काठमाडौँ- काठमाडौँको कपनस्थित सरस्वतीनगरको भाँडा पसल सञ्चालक निरा पाण्डे (निरु)को हत्या गर्ने व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सार्वजनिक गरेको छ। वैशाख ७ गते लुटपाटको उद्देश्यले हत्यामा संलग्न विनोद विश्वकर्मालाई प्रहरीले झापाबाट पक्राउ गरेर ल्याई काठमाडौँमा सार्वजनिक गरेको हो।
निराको हत्यापछि पनि विनोद एक सातासम्म काठमाडौँमै बसेको खुलेको छ। यसअघि चाबहिलकै एक डान्सबारमा बाउन्सरको काम गरेका विनोदले निरूको पसलको गतिविधि केहीदिन अघिदेखि नियालेको पनि प्रहरीसँगको बयानमा उनले भनेका छन्।
सीआईबीका प्रवक्ता एसएसपी दिनेश आचार्याले विभिन्न डिस्कोमा यसअघि बाउन्सरका रुपमा काम गरिसकेका विनोद भक्तपुरको लोकन्थलीस्थित साथीको घरमा एक साता अघिदेखि बसेको पाइएको बताए।
‘घटना हुनुभन्दा अघि एक हप्तादेखि विनोद भक्तपुरको लोकन्थली-१ मा रहेको आफ्ना साथीको घरमा बसेको पाइयो,’ उनले भने, ‘वैशाख ७ गते घटना भयो त्यो दिन उनी बिहानै चाबहिलको केएल टावरसम्म गएको देखियो। दिउँसो २ बजेतिर निरुको पसलमा छिरेर केही सामान किन्न खोजे जस्तो गरेको पनि पाइयो। सामान नकिनी २:३३ बजे नजिकैको एटीएममा छिरेको देखिन्छ। फेरि २:४४ मै निरूको
पसल पुग्छन्। त्यसबेला पसलमा दायाँ बायाँ हेरेर कोही नदेखेपछि पसलमै बेच्न राखेको छुरी झिकेर निरुलाई प्रहार गरेको पाइयो।’
प्रहरीका अनुसार विनोदले निरुलाई कयौँपटक छुरीले प्रहार गरेर घाँटीमा भएको एक तोलाको सुनको सिक्री र पसलको काउन्टरमा भएको १२ सय रुपैयाँ लिएर भागेका थिए। ‘त्यहाँबाट उनी सफा ट्याम्पोमा चढेर ओम अस्पताल छेउ झर्छन्। त्यहाँबाट बाइक चढेर जडीबुटी झरेपछि लोकन्थली साथीकै घरमा पुग्छन्’ प्रहरीले भन्यो।
अनुसन्धानमा खटिएको प्रहरीले साथीको घरबाट पनि निरुको हत्या गर्दा लगाएको कपडा पनि बरामद गरेको छ।
‘घटनामा लगाएको कपडा ब्याग र जुत्ता बरामद भएको छ। साथीको कोठाबाट रगत लागेको कालो टिसर्ट पनि बरामद भइसकेको छ’, उनले भने, ‘लुटेको सुनको सिक्री तारकेश्वरस्थित पाथीभरा सुनचाँदी पसलमा ५५ हजारमा बेचेका रहेछन्। हामीले त्यसलाई बरामद गरेका छौँ।’
आचार्यका अनुसार उनले उक्त सिक्री वैशाख १३ गते ५५ हजारमा बेचेर झापातर्फ गएका थिए। प्रहरीले घटनाबारे अनुसन्धान गर्न डीआईजी किरण ब्रजाचार्यको नेतृत्वमा टिम खटाएको थियो।