मंगलबार काठमाडौँ आएका नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। तस्बिर स्रोत : भारतीय दूतावास
काठमाडौँ- नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला आफ्नो जिम्मेवारी सम्हाल्न मंगलबार काठमाडौँ आइपुगेका छन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालको परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा नेपालस्थित भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेको भारतीय दूतावासले जनाएको छ।
भारतीय विदेश सेवाको सन् १९९३ ब्याचका कूटनीतिज्ञ दलेला यसअघि विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए।
उनी यसअघि भुटानका लागि भारतीय राजदूत थिए। भारतीय विदेश मन्त्रालयको उत्तरी विभागमा निर्देशक र संयुक्त सचिवका रूपमा काम गर्दा उनले नेपाल र भुटानसँग सम्बन्धित विषय हेरेका थिए।
दलेलाले भारतको प्रधानमन्त्री कार्यालयमा काम गर्नुका साथै व्यापार नीति र विश्व व्यापार संगठनसँग सम्बन्धित जिम्मेवारी पनि सम्हालेका छन्। भारतको आर्थिक कूटनीति, विकास साझेदारी र बहुपक्षीय आर्थिक सम्बन्धमा उनको अनुभव छ। उनी ब्रिक्सलगायतका बहुपक्षीय समूहमा भारतको प्रतिनिधित्व गर्ने जिम्मेवारीमा पनि छन्।
नेपालका लागि उनको नियुक्तिलाई भारतले द्विपक्षीय सम्बन्धलाई आर्थिक सहकार्य, व्यापार, ऊर्जा र क्षेत्रीय सम्पर्क सञ्जालसँग जोडेर अघि बढाउन खोजेको संकेतका रूपमा हेर्न सकिने कूटनीतिक अधिकारीहरू बताउँछन्।



