नवलपरासी- पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप चालकको मृत्यु भएको छ।
सडक किनारमा रोकेर टायर फेर्दै गरेको बा प्र ०१-०३० च १०९७ नम्बरको पिकअपलाई गैँडाकोटबाट बुटवलतर्फ जाँदै गरेको बा प्र ०६-००१ ख ०४५० नम्बरको ट्रकले आज दिउँसो पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका पिकअप चालक मकवानपुरको हेटौँडाका ३० वर्षीय अमर देउलाको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनापछि उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पुर्याइएका देउलालाई चिकित्सकले मृत घोषणा गरेका थिए। ठक्कर दिने ट्रक र त्यसका चालक मकवानपुरको मनहरि गाउँपालिका-५ का ३० वर्षीय खुसिलाल घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घलानविरुद्ध सवारी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक पण्डितले बताए।



