काठमाडौँ- काठमाडौँ महानगरपालिकाले अव्यवस्थित तारहरूको व्यवस्थापन कार्य सुरु गरेको छ। सोमबार बिहान माइतीघर मण्डला क्षेत्रबाट अव्यवस्थित तार व्यवस्थापन सुरु भएको हो।
महानगरपालिकाले नेपाल टेलिकम, वर्ल्ड लिंक, बोर्ड लिंक लगायतका सम्बन्धित निकायहरूसँगको समन्वयमा तार व्यवस्थापन गर्न सुरु गरेको छ।
तार व्यवस्थापन कार्यको शुभारम्भपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा काठमाडौँ महानगरपालिकाका महानगरिय प्रहरी निरीक्षक ईश्वर वाग्लेले सम्बन्धित सबै पक्षहरुसँगको छलफलपछि समन्वयमा नै अव्यवस्थित तार हटाउन सुरु गरिएको बताए।
उनले अव्यवस्थित तारका कारण कतिपय दुर्घटना निम्तिरहेको र त्यसलाई कम गर्नका लागि पनि यसले महत्वपूर्ण भूमिका खैल्ने बताए। उनले भने, ‘सबैको समन्वयमा हामीले काम सुरु गरेका हौँ। अव्यवस्थित तार हटाइएको हो । यो अभियान सबैतिर हुनेछ । भित्रि बस्ती र बाहिरि बस्ती सबैमा हामीले अव्यवस्थित तार हटाउनेछौँ।’
त्यस्तै तार व्यवस्थापनका लागि नेपाल टेलिकमबाट प्रतिनिधित्व गरेका पोखराज जोशीले नेपाल टेलिकमले आफ्नो तार सबै फाइबरबाट चलाइसकेको र तार पहिचान गरेर मात्रै काट्न आग्रह गरेको बताए। उनले तार व्यवस्थापनको कार्य समन्वयमा नै सुरु भएको बताए।
उनले भने,‘टेलिकमको तार हामीले काठमाडौंमा सबै फाइबरबाट चलाइसकेका छौँ। यहाँ टेलिकमको तार चिनिन्छ, राष्ट्रको सम्पती बचाउनुपर्छ, हामीले एनटिसी लेखेका छौँ, चिनिन्छ। हामीले अव्यवस्थित राखेका छैनौँ।’
त्यस्तै तरा व्यवस्थापनका लागि बोर्डलिंकबाट प्रतिनिधित्व गरेका यादव तिमल्सिनाले मानवीय त्रुटीका कारण समस्या आइरहेको अवस्थालाई मध्यनजर गरी तार व्यवस्थापन सुरु गरिएको बताए। उनले असरल्ल देखिएका तारहरुको व्यवस्थापनले नै सुन्दर काठमाडौं हुन मद्दत पुग्ने बताए।
काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आइतबार बसेको बैठकले सोमवारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको थियो।
यसअघि काठमाडौं महानगरपालिकाले १५ दिनको समय दिएर वैशाख २७ गते भित्र तार व्यवस्थापन नगरे तार काटिदिने सूचना सार्वजनिक गरेको थियो।