काठमाडौँ- सरकारले सडक खाद्य वस्तु (स्ट्रिट फुड) पत्रिकालगायतका प्रिन्टिङ कागजमा पोको पार्न प्रतिबन्ध लगाउने भएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले छापिएका कागजमा स्वास्थ्यलाई हानि गर्ने रसायनहरू हुने भएकाले त्यसमा राखेर ‘स्ट्रिट फुड’ बेच्न प्रतिबन्ध लगाउने तयारी भइरहेको बताएकी हुन्।
मंगलबारबाट काठमाडौँमा सुरु भएको खाद्य स्वच्छतासम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सस्तो र मीठो हुने भएकाले स्ट्रिट फुडको उपयोग बढ्दै गइरहेको उल्लेख गर्दै त्यसमा स्वच्छता ल्याउन सरकारले यस्तो कदम चाल्नु परेको स्पष्ट पारिन्।
उनले स्ट्रिट फुड र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्न सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि स्थानीय तहहरूसँग मिलेर अघि बढाएको बताइन्। ‘केही सस्तो र मीठो खाजाको रूपमा स्ट्रिट फुड एउटा राम्रो अल्टरनेटिभ हो। सबैजनाले फाइन डाईनिङ मात्रै गर्न सक्दैन। त्यसकारणले त्यो स्ट्रिट फुडले फुड प्वाइजनिङ हुनु भएन,’ उनले भनिन्, ‘यसलाई सुधार गर्नु अत्यन्तै जरुरी छ। न्युजपेपर (पत्रिका) हरूमा चटपटे, पानीपुरीलगायत प्याक गरेर खाने जुन चलन छ। त्यसलाई तुरुन्तै हटाउनुपर्ने देखिन्छ।’