सत्ता गठबन्धन भत्किन सक्ने ओलीको चिन्ता

हिमाल प्रेस २ फागुन २०७९ १७:४९ | Tuesday, February 14, 2023
सत्ता गठबन्धन भत्किन सक्ने ओलीको चिन्ता फाइल तस्बिर।

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थिरता र स्थायित्व हुन नदिन अनेक प्रकारका षड्यन्त्र भइरहेको बताएका छन्। उनले मंगलबार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने, ‘यहाँ स्थिरता र स्थायित्व हुन नदिने खालका प्रयास भइरहेका छन्। त्यसका लागि अनेक प्रकारका शक्ति क्रियाशील छन्। अनेक प्रकारका षड्यन्त्र भइरहेका छन्।’

ओलीले संसद्को बनावट अस्थिरताको कारक हुने खालको रहेकाले गठबन्धन भत्किने शंका व्यक्त गरे। उनले भने, ‘संसद्को बनावट नै अस्थिरताको कारक हुने खालको छ। बहुमत कसैको छैन। त्यसैले अनेक प्रकारका, भित्रका, बाहिरका अनेक शक्ति यो देश बर्बाद पार्न क्रियाशील छन्।’

एमाले देशलाई बर्बाद पार्नबाट रोक्ने गेटपाले भएको भन्दै उनले सबैभन्दा पहिले एमालेमाथि प्रहार हुन सक्ने बताए। उनले भने, ‘देश बर्बाद पार्न सबभन्दा पहिले कुनै डाकाले बैंकमा डकैती गर्नपर्‍यो भने पहिले पालेलाई प्रहार गर्छ। एमाले देशमा डकैती गर्न नदिने गेटको पाले हो।’

उनले पाँचदलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाउनु सफलताको विषय भएको बताए।  अध्यक्ष ओलीले विगतमा नेपालको शिक्षालाई बुर्जुवा शिक्षा भनेर प्रचार गरिनु गलत भएको बताए। कसैले पनि संस्थागत रूपमा शिक्षालाई बुर्जुवा शिक्षाको उपमा दिएर बहिष्कार गर्न नभनेको भए पनि कुनै व्यक्तिको लहडको भरमा त्यसो भनिएको उनको भनाइ छ।

उनले अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरू राम्रोसँग पढेर राम्रो नतिजा ल्याउने खालको हुनुपर्नेमा जोड दिए। ‘हाम्रा विद्यार्थी भाइबैनीहरु, अनेरास्ववियुका भाइबैनीहरू ट्यालेन्ट हुनुपर्दछ।’

अध्यक्ष ओलीले आगामी स्ववियु निर्वाचनमा अनेरास्ववियु विजयी हुनेमा विश्वास व्यक्त गरे। उनले नेपाल विद्यार्थी संघले अनेरास्ववियुसँग प्रतिस्पर्धा गर्नै नसक्ने पनि बताए।  अध्यक्ष ओलीले अनेरास्ववियुको नेतृत्वका लागि सहमतिको प्रयास गर्न आग्रह गरे।

प्रकाशित: २ फागुन २०७९ १७:४९ | Tuesday, February 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast