काठमाडौँ- सुदर्शन गौतमले संसारको सातौँ आश्चर्य नियाग्रा फल्समा १२ हजार ५०० फिट माथिबाट स्काई डाइभ गरेर अर्को साहसिक कार्य गरेर संसारलाई चकित बनाएका छन्। उनले केही दिनअघि स्काई डाइभ गरेका हुन्।
रामेछापमा जन्मिएका सुदर्शन क्यानेडियन नागरिक हुन्। १३ वर्षको उमेरमा ०५१ सालमा घरको छतमा रड लिएर खेल्दै गर्दा रड बिजुलीको तारमा छोइएपछि उनी दुर्घटनामा परेका थिए। त्यसपछि उनका दुवै हात काटिएका हुन्। दुवै हात गुमाएर पनि साहसिक कार्य गर्दै उनी विश्व मानचित्रमा छुट्टै कीर्तिमान बनाउन सफल भउका छन्।
दैनिक कार्य आफैँले गर्दै आएका गौतमले खुट्टाले लेखेर एसएलसीदेखि मास्टर्ससम्म अध्ययन गरेका छन्। साथै उनले कम्प्युटर साइन्समा डिप्लोमासम्मको अध्ययन पूरा गरे। उनी खुट्टाले आफ्नो गाडी, मोबाइल र कम्प्युटर चलाउँछन्।
२०१३ मा विश्वको सगरमाथाको सफल आरोहण गरिसकेका उनी चलचित्र हिम्मतवालीमा अभिनय गरेर पहिलोपटक नायकका रूपमा चिनिए। क्यानडा सरकारबाट क्यानेडियन डिसेबिलिटी हल अफ फेम अवार्ड पाएका गौतमले दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र अवार्ड पाइसकेका छन्।