हरिबोधनी एकादशीमा चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो

हिमाल प्रेस ४ मंसिर २०८३ ९:३० | Friday, November 20, 2026
6
SHARES
हरिबोधनी एकादशीमा चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो

भक्तपुर- नेपालकै सबैभन्दा पुरानो प्राचीन धरोहरका रूपमा परिचित लिच्छवीकालीन ऐतिहासिक भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।

अठार सय वर्ष पुरानो चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले उपत्यकाका चार नारायणमध्येको जेठो नारायणका रुपमा मानिँदै आएको नगरपालिका-४ स्थित विश्वसम्पदा सूर्चीमा सूचीकृत चाँगुनारायण मन्दिरमा आज बिहान २ बजेदेखि नै दर्शनार्थीहरुको घुइँचो लागेको बताए।

पुजारी राजोपाध्यायले चार नारायणको दर्शन गर्दा जेठो नारायणका रुपमा पुजिने चाँगुनारायणको पहिलो दर्शन गर्नसके उत्तम हुने मान्यता रहेको र चार नारायण जान नसक्नेले चाँगुनारायणको मात्रै दर्शन गर्दा पनि पुण्य प्राप्त हुने मान्यता रहेको बताए।

धार्मिक मान्यताअनुसार सृष्टिकालमा मधु र कैटभ नामक दुई दैत्यसँग युद्ध गरी विजयी प्राप्त पछि थकित भएका भगवान् विष्णुले आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेको दिनलाई हरिशयनी एकादशी भनिने र त्यसको ठीक चार महिनापछि भगवान् विष्णु पुनःजागा हुने भएकाले आजको दिनलाई हरिबोधनी अर्थात् ‘हरि जागरण’को प्रतीकका रुपमा मानिने परम्परा रहँदै आएको पुजारी राजोपाध्यायले जानकारी दिए।

आजका दिन नारायण शयनबाट जागा हुने भएकाले यस दिन चाँगुनारायणमा दर्शन गर्दा भगवान्को नजर पर्ने र आर्शिवाद प्राप्त हुने जनविश्वास रहेको उनको भनाइ छ।

मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थीको आगमनमा वृद्धि गर्न नगरपालिकाले यस वर्ष मेलालाई विशेष बनाएको नगरप्रमुख जीवन खत्रीले जानकारी दिए। मन्दिरमा सयपत्री फूलको मालाहरुले सिँगारिनुका साथै रात्रिककालीन प्रहरका लागि झिलीमिली बत्तीले निकै रौनक दिएको उनले बताए।

नगर प्रमुख खत्रीले मन्दिर आउने दर्शनार्थीलाई भक्तपुर नगरपालिकाको देकोचा र व्यासी, चाँगुनारायण नगरपालिकाको तेलकोट, दुवाकोट, काठमाडौँ मूलपानीलगायत पाँच वटा नाकाबाट मन्दिर आउनसक्ने गरी सडकको व्यवस्थापन गर्नुका साथै ट्राफिक व्यवस्थापनका लागि प्रहरीसँग समन्वय गरिएको बताए।

चाँगुनारायण नगरपालिकाले सहज दर्शन र पूजा गर्ने व्यवस्था गर्न मन्दिरमा स्वयंसेवक एवं स्काउट, नगर प्रहरी र प्रहरी परिचालन गरिएको छ। उनले मन्दिरमा लाइन व्यवस्थापन गर्न डोरी लागेर मिलाइएको र लाइन बसेका भक्तजनलाई सहज एवं छिटो दर्शन गर्ने व्यवस्था गरिएको बताउँदै बिहान ४ बजेदेखि नै नगरपालिकाको टोली मन्दिरको मेला व्यवस्थापनमा खटिएको बताए।

आजका दिनमा चार नारायणको दर्शन गरेमा पूण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौँको शेषनारायण, इचङ्गकुनारायण र ललितपुरको विशङ्खुनारायणको दर्शन गर्ने परम्परा रहेको छ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेको तुलसीको मठलाई सिँगारेर पूजा गरी माला लगाई तुलसीको दामोदरसँग विवाह गराउने परम्परा रहेको छ। आजको दिनमा ब्रत बस्ने र चामलको परिकार खान नहुने परम्पराअनुसार पिँडालु र सख्खरखण्डको परिकार खाने चलन छ।

प्रकाशित: ४ मंसिर २०८३ ९:३० | Friday, November 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast