भारतको विरोध गरेर राष्ट्रवादी र प्रशंसा गरेर अब्बल नेता बनिँदैन

हिमाल प्रेस ८ कार्तिक २०८३ २२:०९ | Sunday, October 25, 2026
10
SHARES
भारतको विरोध गरेर राष्ट्रवादी र प्रशंसा गरेर अब्बल नेता बनिँदैन

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा ‘भारतविरोधी राष्ट्रवादको युग सकिएको’ बताएपछि नेपालमा बहस चर्किएको छ। यो बहस भारतको विरोध गर्ने कि प्रशंसा गर्ने भन्नेमा सीमित नभएर नेपाली नेताहरू भारतसँगको सम्बन्धलाई राष्ट्रिय स्वार्थको आँखाले हेर्छन् कि सत्तास्वार्थ, राजनीतिक सुविधा र व्यक्तिगत लाभको चस्माले हेर्छन् भन्नेमा केन्द्रित देखिएको हो।

भारतको विरोध गर्दैमा कोही राष्ट्रवादी ठहरिँदैन, न भारतको प्रशंसा गर्दैमा कूटनीतिक कौशल प्रमाण मिल्छ। राष्ट्रवादको असली परीक्षा भारतप्रतिको बोलीमा होइन, व्यवहारमा देखिन्छ। नेपालको हितमा अडान लिन सक्ने क्षमता, असमानता देखिए प्रश्न उठाउने साहस र राष्ट्रिय स्वार्थमा सम्झौता नगर्ने प्रतिबद्धता भएका नेता मात्रै कूटनीतिक रूपमा सफल हुन सक्छन्। नयाँदिल्लीमा आयोजित एनडीटीभी वर्ल्ड समिटमा वाग्लेले दिएको अभिव्यक्तिले नेपालको भारत नीति राष्ट्रिय हितबाट निर्देशित छ कि भारतसँगको सम्बन्धलाई आफ्नो राजनीतिक लाभका लागि उपयोग गर्ने प्रवृत्तिबाट? भन्ने प्रश्न उठेको हो।

उनले जे कुरा बोलिरहेका थिए, त्यो नेपालमै भनेको भए त्यसको अर्थ हुने थियो। तर उनले त्यही विषय भारतमा बोले, जुन कूटनीतिक भूल रहेको कूटनीतिक क्षेत्रका अध्येताहरू बताउँछन्। कूटनीतिमा कैयौँ विषय कहाँ र कसरी प्रस्तुत गरिन्छन् भन्ने कुराले अर्थ राख्छ। वाग्लेले सोधेको प्रश्नमा भारतीय परराष्ट्रमन्त्री जयशंकरले यो कुनै द्विपक्षीय संवाद नभई एउटा कार्यक्रममा धारणा राखिरहेको विषय भएको बताएका थिए।

वाग्लेको भनाइ र यसको सन्दर्भ

अर्थमन्त्री वाग्लेले समिटमा भारतविरोधी भावनालाई नेपाली राष्ट्रवादसँग जोड्ने समय सकिएको बताए। भारतको आर्थिक प्रगतिबाट नेपालले पनि लाभ लिनुपर्ने र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने उनको आशय थियो।

वाग्ले नयाँ पुस्ताको प्राथमिकता आर्थिक विकास, रोजगारी, सुशासन र असल छिमेकी सम्बन्धमा रहेको बताए। ‘हाम्रो पुस्ता भिन्न छ। हामीले विश्व देखेका छौँ, हाम्रा आकांक्षा आर्थिक छन्,’ उनले भने।

वाग्लेको भनाइको एउटा पक्षमा असहमत हुनुपर्ने कारण छैन। भारत नेपालको महत्त्वपूर्ण छिमेकी हो। भौगोलिक निकटता, खुला सीमा, धार्मिक तथा सांस्कृतिक सम्बन्ध, पारिवारिक आवागमन, व्यापार र रोजगारीले दुई देशलाई जोडेको छ।

भारतसँगको सम्बन्ध राम्रो बनाउनु नेपालको आवश्यकता हो। नयाँ सरकारको प्राथमिकता सम्बन्ध सुदृढ गर्ने भन्ने सन्देश दिनु स्वाभाविक पनि हो।

