प्रधानमन्त्री बालेनको यस्तो छ भारत भ्रमण तालिका

हिमाल प्रेस ४ मंसिर २०८३ ११:५४ | Friday, November 20, 2026
प्रधानमन्त्री बालेनको यस्तो छ भारत भ्रमण तालिका

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आइतबार भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको भारत भ्रमण मंसिर ६ देखि ७ गतेसम्म हुने जानकारी दिएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको विमानबाट आइतबार नयाँदिल्ली प्रस्थान गर्नेछन्।

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी सहभागी हुने मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्। भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। मोदीले प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ। त्यस्तै भारतीय विदेशमन्त्री एस जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन्।

मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल र भारतबीचको व्यापक सहकार्यको साझेदारीको समीक्षा हुनेछ। दुवै देशका जनताको पारस्परिक हित अभिवृद्धि गर्ने दृष्टिकोणसहित सहकार्यका विविध क्षेत्रमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाह सोमबार स्वदेश फर्कने कार्यक्रम छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast