काठमाडौँ- कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।
राष्ट्रिय खेलकुद परिषद्ले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।
प्रतियोगिताको उद्घाटन कात्तिक १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुने भए पनि प्रतियोगिताका खेलहरू भने मंसिर ८ गतेदेखि नै सुरु हुने परिषद्ले जनाएको छ।
प्रतियोगिताअन्तर्गत विभिन्न ३२ खेलका ३८४ विधामा प्रतिस्पर्धा हुने र प्रतियोगितामा सातवटै प्रदेश, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहने राखेप सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिए।
प्रतियोगिताका खेलहरू सुर्खेतमा २३, नेपालगञ्जमा २, बर्दियामा २, दैलेखमा १, कालिकोटमा १, सल्यानमा २ र पश्चिम रुकुममा १ गरी विभिन्न स्थानमा सञ्चालन गरिने उनले बताए। दशौँ राष्ट्रिय खेलकुदमा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने सदस्य सचिव मेहताले जानकारी दिए।
त्यस्तै प्रतियोगितामा व्यक्तिगततर्फ स्वर्ण पदक विजेतालाई २० हजार, रजत विजेतालाई १५ हजार र कांस्य विजेतालाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने राखेपले जनाएको छ। टिमतर्फ स्वर्ण विजेतालाई १५ हजार, रजत विजेतालाई १० हजार र कांस्य विजेतालाई ८ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको सदस्य सचिव मेहताले बताए।