प्रश्न सम्बन्ध राम्रो बनाउने कि नबनाउने भन्ने होइन। सम्बन्ध सुधार्ने नाममा नेपालको राष्ट्रिय स्वार्थलाई कसरी प्रस्तुत गरिन्छ र त्यसका लागि नेतृत्वले कस्तो कूटनीतिक शैली अपनाउँछ भन्ने हो। विदेशी मञ्चमा राष्ट्रिय भावनालाई संकुचित रूपमा प्रस्तुत गर्दा त्यसले स्वदेशमा कस्तो सन्देश दिन्छ भन्ने पनि उत्तिकै महत्त्वपूर्ण छ।

वाग्लेको अभिव्यक्तिले भारतसँगको सहकार्यका सम्भावना देखाएको छ, तर त्यसलाई राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने रूपमा पनि व्याख्या गरिएको छ।

पूर्वपरराष्ट्रमन्त्री एवं राप्रपाका नेता कमल थापाले वाग्लेको अभिव्यक्तिलाई नेपाली राष्ट्रियतामाथिको ‘ठाडो अवमूल्यन’ भन्दै आपत्ति जनाएका छन्। थापाले सामाजिक सञ्जालमार्फत नेपालको राष्ट्रवाद कहिल्यै कुनै मुलुकविशेषको विरोधमा नटिकेको बताएका छन्।

‘विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्दै राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने वाग्लेको तर्क पूर्णतया गैरजिम्मेवार छ,’ थापाको भनाइ छ, ‘कि सीमा मिचिने, डुबान हुने वा नाकाबन्दीजस्ता ज्यादतीविरुद्ध बोल्नु भारतविरोध होइन, राष्ट्रप्रतिको अविभाज्य निष्ठा हो।’

‘के राष्ट्रहितमा उठ्ने यी आवाजहरू अब असान्दर्भिक भइसकेका हुन्?’ भन्ने उनको प्रश्नले बहसलाई तिखो बनाएको छ। थापाले वाग्लेको भनाइलाई विगतमा उनले अघि सारेको भनिएको ‘मुनरो डक्ट्रिन’ सँग जोडेर पनि प्रश्न उठाएका छन्।

एमाले नेता गोकुल बास्कोटाले पनि वाग्लेको भनाइलाई ‘भारत पुगेपछि नेपाल राष्ट्रविरुद्ध छाद्ने’ प्रवृत्ति र ‘बौद्धिक ज्ञानको टाट पल्टाइ’ भन्दै आलोचना गरेका छन्।

यी प्रतिक्रियाले के देखाउँछन् भने मुद्दा वाग्लेको व्यक्तिगत भनाइको होइन, नेपालमा भारतसँगको सम्बन्धलाई कसरी परिभाषित गरिन्छ भन्ने पुरानो राजनीतिक भाष्यको हो।

केही सञ्चारकर्मी र सामाजिक सञ्जालमा सक्रिय आमनागरिकले पनि नेपाली राजनीति र नेतृत्वको दोहोरो चरित्रबारे टिप्पणी गरेका छन्। उनीहरूको विश्लेषणमा नेताहरूले देशभित्र एकथरी र विदेशमा अर्कोथरी भाषा बोल्ने प्रवृत्तिले जनविश्वासलाई कमजोर बनाएको देखिन्छ। वाग्लेले पनि पुरानै नेताको शैलीमा आफूलाई अघि बढाएको स्पष्ट छ। उनी भारतलाई खुसी पार्न त्यसको गुणगान गाए हुन्छ भन्ने सोचमा छन्। यो गलत हो। भारतले आफूले नेपाललाई गरेको सहयोगको मात्र चर्चा गर भन्दै आएका घटनासमेत छन्।

पुरानो राजनीतिक भाष्य र दोहोरो चरित्र

भारतको विरोध गर्दैमा राष्ट्रवादी भइने पुरानो राजनीतिक भाष्य आफैँमा गलत छ। त्यही भाष्यबाट जीविकोपार्जन गर्नेहरू पनि छन्। भारतसँग असहमत हुनेबित्तिकै भारतविरोधी भइन्छ भन्ने सोच पनि त्यत्तिकै गलत हो। सीमा विवाद, व्यापार तथा पारवहनमा निर्भरता, सन् २०१५ को अघोषित नाकाबन्दी, जसबारे पछि भारतकै संसद्‌मा बहस भएको थियो। नेपालको सार्वभौमिकतासँग जोडिएका संवेदनशील विषय उठाउनु भारतको विरोध होइन।

ती विषयलाई वार्तामार्फत समाधान गर्न खोज्नु परिपक्व कूटनीति हो। राष्ट्रवादको अर्थ कुनै छिमेकीको विरोध गर्नु होइन, आफ्ना नागरिकको हित, राष्ट्रिय स्वाधीनता र निर्णय गर्ने क्षमताको रक्षा गर्नु हो। त्यसैले भारतको विरोध गरेर राष्ट्रवादी देखिने र भारतको प्रशंसा गरेर सम्बन्ध सुधार्ने तथा आफू माथि पुग्न अर्कोलाई पछारेर श्रेय लिन खोज्ने दुवै प्रवृत्तिको परीक्षण एउटै प्रश्नबाट हुनुपर्छ- नेपालले के पायो?

नेपाली राजनीतिमा भारतसँगको सम्बन्धलाई लिएर एउटा पुरानो विरोधाभास छ। स्वदेशमा राजनीतिक लाभका लागि भारतको चर्को विरोध गर्ने, राष्ट्रवादको भावना उरालेर जनसमर्थन जुटाउने र सत्तामा पुगेपछि भारतसँग निकटता बढाउन खोज्ने प्रवृत्ति नयाँ होइन। वाग्लेले पनि त्यही प्रवृत्ति पछ्याए।

अर्कोतिर, भारतसँग राम्रो सम्बन्ध बनाउनु आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्ने उपाय हो भन्ने मनोविज्ञान पनि नेपाली नेतृत्वमा देखिन्छ। भारतलाई खुसी पार्न सकियो भने सत्ता र शक्ति प्राप्त गर्न सहज हुन्छ भन्ने सोच सही हुन्थ्यो भने भारतीय नेतृत्वसँग निकट देखिएका सबै नेपाली नेता सधैँ सत्ताको केन्द्रमा रहनुपर्ने थियो।

विभिन्न कालखण्डमा नेताहरूको भारतसँगको निकटताबारे चर्चा भएको छ। तर व्यक्तिगत सम्बन्ध वा निकटताकै कारण कसैले नेपालमा सत्ता प्राप्त गर्छ भन्ने निष्कर्ष निकाल्नु यथार्थपरक हुँदैन। भारतले नेपालको भूभाग छुट्याएर आफूअनुकूल बनाउँछ भन्ने भाषा प्रयोग गर्नु पनि राम्रो होइन। हाम्रा नेताहरू आफूलाई राष्ट्रवादी देखाउन भारतको विरोध गर्छन्। राजनीतिमा ‘यति त बोल्नैपर्‍यो’ भनेर भारतलाई लक्षित गर्दै बोल्ने, अनि भारतले सोध्नै नपर्ने वा चासोसमेत नदिएको विषयमा पनि ‘त्यस्तो होइन’ भन्दै आफूलाई बढी नै उदार देखाउने काम नेताहरूबाट हुन्छ। यस्तो प्रवृत्ति अहिले पनि देखियो।

नेपालको आन्तरिक राजनीतिमा जनमत, निर्वाचन, दलगत शक्ति सन्तुलन र नेतृत्वको आफ्नै भूमिका हुन्छ। भारतले पनि नेपालमा आफ्नो प्रभाव कायम राख्न कुनै एक नेतासँगको व्यक्तिगत सम्बन्धमा मात्र भर पर्दैन। अहिले वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाललाई भारतसँग आफूहरू निकट रहेको लागेको होला। अन्य कुनै मन्त्रीलाई पनि त्यस्तो लाग्न सक्छ। तर त्यो सही होइन।

भारतले आफ्नो सुरक्षा, आर्थिक हित, क्षेत्रीय प्रभाव र दीर्घकालीन रणनीतिलाई हेर्छ। त्यसअनुरूप आफूअनुकूलका व्यक्तिहरूसँग जानकारी लिने काम पनि गर्छ। भारतले त्यति पनि नगर्ने हो भने उदाउँदो अर्थतन्त्र भएको देश भारत यस क्षेत्रमा शक्तिशाली हुँदै विश्वमा कसरी राजनीतिक खेलाडी बन्न सक्छ? भारतको सोच पनि पक्कै यही हो।

अन्य मुलुकले जस्तै भारतले पनि आफ्नो राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिन्छ। यसमा अस्वाभाविक केही छैन। अस्वाभाविक त नेपालका नेताहरूले आफ्नो राष्ट्रिय स्वार्थ स्पष्ट पार्न नसक्नु हो। भारतले आफ्नो हित हेर्छ भने नेपालले पनि आफ्नै हित हेर्नुपर्छ। भारतले आफ्नो पक्षमा वार्ता गर्छ भने नेपालले पनि आफ्नो पक्षमा दृढतापूर्वक वार्ता गर्न सक्नुपर्छ। कूटनीतिमा मित्रता महत्त्वपूर्ण हुन्छ, तर मित्रता र आत्मसमर्पण एउटै कुरा होइनन्।

प्रधानमन्त्रीको भ्रमण र राष्ट्रिय हितको प्राथमिकता

नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको इतिहासलाई फर्केर हेर्दा एउटा असहज प्रश्न उठ्छ- हाम्रा नेताहरूले भारतीय नेतृत्वसँगको भेटमा नेपालको राष्ट्रिय हितलाई कति प्राथमिकता दिए? बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीले भारतसँगको सम्बन्धमा नेपालको राष्ट्रिय सरोकारलाई प्राथमिकता दिएको प्रसंग उल्लेख गर्दै अन्य प्रधानमन्त्रीहरूको भ्रमणमा देशका मुद्दाभन्दा व्यक्तिगत तथा राजनीतिक अपेक्षाले बढी ठाउँ पाएको आलोचना हुने गरेको छ।

यससम्बन्धी प्रत्येक भ्रमणको अभिलेख र वार्ताभन्दा पनि जारी भएका द्विपक्षीय वक्तव्य नियाल्दा त्यस्तो आभास हुन्छ। सामान्यभन्दा सामान्य कुरा पनि वक्तव्यमा राख्ने र त्यसलाई लामो बनाउने काम भएका थिए। तर नेपाली नेताहरूले भारत भ्रमणलाई राष्ट्रिय हितका विषय उठाउने अवसरभन्दा व्यक्तिगत सम्बन्ध विस्तार गर्ने माध्यम बनाउने गरेको आलोचना अस्वीकार गर्न सकिने आधार कत्ति पनि छैन।

भ्रमण दलमा जाने सदस्यहरूले पनि यस्ता विषय उठाइरहेका हुन्छन्। कतिपय नेताहरूले आफ्ना नातागोताका व्यक्तिलाई व्यवसायमा सहयोग गरिदिन वा छोराछोरी तथा आफन्तको अध्ययनका लागि अवसर र कोटा मिलाइदिन आग्रह गर्ने गरेको चर्चा पनि हुने गरेको छ। यस्ता आरोपलाई सम्बन्धित व्यक्ति वा घटनासँग जोडेर प्रस्तुत गर्नुको सट्टा उनीहरूका आफन्तको अध्ययन, व्यापार र सहकार्य नियाल्न सकिन्छ।

यस्ता प्रसंगले उठाउने सैद्धान्तिक प्रश्न भने स्पष्ट छ- देशको प्रधानमन्त्रीले अर्को देशको नेतृत्वसँग भेट्दा आफ्नो प्राथमिकता के बनाउने? प्रधानमन्त्रीको भारत भ्रमण आफन्तका लागि व्यावसायिक अवसर खोज्ने, व्यक्तिगत सम्बन्धबाट लाभ लिने वा राजनीतिक भविष्य सुरक्षित गर्ने माध्यम बन्नु हुँदैन। महत्त्वाकांक्षा बढी भएका र पृष्ठभूमि पनि नेपालको माया र सम्मानभन्दा अन्यत्र बढी जोडिएका व्यक्तिहरूले कूटनीतिक लबिङ गर्छन् र देश बनाउँछन् भनेर ढुक्क हुनु गलत हो।

त्यस्तो भ्रमणमा सीमा समस्या, व्यापार घाटा, पारवहन, ऊर्जा व्यापार, लगानी, नेपाली उत्पादनको बजार पहुँच र दुई देशबीचका असमझदारी प्राथमिकतामा पर्नुपर्छ। भारतले यस्ता अनौपचारिक भेटवार्तामा भएका कुराकानी सार्वजनिक नगर्न सक्छ। कूटनीतिक मर्यादा, गोपनीयता र आपसी विश्वासका कारण सबै संवाद सार्वजनिक गरिँदैनन्। तर सार्वजनिक गरिएन भन्दैमा कुनै विशेष घटना भएको प्रमाणित हुँदैन भनेर ठान्न पनि मिल्दैन।

