काठमाडौँ- नेपाल शिक्षक संघको संघीय कार्य समितिले संघका सातवटै प्रदेश र ७७ वटै जिल्ला कार्य समितिलाई सबै तहका अधिवेशन तथा महाधिवेशन प्रचलित विधान र वैधानिक व्यवस्थाअनुसार सम्पन्न गर्न निर्देशन दिएको छ।
संघीय कार्य समितिका महासचिव ज्ञानन्द्रबहादुर रावलले परिपत्रमार्फत प्रदेश तथा जिल्ला कार्य समितिलाई अधिवेशनसम्बन्धी आवश्यक तयारी तत्काल अघि बढाउन आग्रह गरेका हुन्।
परिपत्रमा गत वैशाख महिनामा सम्पन्न संघीय प्रतिनिधिसभाबाट संघका सबै तहका संरचनाहरूको अधिवेशन तथा महाधिवेशन निर्धारित समयावधिभित्र सम्पन्न गर्ने सम्बन्धमा आवश्यक निर्णय भइसकेको स्मरण गराइएको छ।
यसअघि पनि संघीय कार्यालयबाट यस विषयमा आवश्यक निर्देशन तथा परिपत्र जारी भइसकेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्न संघले पुनः आग्रह गरेको छ।
नेपाल शिक्षक संघको विधान, नियमावली तथा प्रचलित वैधानिक व्यवस्थाले निर्दिष्ट गरेका प्रक्रिया, प्रतिनिधित्व, सदस्यता अद्यावधिक, संघीय कार्यालयबाट प्रमाणीकरण, निर्वाचन प्रणालीलगायतका आवश्यक प्रावधान पूर्ण रूपमा पालना गर्दै अधिवेशनसम्बन्धी कार्यक्रम व्यवस्थित, पारदर्शी, निष्पक्ष र समयबद्ध रूपमा अघि बढाउनुपर्ने परिपत्रमा उल्लेख छ।
संघले सबै तहका कार्य समितिलाई आ-आफ्नो तहको अधिवेशन सम्पन्न गर्न आवश्यक पूर्वतयारी तत्काल अघि बढाउन आग्रह गरेको छ। अधिवेशनको मिति र स्थान निर्धारण, प्रतिनिधि छनोट, सदस्यता अद्यावधिक तथा संघीय कार्यालयबाट प्रमाणीकरण गराउनेलगायत निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया वैधानिक व्यवस्थाअनुसार सुनिश्चित गर्न निर्देशन दिइएको छ।
त्यसैगरी, माथिल्लो तहको अधिवेशन तथा महाधिवेशन प्रभावित नहुने गरी तल्लो तहका अधिवेशनहरू निर्धारित समयमै सम्पन्न गर्न आवश्यक समन्वय र सहजीकरण गर्न संघले आग्रह गरेको छ। अधिवेशन सञ्चालनका क्रममा संघको विधान, नियमावली, संघीय प्रतिनिधिसभाका निर्णय तथा संघीय कार्यालयबाट जारी निर्देशन र परिपत्रहरूको अनिवार्य पालना गर्नसमेत निर्देशन दिइएको छ।
अधिवेशनसम्बन्धी कार्यतालिका निर्माण गरी सम्बन्धित माथिल्लो तह तथा संघीय कार्यालयलाई जानकारी गराउन र सम्पन्न भएका कार्यक्रमहरूको आधिकारिक विवरण समयमै उपलब्ध गराउन पनि परिपत्रमार्फत भनिएको छ। कुनै पनि तहमा वैधानिक प्रक्रिया अवरुद्ध हुने, अनावश्यक ढिलाइ हुने वा विवाद सिर्जना हुने अवस्था आउन नदिन सम्बन्धित जिल्लामा तोकिएका सहजकर्ताले आवश्यक समन्वय, संवाद र सहजीकरण गर्नुपर्ने उल्लेख गरिएको छ।
यसैगरी, जिल्ला कार्य समितिहरूले संघीय कार्यालयमा बुझाउनुपर्ने सदस्य विवरण, सदस्यता शुल्क, महाधिवेशन शुल्क तथा विगतका बाँकी बक्यौतासमेत अद्यावधिक गरी फरफारक गर्नुपर्ने निर्देशन दिइएको छ। संघको सांगठनिक तथा आर्थिक विवरण व्यवस्थित राख्न र अधिवेशन प्रक्रियालाई सहज बनाउन यसलाई महत्वपूर्ण विषयका रूपमा लिइएको छ।
संघीय कार्य समितिले अधिवेशन तथा महाधिवेशनलाई संस्थागत सुदृढीकरण, लोकतान्त्रिक अभ्यास, नेतृत्व हस्तान्तरण तथा सांगठनिक गतिशीलताको महत्वपूर्ण आधारका रूपमा लिएको छ। त्यसैले सबै तहका कार्यसमितिहरूले आपसी समन्वय र सहकार्यका माध्यमबाट अधिवेशनसम्बन्धी कार्यहरू निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिइएको छ।
परिपत्रमा संशोधित विधान छपाइ भइसकेको जानकारी गराउँदै संशोधित विधान प्राप्त गर्न संघीय कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ। महासचिव रावलले संघका सबै तहका संरचनाहरूलाई विधानसम्मत, व्यवस्थित र निर्धारित समयभित्र अधिवेशन तथा महाधिवेशन सम्पन्न गरी संघको संस्थागत विकास र लोकतान्त्रिक अभ्यासलाई थप प्रभावकारी बनाउन आग्रह गरेका छन्।



