलचित्रमा अभिनेत्री पूजा शर्मा, अभिनेता पल शाह मुख्य भूमिकामा छन्।

साउन २० मा हाइलाइटस् नेपाल युट्युब च्यानलमार्फत चलचित्र ‘तिमी सँग’ सार्वजनिक भयो। साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेनको त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रले युट्युबमा एक करोडभन्दा बढी भ्युज पाएको छ।

शिशिर राणाको निर्देशनमा बनेको चलचित्र २०७४ चैत २३ मा सिनेमा हलमा प्रदर्शन भएको थियो।

शोभित बस्नेत निर्देशित ‘डाँडाको वर पिपल’ जेठ २१ मा बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भयो। हलमा दर्शकको मन जित्न नसकेको चलचित्र युट्युबमा सार्वजनिक भएको केही घण्टामै नेपाल ट्रेन्डिङमा एक पर्‍यो। ४५ लाखभन्दा माथि भ्युज पाउन सफल भएको छ।

युट्युबबाट पाएको प्रतिक्रियाबाट उत्साहित भएर निर्देशक बस्नेतले चलचित्रको दोस्रो भाग बनाउनेसमेत घोषणा गरिसकेका छन्।

चलचित्रमा अभिनेता सलोन बस्नेत र अभिनेत्री रुबिना थापा मुख्य भूमिकामा छन्। अन्तरजातीय प्रेमकथामा आधारित चलचित्रमा शिव श्रेष्ठ, गौरी मल्ल, भुवन केसी, अस्मिता जुरेली, विनोद न्यौपाने, राजीवजंग बस्नेतलगायत कलाकारको अभिनय छ।

त्यस्तै, ‘कागजपत्र’, ‘ड्रिम गर्ल’, ‘सिल्ली फो’, ‘धुम ४’ आदि चलचित्र पनि यो वर्ष युट्युबमा सार्वजनिक भए। हलमा सोचेजस्तो कारोबार नगरेका यी चलचित्र युट्युबमा छोटो समयमा राम्रै दर्शक बटुल्न सफल भए।

प्रकाशित: २७ मंसिर २०७९ १३:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast