राजेश हमाल भन्छन् : परराष्ट्र नीतिमा सम्झौता नगरियोस्

हिमाल प्रेस ९ कार्तिक २०८३ १७:३३ | Monday, October 26, 2026
12
SHARES
राजेश हमाल भन्छन् : परराष्ट्र नीतिमा सम्झौता नगरियोस् राजेश हमाल

काठमाडौँ- नेपाली फिल्म उद्योगका अभिनेता राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारतसम्बन्धी अभिव्यक्तिमाथि टिप्पणी गर्दै नेपालको परराष्ट्र नीति राष्ट्रिय सार्वभौमसत्ता, गरिमा र दीर्घकालीन सिद्धान्तमा आधारित हुनुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमा सोमबार आफ्नो धारणा सार्वजनिक गर्दै हमालले अर्थमन्त्रीले आफ्नो मन्त्रालयको कार्यक्षेत्रको सीमासमेत नाघेर अभिव्यक्ति दिएको देखिएको उल्लेख गरेका छन्। उनका अनुसार यस्तो अभिव्यक्तिले नेपालको लामो समयदेखि अवलम्बन गर्दै आएको सिद्धान्तनिष्ठ परराष्ट्र नीतिको आधारमा असर पार्न सक्छ।

अर्थमन्त्री वाग्लेले गत साता नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिटमा ‘भारतविरोधी राष्ट्रवादको युग सकिएको’ बताएका थिए। उनको उक्त अभिव्यक्तिलाई लिएर नेपालमा पक्ष र विपक्षमा बहस भइरहेका बेला हमालले पनि आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

हमालले नेपालको परराष्ट्र नीतिलाई कुनै व्यक्तिको स्वविवेक वा राजनीतिक स्वार्थपूर्तिको साधन बनाउन नहुने लेखेका छन्। कुनै पनि पदाधिकारीले आफ्ना अभिव्यक्ति वा सर्तमार्फत नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा आँच आउने गरी राष्ट्रिय सार्वभौमसत्ता र गरिमामा सम्झौता गर्न नहुने उनको भनाइ छ।

नेपाल-भारत सम्बन्ध भूगोल, इतिहास, संस्कृति र जनस्तरको आपसी सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै हमालले यसलाई सुदृढ बनाउनु स्वाभाविक र आवश्यक भएको उल्लेख गरेका छन्। छिमेकीसँगको सम्बन्ध बलियो बनाउने इमानदार प्रयासको स्वागत गर्नुपर्ने भए पनि राष्ट्रिय अडान प्रस्तुत गर्दा कूटनीतिक विवेक, गरिमा र सन्तुलन कायम राख्नुपर्ने उनको धारणा छ।

‘नेपाल-भारत सम्बन्ध ऐतिहासिक रूपमा यति महत्त्वपूर्ण र रणनीतिक रूपमा यति संवेदनशील छ कि यसलाई व्यक्तिगत चाकरीका हाउभाउ वा सार्वजनिक उपहास निम्त्याउने अभिव्यक्तिमा सीमित गर्न मिल्दैन,’ हमालले लेखेका छन्।

उनले नेपाल-भारत सम्बन्धमा समाधान हुन बाँकी सीमा विवाद र आर्थिक परनिर्भरताजस्ता विषय पनि रहेको स्मरण गराएका छन्। यस्ता विषयमा सरकारले अस्पष्ट भाषणबाजी र देखावटी प्रतिबद्धताभन्दा स्थापित कूटनीतिक माध्यम, प्रमाण र सौहार्दपूर्ण संवादमार्फत आफ्नो धारणा स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने उनको सुझाव छ।

छिमेकीसँगको मित्रता र सार्वभौमसत्ताप्रतिको प्रतिबद्धता परस्पर विरोधी नभई एकअर्काका पूरक दायित्व भएको उल्लेख गर्दै हमालले स्वतन्त्र पहिचान र राष्ट्रिय हितप्रतिको स्पष्टताले नै नेपाललाई भरपर्दो साझेदार बनाउने बताएका छन्।

भारतको विरोध गरेर राष्ट्रवादी र प्रशंसा गरेर अब्बल नेता बनिँदैन

भारतको विरोध गर्दैमा राष्ट्रवादी हुने दिन गयो : अर्थमन्त्री वाग्ले


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast