काठमाडौँ- कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अर्धशतकमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँ गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर काठमाडौँ गोर्खाजले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको हो।
खेलको सुरुवात सुदूरपश्चिमका लागि निकै खराब रह्यो। टोलीले २.३ ओभरमा मात्र ८ रन जोड्दा चार विकेट गुमाइसकेको थियो।
यस्तो कठिन अवस्थामा आरिफ शेख र कप्तान दीपेन्द्रसिंह ऐरीले पाँचौँ विकेटका लागि ६२ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई संकटबाट उकासे। आरिफ १६ रन बनाएर रनआउट भए।
त्यसपछि छैटौँ विकेटका लागि दीपेन्द्र र थरिन्दु रत्नायकेले ५४ रनको साझेदारी गरेपछि सुदूरपश्चिमले प्रतिस्पर्धात्मक योगफल तयार पार्न सफल भयो।
दीपेन्द्रले ५५ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ६० रन बनाए। उनले ४६ बलमा चार चौका र दुई छक्कासहित अर्धशतक पूरा गरेका थिए। उनको इनिङ्स जहानदाद खानको बलमा भीम सार्कीको हातबाट क्याच आउट भएपछि समाप्त भयो।
थरिन्दु रत्नायके २६ रन र फाबियन एलेन दुई रनमा अविजित रहे। सुदूरपश्चिमका ओपनर स्कट कुग्लेजिनले ६ र विनोद भण्डारीले एक रन बनाएर आउट भए। ब्रान्डन म्याकमुलेन र इशान पाण्डेले खातासमेत खोल्न सकेनन्।
काठमाडौँ गोर्खाजका लागि जहानदाद खानले तीन तथा सन्तोष यादवले दुई विकेट लिए।



