सुनसरी– सुनसरीको बर्जु गाउँपालिका–२, भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
भारतको बनारस घर भई हाल विराटनगर महानगरपालिका–६ मा बस्दै आएका लालजीप्रसाद गुप्ताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । मृतक गुप्ता विगत ४० वर्षभन्दा बढी समयदेखि नेपालमा बस्दै आएका थिए ।
स्थानीयवासीले खोलामा फालिएको बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै प्रहरी प्रमुख उपरीक्षक मल्लसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो । गुप्ताको मृत्यु कसरी भयो र घटनामा को संलग्न छन् भन्नेबारे थप अनुसन्धान भइरहेको प्रमुख मल्लले बताए । रासस
प्रकाशित: ८ कार्तिक २०८३ २१:३२ | Sunday, October 25, 2026
प्रतिक्रिया



