सुर्खेत- कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई शान्तिपूर्ण, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न विशेष सुरक्षा रणनीति तयार गरिएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र सुरक्षा निकायका प्रमुखहरूबीच आज भएको समन्वय बैठकले प्रतियोगिताको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन विशेष योजना बनाएको हो।
यही मंसिर १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिमा प्रतियोगिताको औपचारिक उद्घाटन हुँदैछ।
उद्घाटन समारोहलाई लक्षित गरी विशिष्ट व्यक्तिको आगमन, खेलाडी तथा खेल पदाधिकारीको आवास र दर्शकको उपस्थितिलाई ध्यानमा राखेर सम्भावित सुरक्षा चुनौतीबारे छलफल गरिएको प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले जानकारी दिए।
उनका अनुसार प्रतियोगिताभर सुरक्षा निकायबीच निरन्तर समन्वय, सूचनाको शीघ्र आदानप्रदान र आवश्यकताअनुसार संयुक्त सुरक्षा टोली परिचालन गरिनेछ।
सुरक्षा योजनामा रंगशालाको प्रवेश तथा निकास व्यवस्थापन, भीड नियन्त्रण, पार्किङ र ट्राफिक व्यवस्थापन, सिसिटिभी निगरानी, नियमित गस्ती, विशिष्ट अतिथिको सुरक्षा तथा स्कर्टिङलाई प्राथमिकता दिइएको छ।
प्रतियोगिता शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सुरक्षा निकाय, प्रशासन र आयोजकबीच प्रभावकारी सहकार्य आवश्यक रहेको मन्त्री मल्लले बताए।
मंसिर २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
बैठकमा सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल, प्रदेश सरकारका प्रमुख सचिव राधिका अर्याल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता, प्रधानमन्त्रीको मिडिया व्यवस्थापन संयोजक दिपा दाहाल, प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटालगायत प्रदेश सरकारका उच्च पदाधिकारी, सुरक्षा निकायका प्रमुख तथा खेलकुद क्षेत्रका प्रतिनिधिको सहभागिता थियो।



