वर्षाले प्रभावित खेलमा ओमानसँग नेपाल पराजित

हिमाल प्रेस १६ वैशाख २०८३ १८:३१ | Wednesday, April 29, 2026
8
SHARES
वर्षाले प्रभावित खेलमा ओमानसँग नेपाल पराजित तस्बिर : क्यान

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल १०२ रनले पराजित भएको हो।

जितका लागि ३०६ रनको लक्ष्य पछ्याएको नेपाल ३६ दशमलव ५ ओभरमा सात विकेट गुमाएर १५५ रन बनाउँदा वर्षा भएपछि खेल रोकिन पुगेको थियो। त्यसपछि पनि वर्षा नरोकिएपछि खेल सञ्चालन हुन सकेन र ‘डिएल मेथड’का आधारमा ओमान विजयी भएको हो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६० रनको योगदान दिए। उनले ६२ बलमा सात चौका र एक छक्का प्रहार गर्दै ६० रनको योगदान दिएका हुन्।

त्यसैगरी भीम सार्कीले २८, आसिफ शेखले १९ रनको योगदान दिए भने आरिफ शेख र गुल्सन झाले समान १४÷१४ रन जोडे। कप्तान रोहित पौडेलले १० रनमा आउट भए।

बलिङतर्फ ओमानका नदिम खानले तीन विकेट लिँदा शाकिल अहमदले दुई विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रनको योगफल बनाएको थियो।

ओमानको इनिङ्सका जतिन्दर सिंहले आक्रामक शैलीमा ९६ बलमा १५ चौका र ५ छक्का प्रहार गर्दै १३० रनको शानदार शतक पूरा गरे। उनीसँगै मध्यमक्रममा जितेन रमणन्दीले ४३ रन बनाए भने आर्यन विष्टले ३५ रन जोडे।

त्यस्तै हमाद मिर्जा ले ३० रन जोड्दा आशिष ओडेदाराले २३ रन बनाए। अन्तिम ओभरहरूमा विनायक शुक्लाले २३ रन थपे भने वसिम अली १२ रनमा अविजित रहे।

बलिङतर्फ नेपालका सोमपाल कामीले ९ ओभरमा ५९ रन खर्चेर ४ विकेट लिए। सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २/२ विकेट हात पारे।

नेपाल, यूएई र ओमानबीचको एकदिवसीय शृंखलाअन्तर्गत नेपालको यो दोस्रो खेल हो। यसअघि भएको पहिलो खेलमा भने नेपालले यूएईलाई हराएको थियो। अब नेपालले वैशाख १८ गते यूएईसँग खेल्नेछ।

प्रकाशित: १६ वैशाख २०८३ १८:३१ | Wednesday, April 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast