नेपालमा जितविहीन बन्यो नामिबिया

हिमाल प्रेस ८ फागुन २०७९ १६:४८
8
SHARES
नेपालमा जितविहीन बन्यो नामिबिया

काठमाडौँ- नामिबियाले एकै खेल नजिती नेपाल भ्रमण टुंगाएको छ। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत कीर्तिपुरमा जारी शृंखलाको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डसँग ४३ रनले हारेसँगै नामिबिया जितबिना घर फर्कने पक्का भएको हो।

यो शृंखला अन्तगर्त स्कटल्यान्डसँगको पहिलो खेल १० विकेटले गुमाएको नामिबिया घरेलु टिम नेपालसँग दुवै खेल हारिसकेको छ। नामिबियालाई नेपालले पहिलो खेलमा दुई विकेट र दोस्रो खेलमा तीन विकेटले पन्छाएको थियो।

कीर्तिपुरस्थित टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४८.४ ओभरमा २२१ रन बनाएर अलआउट भएको थियो। स्कटल्यान्डबाट मध्यम लक्ष्य पाएको नामिबिया भने १७८ रनमै सीमित भयो।

स्कटिस टिमका लागि क्रिस्टोफर म्याकब्रिडले सर्वाधिक ४७ रन बनाए भने टोमस म्याकिन्टोस र कप्तान रिची बेरिङटनले क्रमशः ३४ र ३२ रनको योगदान गरेका थिए।

त्यसैगरी माइकल लिस्क र लियाम नेयलरले २९ र २० रन बटुलेका थिए।

स्कटल्यान्डलाई मध्यम लक्ष्यमा रोक्न नामिबियालाई रुबेन ट्रम्पेलमनले ३० रन खर्चिएर पाँच विकेट लिएका थिए। टान्गेनी लुंगामेनीले दुई विकेट लिँदा बेनार्ड, बेन शिकोंगो र पिक्की या फ्रान्सले एक–एक विकेट हात पारे।

नामिबियाका लागि ओपनर लो हान्द्रे लौउरेन्सले सर्वाधिक ५२ रन बनाएका थिए। ६७ बल सामना गर्दा उनले ६ चौका प्रहार गरेका थिए।

यो शृंखलामा स्कटल्यान्डविरुद्धको पहिलो खेलमा पनि उनले अर्धशतक प्रहार गरेका थिए। ले हान्द्रेबाहेक उल्लेखनीय रन बटुल्ने ब्याट्सम्यानमा कप्तान जेरहार्ड इरास्मस रहे। उनले ३८ बलमा ४३ रन बटुलेका थिए।

पराजित टिमका जेन ग्रिनले २५, शौन फाउचे र रुबेन ट्रम्पेलमानले १०–१०, जान निकोल लोफ्टी इटन र पिक्की या फ्रान्सले ६–६ रन बटुलेका थिए।

लिग-२ समीकरण

लगातारको चार हारपछि नामिबिया लिग–२ को तेस्रो स्थानमा यथावत छ। ३४ खेल खेलेको नामिबियाले हालसम्म ३७ अंक जम्मा गरेको छ। जुन दोस्रो स्थानको ओमानभन्दा सात अंकले कम र चौथो स्थानको अमेरिकाभन्दा दुई अंकले बढी हो। ओमान र अमेरिकाले लिग–२ का सबै खेल खेलिसकेका छन् भने नामिबियाले दुई खेल्न बाँकी छ।

नामिबियाले अब संयुक्त अरब इमिरेट्स यूएई सँग खेल्न बाँकी छ। हाल पाँचौँ स्थानमा रहेको यूएईले भने १० खेल खेल्न बाँकी छ। ती खेल नामिबियाबाहेक पपुवा न्यु गिनी र नेपालसँग हुनेछन्। छैटौँ स्थानको नेपालले भने नौ खेल खेल्न बाँकी छ।

लिग–२ को शीर्ष तीनमा रहनेले सिधैँ विश्वकप छनोट खेल्न पाउनेछन्। स्कटल्यान्ड सात टिमसम्मिलित लिग–२ को च्याम्पियन बन्दै छनोटका लागि छानिइसकेको छ। त्यसैगरी शीर्ष पाँचमा रहनेले एकदिवसीय मान्यता जोगाउनेछन्। शीर्ष तीनमा रही विश्वकप छनोट खेल्ने सम्भावना सकिइसकेकाले नेपालको लक्ष्य शीर्ष पाँचमा रहनेछ।

प्रकाशित: ८ फागुन २०७९ १६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =