सुर्खेत- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडी विधाको तेस्रो दिन बिहीबार पाँच नयाँ राष्ट्रिय कीर्तिमान कायम भएका छन्। पदक तालिकामा बागमती प्रदेशले आफ्नो अग्रतालाई कायमै राखेको छ।
नेपालगञ्ज रंगशालास्थित पौडी पोखरीमा जारी प्रतियोगितामा बागमती प्रदेशले १२ स्वर्ण, ७ रजत र ७ कास्य गरी कुल २६ पदक जित्दै शीर्ष स्थान कायम गरेको छ। दोस्रो स्थानमा रहेको एनआरएनए टोलीले ९ स्वर्ण, ३ रजत र ३ कास्य गरी कुल १५ पदक जितेको छ।
त्यस्तै, तेस्रो स्थानमा रहेको नेपाल आर्मी क्लबले ६ स्वर्ण, १० रजत र १३ कास्य गरी कुल २९ पदक जितेको छ। नेपाल पुलिस क्लब ४ स्वर्ण, ११ रजत र १२ कास्य गरी कुल २७ पदकसहित चौथो स्थानमा छ। पाँचौँ स्थानमा रहेको कोशी प्रदेशले २ स्वर्ण जित्दा छैटौँ स्थानको सुदूरपश्चिम प्रदेशले १ स्वर्ण, ३ रजत र १ कास्य गरी कुल ५ पदक जितेको छ।
अभिभ प्रधानको नाममा दुई राष्ट्रिय कीर्तिमान
पुरुष १०० मिटर बटरफ्लाईमा बागमती प्रदेशका अभिभ प्रधानले ५८.२२ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जिते। यस क्रममा उनले सन् २०२५ मा अनुभव सुब्बाले बनाएको ५९.५४ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोडे। यसै स्पर्धामा रजत पदक जितेका नेपाल पुलिस क्लबका इर्भिन श्रेष्ठले पनि ५९.०४ सेकेन्डको समय निकाल्दै पुरानो कीर्तिमानभन्दा उत्कृष्ट प्रदर्शन गरे। आर्मीका सौर्यबहादुर सिंहले १ मिनेट ००.५३ सेकेन्डमा दूरी पूरा गर्दै कास्य पदक जिते।
पुरुष २०० मिटर ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले आफ्नै नाममा रहेको पुरानो कीर्तिमान सुधार गर्दै २ मिनेट ३४.३६ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते। सुदूरपश्चिमका अर्थभ सिंहले २ मिनेट ४०.०५ सेकेन्डमा दूरी पूरा गर्दै रजत र पुलिसका जडेन श्रेष्ठले २ मिनेट ४४.९६ सेकेन्डमा दूरी पूरा गर्दै कास्य पदक जिते।
पुरुष ५० मिटर ब्याकस्ट्रोकमा पनि अभिभ प्रधानले अर्को राष्ट्रिय कीर्तिमान बनाए। उनले २८.९५ सेकेन्डमा दूरी पूरा गर्दै आफ्नै नाममा रहेको २८.९९ सेकेन्डको पुरानो कीर्तिमान सुधार गरे। आर्मीका जडेन श्रेष्ठले २९.९० सेकेन्डमा दूरी पूरा गर्दै रजत र बागमतीका रेअन्तबहादुर श्रेष्ठले २९.९२ सेकेन्डमा दूरी पूरा गर्दै कास्य पदक जिते।
४ गुणा १०० मिटर फ्रिस्टायल रिलेमा बागमती प्रदेशले नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्यो। रेअन्त श्रेष्ठ, आरिक कर्माचार्य, वशिष्ठराज शाही र अभिभ प्रधान सम्मिलित टोलीले ३ मिनेट ४५.७५ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जित्यो। यसअघि सन् २०२५ मा अभिभ प्रधान, जडेन श्रेष्ठ, रेअन्त श्रेष्ठ र अल्भिन महर्जनको नाममा ३ मिनेट ४७.७३ सेकेन्डको कीर्तिमान थियो। नेपाल पुलिस क्लबले ३ मिनेट ५१.७५ सेकेन्डमा दूरी पूरा गर्दै रजत र आर्मीले ३ मिनेट ५५.९७ सेकेन्डमा दूरी पूरा गर्दै कास्य पदक जिते।
अन्य स्पर्धाका नतिजा
पुरुष ४०० मिटर फ्रिस्टायलमा नेपाल पुलिस क्लबका काल्किन श्रेष्ठले ४ मिनेट २०.११ सेकेन्डको समयसहित स्वर्ण पदक जिते। पुलिसकै मयोन श्रेष्ठले ४ मिनेट ३०.८८ सेकेन्डमा दूरी पूरा गर्दै रजत र सुदूरपश्चिमका अर्थभ सिंहले ४ मिनेट ३२.८१ सेकेन्डमा दूरी पूरा गर्दै कास्य पदक जिते।
महिला २०० मिटर इन्डिभिज्युअल मिड्लेमा एनआरएनए टोलीकी लिलीले २ मिनेट ३३.६७ सेकेन्डको समयसहित स्वर्ण पदक जितिन्। आर्मीकी डुआना लामाले २ मिनेट ३३.८९ सेकेन्डमा दूरी पूरा गर्दै रजत र एनआरएनएकी मिखा काया थापाले २ मिनेट ४६.९४ सेकेन्डमा दूरी पूरा गर्दै कास्य पदक जितिन्।
महिला १०० मिटर बटरफ्लाईमा आर्मीकी डुआना लामाले १ मिनेट १०.४३ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जितिन्। एनआरएनएकी लिलीले १ मिनेट १२.०३ सेकेन्डमा दूरी पूरा गर्दै रजत र पुलिसकी देभान्सीले १ मिनेट १६.२६ सेकेन्डमा दूरी पूरा गर्दै कास्य पदक जितिन्।
महिला २०० मिटर ब्रेस्टस्ट्रोकमा पनि आर्मीकी डुआना लामाले स्वर्ण पदक जितिन्। उनले २ मिनेट ४९.३४ सेकेन्डमा दूरी पूरा गरिन्। एनआरएनएकी लिलीले २ मिनेट ५८.६४ सेकेन्डमा दूरी पूरा गर्दै रजत र आर्मीकी रितिका भूमिले ३ मिनेट ०३.५२ सेकेन्डमा दूरी पूरा गर्दै कास्य पदक जितिन्।
महिला ५० मिटर ब्याकस्ट्रोकमा एनआरएनएकी मिखा काया थापाले ३३.२७ सेकेन्डको समयसहित स्वर्ण पदक जितिन्। बागमतीकी आर्या महर्जनले ३३.४३ सेकेन्डमा दूरी पूरा गर्दै रजत र पुलिसकी देभान्सीले ३४.११ सेकेन्डमा दूरी पूरा गर्दै कास्य पदक जितिन्।
महिला ४ गुणा २०० मिटर फ्रिस्टायल रिलेमा आर्मीले ९ मिनेट ५८.७३ सेकेन्डको समयसहित स्वर्ण पदक जित्यो। बागमतीले १० मिनेट ०७.५२ सेकेन्डमा दूरी पूरा गर्दै रजत र पुलिसले १० मिनेट ४१.८६ सेकेन्डमा दूरी पूरा गर्दै कास्य पदक जित्यो।
बिहीबारको अन्तिम स्पर्धा ४ गुणा ५० मिटर मिड्ले रिलेमा आर्मीले १ मिनेट ५६.०८ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जित्यो। बागमतीले १ मिनेट ५७.५३ सेकेन्डमा दूरी पूरा गर्दै रजत र पुलिसले १ मिनेट ५८.६४ सेकेन्डमा दूरी पूरा गर्दै कास्य पदक जित्यो।
यससँगै पौडीको तेस्रो दिन बागमती प्रदेशले पदक तालिकामा अग्रता कायम राख्दा अभिभ प्रधान दुई व्यक्तिगत स्पर्धामा राष्ट्रिय कीर्तिमान कायम गर्दै दिनका प्रमुख खेलाडी बने।



