काठमाडौँ– पाटन दरबारको कात्तिक डबलीमा प्रदर्शन गरिने ऐतिहासिक कार्तिक नाच यस वर्ष कात्तिक २७ गतेदेखि सुरु हुने भएको छ ।
नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारका अनुसार नाच १२ दिनसम्म हरेक साँझ ७ बजेदेखि प्रदर्शन हुनेछ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको यो नाच भगवान् विष्णुका विभिन्न कथामा आधारित छ ।
कार्तिक नाच प्रचारप्रसार समितिका संयोजक सञ्जय शर्मा राजोपाध्यायका अनुसार आर्थिक अभाव, कलाकारको कमी र नयाँ पुस्तामा भाषागत समस्या बढ्दै जाँदा नाचलाई लामो समयसम्म सञ्चालन गर्न चुनौती छ ।
ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको कार्तिक नाचलाई निरन्तरता दिन समितिले १० करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने, कलाकारलाई व्यावसायिक बनाउने र नयाँ पुस्तालाई भाषा तथा नाचको प्रशिक्षण दिने लक्ष्य राखेको छ ।




