फाइल तस्बिर पशु सेवा विभाग।
                                            कैलाली- पशु महामारीको रूपमा फैलिएको लम्पी स्किन रोगबाट सुदूरपश्चिम अत्यधिक प्रभावित बनेको छ। अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा मृतक पशुको संख्या र संक्रमितको संख्या अत्यधिक रहेको पाइएको हो।
सुदूरपश्चिममा करिब २० हजार पशु यो रोगको संक्रमणबाट सिकिस्त छन्। करिब २६ हजारको मृत्यु भएको यहाँको भेटिरिनरी तथा पशु सेवा केन्द्रको तथ्यांक छ। हालसम्म बिरामी भएको पशुको संख्या ६ लाख ३४ हजार ७ सय ९९ पुगेको छ। यहाँ २५ हजार ९९१ पशुकाे मृत्यु भएकाे छ।
सुदूरपश्चिममा करिब तीन वर्षअघि नै प्रवेश गरेको लम्पी स्किन रोगले यो वर्ष पशुलाई थला पार्नेगरी फैलिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डाक्टर हेमराज अवस्थीले बताए। ‘सुदूरपश्चिममा तीन वर्षदेखि लम्पी स्किन रोगका कारण पशुचौपाया संक्रमित हुँदै आएका छन्,’ उनले भने, ‘यो वर्ष पहाडी जिल्लामा कडा खालको संक्रमण देखिएको छ।’
पोक्स भाइरसको संक्रमणबाट हुने लम्पी स्किनबाट सबैभन्दा बढी कैलालीमा २ लाख ३३ हजार ५ सय पशुचौपाया संक्रमित भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय डोटीको तथ्यांक छ।
कैलालीमा १५ हजार बाच्छाबाच्छी, ८३ हजार ३९३ गाई बिरामी भएका छन्। त्यस्तै २१ हजार ३५१ गोरु र एक लाख १३ हजार ३२७ भैँसी संक्रमित भएका छन्। यहाँ ६५७ पशुचौपायाको मृत्यु भएको तथ्यांक छ।
त्यस्तै बझाङमा एक लाख ६१ हजार ७९५ पशुचौपायामा लम्पी स्किन पुष्टि भएको छ। बझाङमा १२ हजार ३४१ बाच्छाबाच्छी, ५० हजार २१४ गाई, ४८ हजार ५२१ गोरु र ५० हजार ७१९ भैँसीमा लम्पी स्किन देखिएको छ।
बझाङमा ४ हजार ६२३ पशुचौपाया मरेका छन्। यो रोगका कारण बैतडी सबैभन्दा बढी प्रभावित देखिएको छ। यहाँ ७० हजार ९४० चौपायामा लम्पी स्किन पुष्टि भएको छ। ६ हजार गाई, ३ हजार बाच्छाबाच्छी, २ हजार गोरु र १८ वटा भैँसीको गरी ११ हजार १८ पशुकाे ज्यान गएकाे छ।
लम्पी स्किनको उपचार थाहा नभएर पनि चौपाया मरेको डाक्टर अवस्थीले बताए। ‘चौपायालाई लम्पी स्किन हुँदा ज्वरो आउँछ। यसरी ज्वरो आउँदा सिटामोल खुवाउनुपथ्र्यो,’ उनले भने, ‘सही उपचार र संक्रमण फैलिनु अघि खोप दिन नसक्दा पहाडी जिल्लामा धेरै पशु मरेका छन्।’
बाजुरामा ४३ हजार ३९ पशुचौपायामा संक्रमण हुँदा ७५३ पशुचौपाया मरेका छन्। यस्तै, डोटीमा ३८ हजार ६७३ पशुमा लम्पी स्किन पुष्टि हुँदा ३ हजार ६७९ चौपाया मरेका छन्। डडेलधुरामा ३३ हजार २४३ पशुमा लम्पी स्किन संक्रमण देखिएको छ। यहाँ २ हजार ३९६ पशु मरेका छन्।
अछाममा ३२ हजार ५७७ चौपाया संक्रमित हुँदा एक हजार ६७८ मरेका छन्। हिमाली जिल्ला दार्चुलामा २९ हजार ३३० पशु संक्रमित भएकामा एक हजार १६९ पशु मरेका छन्। कञ्चनपुरमा ७०२ पशुमा लम्पी स्किन भएकोमा १८ चौपाया मरेका छन्।
पशुमा लम्पी स्किन संक्रमणको अवधि ४ देखि १४ दिनसम्मको हुने पशुचिकित्सक डाक्टर अवस्थीले बताए। खोप लगाएर संक्रमण हुनबाट रोक्न सकिने उनको भनाइ छ।
गण्डकीमा ४८ हजार पशु लम्पी स्किन संक्रमित, १० करोड बराबरको क्षति


                                             
                                             
                                             
                                             
                                             
                                             

