काठमाडौँ- भारतले लिपुलेकका सम्बन्धमा नेपाल सरकारले गरेको दाबीलाई अस्वीकार गर्दै ‘अनुचित’ भनेको छ।
लिपुलेक भन्ज्याङ हुँदै भारतले सुरु गर्न लागेको कैलाश मानसरोवर यात्राका सन्दर्भमा नेपालले उठाएको प्रश्नको जवाफ दिँदै भारतले यस्तो प्रतिक्रिया दिएको हो।
भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले लिपुलेकबारे भारतको अडान ‘स्पष्ट र एकनासे’ रहेको बताएका छन्।
नेपालको परराष्ट्र मन्त्रालयले आइतबार ‘नेपाल सरकारले भारत सरकारलाई यस क्षेत्रमा सडक निर्माण वा विस्तार, सीमा व्यापार र यातायात जस्ता कुनै पनि गतिविधि नगर्न निरन्तर आग्रह गर्दै आएको’ बताएको थियो।
लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अभिन्न अंग रहेको जनाउँदै भारतले सुरु गर्न लागेको कैलाश मानरोवर यात्राका सन्दर्भमा भारत र चीनलाई कूटनीतिक नोट पठाएको प्रस्ट पारेको थियो।
भारतले लिपुलेक भन्ज्याङ सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको पुरानो र स्थापित मार्ग रहेको बताएको छ। ‘यो दशकौँदेखि सञ्चालनमा रहेको छ, यो कुनै नयाँ विकासक्रम होइन,’ भारतको परराष्ट्र मन्त्रालयले भनेको छ।
नेपालको दाबीलाई ‘आधारहीन’ बताउँदै भारतले भनेको छ, ‘यस्ता दाबीहरू न त न्यायोचित छन्, न ऐतिहासिक तथ्य र प्रमाणमा आधारित।’ भारतले संवादका माध्यमबाट सीमासम्बन्धी विवाद समाधान गर्न तयार रहेको जनाएको छ। ‘सीमासम्बन्धी विवाद संवाद र कूटनीतिमार्फत समाधान गर्ने लगायतका द्विपक्षीय सम्बन्धका सबै पक्षमा भारत नेपालसँग संवाद गर्न सधैँ तयार छ,’ भारतीय परराष्ट्र मन्त्रालयले भनेको छ।
भारतीय परराष्ट्र मन्त्रालयले लिपुलेक हुँदै भारतीय टोली कैलाश मानसरोवर तीर्थयात्रामा जुनदेखि अगस्ट महिनामा जान लागेका घोषणा यसै साता गरेको थियो।
सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले ‘नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको छ,’ पोखरेलले आइतबार सञ्चारकर्मीसँग भने, ‘सीमा विवादबारे हामीले परराष्ट्र मन्त्रालयमार्फत बोलिसकेका छौँ। त्यो हाम्रो भूमि हो भन्नेमा हामी स्पष्ट छौँ।’



