काठमाडौँ- पोल्ट्री व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणलाई लिएर ‘शंकर कँडेल न्यायिक संघर्ष समिति’ले शनिबार आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित बनेको छ। बिहानैदेखि ठूलो सवारीसाधन चल्न नसक्दा जनजीवन कष्टकर बनेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक आसपासमा बाक्लै बन्दकर्ता देखिएका छन्।
‘साना बाइकहरू फाट्टफुट्ट देखिए पनि ठूला सवारी चल्न सकेका छैनन्,’ चितवन प्रहरीले भन्यो, ‘तर सवारी मात्र बन्द हो। त्यस्ता अमानवीय गतिविधि भएको छैन।’
बन्दका कारण ठूला तथा लामा दूरीका सवारीसमेत चल्न सकेका छैनन्। बन्दकर्ताले बीचबाटोमै सवारी रोकेर चल्न दिएका छैनन्।
प्रहरीका अनुसार लामा दूरीका सवारी चलाउने प्रयास भइरहेको छ। मृतक कँडेल नेपाली कांग्रेसका महासमिति सदस्य हुन्। उनी मंगलबार साँझ नारायणगढस्थित आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेका प्रदीप रुँगटा प्रकाउ नपरेको भन्दै शनिबार चितवन बन्द गरिएको छ।
कँडेलले आत्महत्याअघि लेखेको ‘सुसाइट नोट’ फेला परेको थियो। जसमा आर्थिक कारणले आत्महत्या गरेको लेखेको प्रहरीले बताएको छ। प्रहरीले उनको आत्महत्या दुरुत्साहन आरोप लागेकालाई लामो समय वित्दा पनि प्रक्राउ नगरेको भन्दै उनका परिवार, समर्थक, व्यवसायी र नेपाली कांग्रेस चितवनको सक्रियतामा चितवनमा निरन्तर दबाबमूलक कार्यक्रम भइरहेका छन्।
भरतपुर महानगरपालिका- ८ का ३७ वर्षीय जीवन रावललाई भने प्रहरीले बाराको सिमराबाट पक्राउ गरे पनि प्रदीप रुँगटा पक्राउ परेका छैनन्। रुँगटालाई पक्राउ गर्न माग गर्दै बन्द आह्वान गरिएको हो।