असोजमा निरन्तर विपत्, घटेन बाढीपहिरोको जोखिम

किरण पौडेल ११ असोज २०८३ १७:०० | Sunday, September 27, 2026
असोजमा निरन्तर विपत्, घटेन बाढीपहिरोको जोखिम अविरल वर्षापछि आइतबार बिहान नारायणी नदीमा बढेकाे जल सतह। तस्बिर : रासस

काठमाडौँ- भोटेकोशीको विनाशकारी बाढीको पीडा सेलाउन नपाउँदै असोजमा फेरि बाढी, पहिरो र डुबानको जोखिम दोहोरिएको छ। पछिल्ला तीन दिन काठमाडौँसहित देशका विभिन्न स्थानमा भारी वर्षा भएपछि जनजीवन प्रभावित भएको छ। वर्षाको मात्रा केही घटे पनि विपत्‌को जोखिम भने अझै टरेको छैन।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली नेपाल प्रवेश गरेपछि त्यसको प्रभाव पूर्वी र मध्य नेपालमा बढी परेको हो। लगातारको वर्षाले खोला तथा नदीमा पानीको सतह बढ्दा तटीय बस्ती डुबानमा परेका छन् भने पहिरोका कारण मानवीय क्षतिसमेत भएको छ। पछिल्ला तीन दिनको बाढीमा परी कम्तीमा ६ जनाको मृत्यु भएको सुरक्षा निकायले जनाएको छ। प्रहरीका अनुसार  पाल्पामा दुई र बागलुङमा तीन जनाको मृत्यु भएको छ।

कालीगण्डकीमा आएको बाढीले तटीय क्षेत्रका ८० घरमा क्षति पुर्‍याएको छ। कालीगण्डकी नदीले पर्वतको जलजला गाउँपालिका-८ स्थित फर्सेमा २५ घर बगाएको छ भने मिर्मीस्थित पक्की पुल पनि बगाएको छ। लगातारको वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका-११ टपमझुवा क्षेत्रमा पाँच घर बगाएको छ। नदीको जलसतह सतर्कता तह पार गरेपछि जोखिमयुक्त क्षेत्रका करिब ९ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ।

नेपालमा पछिल्लो समय विपत् जोखिमको चक्र असोजमा पनि निरन्तर देखिन थालेको छ। भोटेकोशीमा वर्षा प्रमुख कारण नदेखिएको बाढीले ठूलो जनधनको क्षति गराएको केही सातामै असोजको मनसुनी वर्षाले अर्को जोखिम थपेको हो।

विपद् व्यवस्थापन प्राधिकरणले यसपटकको वर्षाबाट मात्रै दुई लाख १६ हजार मानिस प्रभावित हुन सक्ने पूर्वानुमान गरेको थियो।

असोज ९ देखि १२ गतेसम्मको वर्षाको जोखिमलाई दृष्टिगत गर्दै सरकारले पूर्वतयारी र उद्धारका उपायलाई तीव्र बनाएको थियो। मौसम पूर्वानुमानअनुसार जोखिममा पर्न सक्ने क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने, यातायात रोक्ने, विद्यालय बन्द गर्न सिफारिस गर्ने तथा पर्यटकीय गतिविधि स्थगित गर्ने निर्णयसमेत गरियो।

विगतका असोजका विपद्का अनुभवले यसपटक सरकारलाई थप सतर्क बनाएको देखिन्छ। गत वर्ष असोजमा बाढी, पहिरो र चट्याङमा परी ५३ जनाको मृत्यु भएको थियो। त्यसमध्ये पहिरोमा ४०, बाढीमा ११ र चट्याङमा दुई जनाले ज्यान गुमाएका थिए।

२०८१ असोजको बाढीपहिरोमा दुई सय २४ जनाको मृत्यु भएको थियो भने २४ जना बेपत्ता भएका थिए। काभ्रे, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरलगायत जिल्ला बढी प्रभावित भएका थिए। त्यही विपद्का क्रममा मौसम विभागको चेतावनी बेवास्ता गर्दै यातायात सञ्चालन गर्दा धादिङको झ्याप्ले खोलामा ३८ जनाको मृत्यु भएको थियो।

यसपटक भने विगतको कमजोरी दोहोरिन नदिने प्रयास गरिएको विपद् व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक डा. धर्म उप्रेती बताउँछन्। ‘हामीले पटकपटक सूचना दिने र सचेत गराउने काम गर्‍यौँ। यसले क्षति कम भएको हो,’ उप्रेती भन्छन्, ‘हामीले नौ हजार पर्यटकलाई सुरक्षित स्थानमा पठाउने काम गर्‍यौँ भने विद्यालय बन्द गर्न पनि सिफारिस गर्‍यौँ।’

उनका अनुसार असोज ९ देखि हुने वर्षाको पूर्वानुमान असोज ५ गतेदेखि नै सम्बन्धित निकायलाई उपलब्ध गराइएको थियो। त्यसपछि जोखिमको अवस्थाअनुसार एकएक घण्टामा सूचना प्रवाह गरी नागरिकलाई सचेत गराइएको थियो।

पछिल्ला वर्षका घटनाले असोजलाई नेपालमा मनसुनी विपत्‌को संवेदनशील महिना बनाउँदै लगेको देखिन्छ। मनसुन सकिन लागेको समयमा हुने लगातारको वर्षा, कमजोर भूगोल, पहिरोको जोखिम र नदीमा अचानक बढ्ने पानीका कारण असोजमा ठूलो क्षति हुने गरेको छ।

गत वर्ष असोज १७ गतेपछि आएको मनसुनी विपद्‌मा ५३ जनाको मृत्यु भएको तथ्यले पनि असोजको जोखिमलाई देखाउँछ। यस वर्ष भोटेकोशीको विनाशपछि पुनः असोजमा बाढीपहिरोको जोखिम देखिनुले विपत् व्यवस्थापनमा पूर्वतयारीलाई झन् महत्त्वपूर्ण बनाएको छ।

यसपटक सरकारले विगतको क्षतिबाट पाठ सिक्दै यातायात र पर्यटकीय गतिविधिमा समेत रोक लगाएको थियो। ‘यिनै कारणले हामीले यातायात रोक्न लगायौँ,’ उप्रेती भन्छन्।

मौसम विभागले असोज ९ देखि पूर्वी नेपालमा वर्षाको सम्भावना देखाएपछि त्यहाँ यातायात रोक्नेसहितका उपाय अपनाइएको थियो। असोज ८ गते बेलुका गृहमन्त्री सुधन गुरुङले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए। उनले स्थानीय प्रशासनमार्फत घरघरमा वर्षाको सूचना पुर्‍याउन र नागरिकलाई सचेत गराउन निर्देशन दिएका थिए।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार भारी र अति भारी वर्षाको पूर्वानुमानअनुसार जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम गरिएको थियो।

असोज ९ र १० गते काठमाडौँ तथा पूर्वी क्षेत्र र त्यसपछि पश्चिमी क्षेत्रमा वर्षाको जोखिम देखाइएको थियो। हिमाली क्षेत्रमा हिमपहिरोको सम्भावनालाई समेत ध्यान दिँदै पर्यटकीय गतिविधि रोकिएको थियो।

बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीका अनुसार मौसम विभागले असोज १० र ११ गते पश्चिमी भूभागमा वर्षाको सम्भावना देखाएपछि त्यहाँ पनि सचेतना बढाइएको थियो।

गण्डकीदेखि सुदूरपश्चिमसम्मका सडक असोज ९ गते बेलुकादेखि नै रोकिएका थिए। नदी तथा खोलाको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कामसमेत गरिएको थियो।

मौसम विभागले जोखिमका आधारमा जिल्लागत विवरण सार्वजनिक गर्नुका साथै बाढी आउन सक्ने नदी तथा खोलाको सूचीसमेत सार्वजनिक गरेको थियो। तर पूर्वसूचना र पूर्वतयारीका बाबजुद विपत् पूर्ण रूपमा रोकिएको छैन।

प्रकाशित: ११ असोज २०८३ १७:०० | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast