ललिता निवासका अस्थायी संरचना हटाउन सात दिनको अल्टिमेटम

हिमाल प्रेस १७ असार २०८० २१:०८
8
SHARES
ललिता निवासका अस्थायी संरचना हटाउन सात दिनको अल्टिमेटम काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित ललितानिवासमा बनेका अस्थायी संरचना आगामी सात दिनभित्र हटाउनका लागि निर्देशन दिएको छ।

महानगर प्रवक्ता नवीन मानन्धरका अनुसार उक्त स्थानमा निर्माण भएका सबै अस्थायी संरचना हटाउनका लागि निर्देशन दिइएको हो। स्थायी संरचनाको विषयमा भने पुनः छलफल गरेर निर्णय गरिने उनको भनाइ छ।

उक्त संरचना हटाइसकेपछि उक्त स्थानमा तारबार गरी संरक्षण गर्ने प्रवक्ता मानन्धरले जानकारी दिए। आज (आइतबार) नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा नगर प्रहरी उक्त स्थानमा पुगेको थियो।

पहिले उक्त स्थानमा कति सार्वजनिक जग्गा छ भनी यकिन गरी तारबार गर्ने तयारी महानगरको छ। उक्त स्थानमा अहिले करिब २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेको र ती सबै संरचना हटाउनका लागि निर्देशन दिइएको महानगरपालिकाले जानकारी दिएको छ। उक्त स्थानको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा केही व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा चलिरहेको छ।

महानगरपालिका गत भदौ ७ गतेदेखि अवैधानिकरूपमा निर्माण गरिएको संरचना हटाउने काम सुरु गरेको हो। हालसम्मको अवधिमा १६ हजार पाँच सय ६० स्थानका अवैधानिकरूपमा निर्माण गरिएका संरचना हटाइएको महानगरले जनाएको छ।

प्रकाशित: १७ असार २०८० २१:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast