मनसुनी वर्षा : औसतभन्दा कम, देशभर ८५ प्रतिशत पर्‍याे पानी

हिमाल प्रेस १४ साउन २०८० १८:१६
8
SHARES
मनसुनी वर्षा : औसतभन्दा कम, देशभर ८५ प्रतिशत पर्‍याे पानी फाइल तस्बिर।

काठमाडाैँ- यस वर्षको जारी मनसुनमा देशभर सरदरमा औसतभन्दा कम वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार हालसम्म देशभर ८५.४ प्रतिशत वर्षा भएको छ।

शाखाका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार गत जेठ १८ देखि यही साउन १४ गतेसम्म ६ सय ४३ मिलिमिटर वर्षा भएको छ। उनले अघिल्लो वर्षको सोही अवधिको तुलनामा देशभर सरदरभन्दा कम वर्षा भएको जानकारी दिए। ‘देशभर हालसम्म सरदरको ८५.४ प्रतिशत वर्षा भएको छ। जुन सरदरभन्दा कम वर्षा हो,’ उनले भने।

मनसुन अवधिभर नेपालमा एक हजार चार सय ६२ मिलिमिटर वर्षा हुने गरेको शाखाले जानकारी दिएकाे छ। यसअघि विगतका वर्षभन्दा यो वर्ष सरदरमा देशभर औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ।

शाखाका अनुसार यो बीचमा विशेषगरी तराईका भूभागमा सरदरभन्दा कम वर्षा भएको छ। त्यसैगरी ओखलढुंगा, जिरी र जोमसमका मौसम मापन केन्द्रको आँकडामा सरदरभन्दा बढी वर्षा भएको छ। ताप्लेजुङ, काठमाडौँ, पोखरा, दिपायल र जुम्लामा सरदरको हाराहारीमा वर्षा भएको छ। सिमरा, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी र सुर्खेतमा सरदरभन्दा कम वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशााले मुख्यगरी देशभरका विभिन्न २० मौसम मापन केन्द्रको तथ्यांकका आधारमा मौसम पूर्वानुमान गर्दै आएको छ। मौसम विभागले सन् १९९१ देखि २०२० सम्म ३० वर्षको अवधिको तथ्यांकका आधारमा विभिन्न मौसम मापन केन्द्रबाट आएको विवरणका आधारमा मौसम विवरण दिने गरिएको छ।

नेपालमा मनसुन यस वर्ष जेठ ३१ गतेदेखि प्रवेश गरे पनि देशभर फैलिन झन्डै दुई साता लागेको थियो। मनसुन प्रभावकारी नहुँदा पछिल्लो एक साता राम्रोसित वर्षा हुन सकेको छैन। विगत दुई दिनयता भने देशका सबैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले बताएकाे छ।

प्रकाशित: १४ साउन २०८० १८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − four =