काठमाडौँ- प्रतिपक्षी दलका नेताहरुले संसद आह्वान गर्न सभामुख डोलप्रसाद अर्यालसँग आग्रह गरेका छन्।
मंगलबार सिंहदरबारमा कांग्रेस र एमालेका नेताहरुले सभामुख अर्यालसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै संसद आह्वान गर्न आग्रह गरेका हुन्। भेटवार्तामा सभामुख अर्यालले छिटो संसद बोलाउने प्रतिबद्धता जनाएको उनीहरुले बताएका छन्।
सभामुखसँगको भेटपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले हाल बाहिर आएका अत्यन्तै संवेदनशील विषयहरूमा संसद्भित्रैबाट व्यापक छलफल गर्नुपर्ने र उठेका विषयहरुलाई लामो समयसम्म अल्झाएर राख्नुको साटो संसद्बाटै छलफल गर्नुपर्ने बताए।
गम्भीर विषयहरुमा संसद्लाई छिटोभन्दा छिटो बोलाएर निकास खोज्नुपर्नेमा सभामुखको ध्यानाकर्षण गराइएको उनले बताए। उनले संसद् छल्ने गरी अध्यादेशमार्फत धेरै कुराहरूमा हस्तक्षेप गर्ने र लोकतन्त्रका मर्ममाथि प्रहार गर्ने काम भइरहेकाले पनि संसद् चाडो आह्वान हुनुपर्नेमा जोड दिए।
साथै उनले कर्मचारीहरुलाई कार्यस्थलबाट उठाएर प्रधानमन्त्री कार्यालय वा अन्यत्र लैजाने र यातनागृह जस्तो अनुभूति गराउने परिदृश्यको निकास पनि संसद्बाटै खोज्नुपर्ने उल्लेख गरे।
त्यस्तै एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले संसद् नरहेको अवस्थामा विभिन्न समस्याहरू र विकृतिहरू प्रकट भइरहेको अवस्थामा तत्काल संसद आह्वान हुनुपर्ने बताए। उनले सरकार, प्रशासन, न्यायपालिका र राजनीतिक दलहरूमा बिचौलियाको बिगबिगी बढेकाले त्यसलाई निरुत्साहित गर्ने र खोजी मुख्य जिम्मेवारी राजनीतिक दलहरुको भएको उल्लेख गरे।
उनले न्यायाधीशमाथि उठेका प्रश्नको अध्ययन तथा छानबिन न्याय परिषद्, सर्वोच्च अदालत वा संसद्को समितिको माध्यमबाट गर्न सकिने बताए। यसअघि सोमबार बसेको विपक्षी दलको बैठकले संसद आह्वानका लागि सभामुखसँग आह्वान गर्ने निर्णय गरेको थियो।



