काठमाडौँ- नेपाली बजारमा एक सातामा सुनको मूल्य ९.०६ प्रतिशतले घटेको छ। आज शुक्रबार सुनको मूल्य प्रतितोला ११ हजार ९०० रुपैयाँले घटेर दुई लाख ४५ हजार ७०० रुपैयाँ कायम भएको छ।
साताभर सुनको मूल्य निरन्तर ओरालो लागेको हो। आइतबार बजार खुल्दा प्रतितोला दुई लाख ७० हजार २०० रुपैयाँ रहेको सुनको मूल्य सोमबार दुई लाख ६९ हजार १०० रुपैयाँ र मंगलबार दुई लाख ६७ हजार २०० रुपैयाँमा झरेको थियो।
बुधबार थप घटेर दुई लाख ६० हजार ९०० रुपैयाँ कायम भएको सुन बिहीबार दुई लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार भने एकै दिन ११ हजार ९०० रुपैयाँले घटेको हो।
शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ४५ हजार ४०० र चाँदीको मूल्य रु तीन हजार ११० कायम छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको तीव्र गिरावटको असर नेपाली बजारमा पनि परेको हो। बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस तीन हजार ६७४ डलरमा झरेको थियो। उक्त मूल्य १४ महिनायताकै कम हो। नेपालले सुनको माग आयातमार्फत पूर्ति गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावको प्रत्यक्ष असर घरेलु बजारमा पर्ने गर्छ।
विवाहको सिजन सुरु भएका बेला सुनको मूल्य घट्दा उपभोक्तालाई केही राहत मिलेको छ। सन् २०२६ को सुरुवाततिर भूराजनीतिक तनाव, अमेरिकी आर्थिक तथा व्यापार नीतिबारेको अनिश्चितता, विश्व वित्तीय स्थिरताप्रतिको चिन्ता र अमेरिकी डलर कमजोर बनेपछि लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतर्फ आकर्षित भएका थिए।
केन्द्रीय बैंकहरूले ठूलो परिमाणमा सुन खरिद गर्नु र सुनमा आधारित एक्सचेन्ज ट्रेडेड फन्ड (ईटीएफ) मा लगानी बढ्नुले पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यलाई कीर्तिमानी उचाइमा पुर्याएको थियो।
तर पछिल्लो समय अमेरिकी डलर बलियो बनेको र भूराजनीतिक तनाव केही कम भएको अवस्थामा सुनको मूल्यमा दबाब परेको छ। यसअघि तीव्र रूपमा बढेको मूल्यबाट नाफा सुरक्षित गर्न लगानीकर्ताहरूले सुन बिक्री गर्न थालेपछि पनि मूल्य घट्न थालेको हो।