मूल प्रश्न भारत वा नेपालले के सार्वजनिक गर्‍यो भन्ने होइन। हाम्रा मन्त्री र प्रधानमन्त्रीले आफ्नो देशका लागि के मागे, के उपलब्धि हासिल गरे र नेपाली जनताले त्यसबाट के लाभ पाए भन्ने हो। नेताहरूको विदेश भ्रमणको मूल्याङ्कन उनीहरूले खिचाएका तस्बिर, गरेका भेटघाट वा व्यक्त गरेका सद्भावका शब्दबाट होइन, राष्ट्रिय हितमा प्राप्त उपलब्धिबाट हुनुपर्छ।

भारतको नीति बुझ्ने कि प्रशंसा गर्ने?

नेपालका नेताहरूले भारतलाई बुझ्न नसक्दा पनि समस्या भएको छ। भारतलाई कहिले नेपालको सबै समस्याको कारणका रूपमा प्रस्तुत गरिन्छ, कहिले सबै समस्याको समाधान भारतसँगको निकटतामा खोजिन्छ। दुवै दृष्टिकोण अपूर्ण छन्। भारतको आफ्नै विदेश नीति, सुरक्षा चासो र रणनीतिक स्वार्थ छन्।

चीनसँगको प्रतिस्पर्धा, अमेरिकासँगको सम्बन्ध, दक्षिण एसियामा आफ्नो प्रभाव र सीमावर्ती क्षेत्रको सुरक्षा भारतका प्राथमिकता हुन्। नेपालसँगको सम्बन्धमा पनि उसले आफ्नै हित हेर्छ। त्यसैले भारतले नेपालका सबै अपेक्षा पूरा गरिदिन्छ भन्ने सोच यथार्थपरक होइन। तर भारतले आफ्नो स्वार्थ हेर्छ भन्दैमा उसले नेपालको हितविपरीत जे पनि गर्छ भन्ने निष्कर्ष निकाल्नु पनि गलत हुन्छ।

कूटनीति भनेको अर्को मुलुकको नियतमाथि निरन्तर शंका गर्नु होइन, उसको स्वार्थ बुझेर आफ्नो स्वार्थको रक्षा गर्नु हो। नेपालले भारतसँग सहकार्य गर्नुपर्छ, तर आफ्नो सम्पूर्ण रणनीतिक विकल्प एउटै मुलुकमा सीमित गर्नु हुँदैन। चीनसँग आर्थिक तथा कूटनीतिक सम्बन्ध विस्तार गर्ने, अमेरिकासँग विकास र प्रविधिमा सहकार्य बढाउने तथा अन्य मित्रराष्ट्रसँग सम्बन्ध विविधीकरण गर्ने नीति भारतविरोधी होइन।

यस सन्दर्भमा भुटानको उदाहरण पनि सान्दर्भिक छ। भारतसँग घनिष्ठ सम्बन्ध कायम राख्दै भुटानले चीनसँग सीमा वार्ता र अन्य कूटनीतिक विषयमा आफ्नै प्रक्रिया अघि बढाउँदै आएको छ।

भुटानको भौगोलिक अवस्था, राजनीतिक संरचना र सुरक्षा चुनौती नेपालका भन्दा फरक छन्। त्यसैले उसको नीति हुबहु अपनाउन सकिँदैन। तर निकट छिमेकीसँगको सम्बन्ध कायम राख्दै आफ्नो कूटनीतिक विकल्प विस्तार गर्ने प्रयासबाट नेपालले सिक्न सक्छ।

नेपालले भारतसँग सम्बन्ध राम्रो बनाउन चीनसँगको सम्बन्ध कमजोर बनाउनुपर्ने वा चीनसँग सम्बन्ध विस्तार गर्न भारतसँग दूरी बढाउनुपर्ने आवश्यकता छैन। विगतमा यही कमजोरी भयो। त्यसलाई सुधार गर्दै अघि बढ्न सक्नुपर्नेमा झन् अलमलिनु दुःखद हो। दुवै छिमेकीसँगको सम्बन्धलाई नेपालको राष्ट्रिय हितका आधारमा अघि बढाउनु नै परिपक्व कूटनीति हो। परिपक्वता कायम गर्न विश्वास जित्नुपर्छ। यस्ता कुरा गरेर मात्रै विश्वास जित्न सकिँदैन। आजको मुख्य चुनौती नै त्यही हो।

वाग्लेबाट अपेक्षा र नयाँ नेतृत्वको परीक्षा

वाग्ले अर्थशास्त्र बुझेका र अन्तर्राष्ट्रिय विषयमा जानकार नेता हुन्। उनले भारतसँगको सम्बन्धलाई भावनात्मक भाष्यभन्दा माथि उठाएर राष्ट्रिय हित, आर्थिक अवसर र रणनीतिक स्वायत्तताको दृष्टिले प्रस्तुत गरून् भन्ने अपेक्षा धेरैको छ।

नयाँदिल्लीमा भारतविरोधी राष्ट्रवादको युग समाप्त भएको बताउनु एउटा राजनीतिक सन्देश हुन सक्छ। तर भारतसँगको सम्बन्धमा विगतमा भएका गल्तीको जिम्मेवारी भारतविरोधी भाषण गर्नेहरूलाई दिएर पुग्दैन। भारतसँग निकटता देखाएर व्यक्तिगत वा राजनीतिक लाभ खोज्ने प्रवृत्ति पनि उत्तिकै गम्भीर समस्या हो।

वाग्लेले भारतसँग सहकार्यका सम्भावना प्रस्तुत गर्नु सकारात्मक पक्ष हो। तर नेपाली राष्ट्रवादलाई पुरानो र अप्रासंगिक भाष्यका रूपमा प्रस्तुत गर्दा नेपालको इतिहास, जनभावना र वास्तविक समस्यालाई पनि बुझ्नुपर्छ। भारतसँगको सम्बन्धमा उठेका सबै असहमति भावनात्मक उत्तेजनाका परिणाम होइनन्। कतिपय असहमति वास्तविक राष्ट्रिय सरोकारसँग जोडिएका छन्। तिनको समाधान भाषणबाट होइन, वार्ता र परिणाममुखी कूटनीतिबाट खोजिनुपर्छ। नयाँ नेतृत्वको परिचय पुराना नेताहरूको शैलीभन्दा भिन्न व्यवहारबाट स्थापित हुन्छ।

भारतसँग राम्रो सम्बन्ध बनाउने कुरा गर्नु पर्याप्त छैन। त्यस सम्बन्धलाई नेपालको आर्थिक विकास, व्यापार, ऊर्जा, पारवहन र राष्ट्रिय हितका मुद्दामा ठोस उपलब्धिमा बदल्न सक्नुपर्छ। भारतको प्रशंसा गरेर त्यहाँको नेतृत्वलाई खुसी पार्नु र नेपालको पक्षमा वार्ता गरेर उपलब्धि हासिल गर्नु फरक कुरा हुन्।

नेपाललाई अहिले चाहिएको नेतृत्व भारतसँग झुक्ने वा भारतसँग जुध्ने होइन, भारतसँग बराबरीको सम्मान र पारस्परिक हितका आधारमा संवाद गर्न सक्ने हो। राष्ट्रिय स्वार्थको रक्षा गर्न सक्ने नेतृत्वले न त भारतको विरोध गरेर लोकप्रियता खोज्नुपर्छ, न त भारतको प्रशंसा गरेर कूटनीतिक सफलता प्रमाणित गर्नुपर्छ।

वाग्लेले आफ्नो अभिव्यक्तिमा निहित भिन्नतालाई व्यवहारमा प्रमाणित गर्न सके भने मात्र उनको भनाइ परिपक्व र प्रभावकारी मानिनेछ। राष्ट्रवादको अर्थ भारतलाई अस्वीकार गर्नु होइन, नेपाललाई स्वीकार गर्नु हो।

कूटनीतिको अर्थ भारतलाई खुसी पार्नु होइन, भारतसँगको सम्बन्धलाई नेपालको हितमा उपयोग गर्नु हो। आजको बहसले देखाएको छ कि नेपाललाई चाहिएको न त विरोधको राजनीति हो, न त प्रशंसाको कूटनीति। चाहिएको हो पारस्परिक हित र राष्ट्रिय स्वार्थमा आधारित सन्तुलित संवाद। यो सन्तुलन कायम गर्न नसकेसम्म ‘भारतको विरोध गरेर राष्ट्रवादी, प्रशंसा गरेर कूटनीतिज्ञ’ बन्ने पुरानै भाष्य दोहोरिइरहनेछ। नयाँ पुस्ता र नयाँ नेतृत्वको परीक्षा यही हो।

प्रकाशित: ८ कार्तिक २०८३ २२:०९ | Sunday, October 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast