नेपाली संस्कृति कमजोर गयो, सबै सजग हौँ : ओली

हिमाल प्रेस २३ कार्तिक २०८३ ११:२० | Monday, November 9, 2026
नेपाली संस्कृति कमजोर गयो, सबै सजग हौँ : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् ।

सोमवार भक्तपुरमा नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले आयोजना गरेको बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाली संस्कृतिमाथि हमला भइरहेको टिप्पणी गरेका हुन् । उनले साना देखिने सांस्कृतिक गतिविधिभित्र पनि ठूलो सामाजिक र सांस्कृतिक महत्त्व लुकेको हुने बताए।

समाज निर्माणमा संस्कृति, चाडपर्व, परम्परा, नीति, नियम, वाद्यवादन, नृत्य, सङ्गीत र खानपानको महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ छ । ओलीले मानिसलाई अन्य प्राणीभन्दा पृथक् बनाउने आधार नै सामाजिक जीवन र त्यसले निर्माण गरेका मूल्य, मान्यता तथा परम्परा भएको उल्लेख गरे । समाजले आफ्नो आवश्यकता र जीवनशैलीअनुसार विभिन्न चाडपर्व, परिकार, गीत तथा नृत्यको विकास गरेको उनले बताए । खेतीपाती शुरु गर्ने र बाली भित्र्याउने समयदेखि जन्म, विवाह र मृत्युका अवसरसम्म समाजले फरकफरक परम्परा र संस्कार विकास गरेको उनको भनाइ छ ।

उनले भने, ‘आज हाम्रो संस्कृति कमजोर हुँदै गएको अवस्थामा हामी सबै नेपाली सचेत र सजग हुन आवश्यक छ । साना देखिने सांस्कृतिक परम्पराभित्र पनि गहिरो अर्थ र महत्त्व लुकेको हुन्छ । मानिस सामाजिक प्राणी भएकाले उसले समाजलाई व्यवस्थित र समृद्ध बनाउन नीति, नियम, ऋतिरिवाज, चाडपर्व, वाद्यवादन, नृत्य, सङ्गीत र विभिन्न परिकारहरूको विकास गरेको हो । हाम्रा चाडपर्वहरू प्रकृति, कृषि, जन्म, विवाह, मृत्यु, सुख र दुःखसँग जोडिएका छन्। यी परम्पराले आपसी सद्भाव, एकता र सहकार्यलाई बलियो बनाउँदै हाम्रो समाज, संस्कृति र सभ्यताको पहिचान निर्माण गरेका छन् । त्यसैले आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै तिनलाई उल्लास र उत्साहका साथ निरन्तरता दिनु हामी सबैको दायित्व हो ।’

यस्ता सांस्कृतिक परम्पराले समाजलाई सुखदुस्खमा एकतावद्ध बनाउने भन्दै ओलीले तिनको संरक्षण र निरन्तरता आवश्यक रहेको बताए। नेपालीहरूले आफ्ना चाडपर्व र संस्कृतिलाई उल्लास तथा उत्साहका साथ मनाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित: २३ कार्तिक २०८३ ११:२० | Monday, November 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast