दिल्लीमा नेपाली राजदूत पाण्डेलाई ‘ऐतिहासिक’ कूटनीतिक प्राथमिकता

हिमाल प्रेस ३ मंसिर २०८३ १५:४३ | Thursday, November 19, 2026
दिल्लीमा नेपाली राजदूत पाण्डेलाई ‘ऐतिहासिक’ कूटनीतिक प्राथमिकता भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसमक्ष बिहीबार नयाँदिल्लीमा ओहदाको प्रमाणपत्र पेस गर्दै नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे। तस्बिर स्रोत : नेपाली दूतावास, नयाँदिल्ली

काठमाडौँ- भारतका लागि नवनियुक्त नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले दिल्ली पुगेको ४८ घण्टाभित्रै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन्।  दिल्लीस्थित कूटनीतिक अधिकारीहरूले यसलाई ऐतिहासिक घटना भनेका छन्।

भारतीय राष्ट्रपतिसमक्ष बिहीबार अपराह्न ओहदाको प्रमाणपत्र पेस गरेका पाण्डेले दिल्ली पुगेको दुई दिनमै औपचारिक रूपमा राजदूतको जिम्मेवारी सम्हाल्ने प्रक्रिया पूरा गरेका हुन्। उनी मंगलबार दिल्ली पुगेका थिए।

भारतीय अधिकारीहरूका अनुसार यति छोटो अवधिमा ओहदाको प्रमाणपत्र पेस गर्ने अवसर पाएको नेपाली राजदूत मात्रै होइन, दिल्लीमा अन्य राजदूतले पनि यसअघि यस्तो अवसर पाएको आफूहरूलाई स्मरण छैन।

पाण्डेसँगै ओहदाको प्रमाणपत्र पेस गरेका स्पेन र ग्रिसका राजदूत भने करिब दुई महिनाअघि दिल्ली पुगेका थिए। पाण्डे दिल्ली पुगेको दुई दिनमै ओहदाको प्रमाणपत्र पेस गर्न पाउनुलाई भारतले नेपालप्रति देखाएको विशेष कूटनीतिक सदासयताका रूपमा पनि हेरिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई दृष्टिगत गर्दै पाण्डेलाई छिटो ओहदाको प्रमाणपत्र पेस गर्ने अवसर दिइएको हुन सक्ने कूटनीतिक वृत्तमा आकलन गरिएको छ। यसलाई नेपाल-भारत सम्बन्धमा सकारात्मक संकेतका रूपमा समेत हेरिएको छ। प्रधानमन्त्री शाह मंसिर ६ गते भारतको राजकीय भ्रमणमा जाने तयारी छ।

नवनियुक्त राजदूत पाण्डेको नियुक्ति, दुवै देशमा नयाँ राजदूतको आगमन र नेपालमा करिब दुईतिहाइ बहुमतको सरकार रहेको वर्तमान परिस्थितिले नेपाल–भारत सम्बन्धलाई नयाँ गति दिने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast