काठमाडौँ- भारतको राजधानी नयाँदिल्लीमा ककरोच जनता पार्टी (सीजेपी) को प्रदर्शनलाई मध्यनजर गरी प्रहरीले कडाइ गरेको छ।
प्रहरीले सीजेपीका संस्थापक अभिजित दिपकेसहित पार्टीका नेता सौरव दास र आशुतोष रांकालाई नियन्त्रणमा लिएको छ। मुम्बईबाट दिल्ली आएका उनीहरूलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजबाटै प्रहरीले नियन्त्रणमा लिएको हो।
सीजेपीले प्रहरीको यो कारबाहीलाई ‘तानाशाही’ कदम भनेको छ। सीजेपीले नियन्त्रणमा लिएकाहरूलाई तत्काल रिहा गर्न माग गरेको छ।
यस्तै प्रहरीले केही कानुन व्यवसायीहरुलाई पनि नियन्त्रणमा लिएको छ। दिल्लीस्थित सुप्रिम कोर्ट नजिकबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
गुरुद्वारा बंगला साहिबबाट जन्तरमन्तरतर्फ अगाडि बढिरहेका प्रदर्शनकारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। यसक्रममा प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज समेत गरेको छ।
त्यस्तै प्रदर्शनकै क्रममा प्रहरीले केही पत्रकारहरुलाई पनि नियन्त्रणमा लिएको छ। न्युजलौन्ड्री, स्क्रौल डट इन र नवभारत टाइम्समा आवद्ध पत्रकारहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ।
प्रदर्शनम सहभागी हुन गइरहेका करिब चार सय जनालाई प्रहरीले दिल्लीको विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको छ। सीजेपीको प्रदर्शनलाई मध्यनजर गरेर दिल्लीमा करिब २५ हजार प्रहरी परिचालन गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
सीजेपीको प्रदर्शनलाई हेरेर दिल्लीको कतिपय क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको छ। ‘जनपथ–कर्तव्य पथ’ चौबाटोलाई केन्द्र मानेर वरपरको चार किलोमिटर क्षेत्रभित्र इन्टरनेट सेवा बन्द रहेको बताइएको छ।
त्यस्तै सुरक्षा सतर्कता अपनाउँदै दिल्ली मेट्रोका ५७ वटा स्टेशनहरुमा यात्रुको प्रवेश र निकास रोक्ने निर्णय गरिएको छ।
यसैबीच सीजेपीको प्रदर्शनअघि प्रहरीले भारतका चर्चित युट्युबर धु्रव राठीलाई नियन्त्रणमा लिएको छ। उनलाई गुरुग्रामको सेक्टर–५६ बाट प्रहरीले हिरासतमा लिएको हो।
मुख्य चुनाव आयुक्त ज्ञानेश कुमारको विरोधमा सीजेपीले प्रदर्शनको आह्वान गरेको हो।
यसैबीच दिल्लीमा जारी प्रदर्शनका बीच कांग्रेस नेता राहुल गान्धी र आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले प्रतिक्रिया दिएका छन्।
राहुल र केजरीवालले मुख्य चुनाव आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग दोहो¥याएका छन्। ‘ज्ञानेश कुमार जानेछन्, यो सरकार पनि जानेछ। अनि सुरु हुनेछ लोकतन्त्रको मरम्मत,’ राहुलले भनेका छन्।
केजरीवालले अहिलेको अवस्था ‘इमरजेन्सी’ भन्दा पनि खराब रहेको टिप्पणी गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको शासन तानाशाहीतर्फ उन्मुख रहेको उनले आरोप लगाएका छन्।
यता भारतीय जनता पार्टी (बीजेपी) का अध्यक्ष नितिन नवीनले सीजेपीको प्रदर्शन मुलुकलाई अस्थिर बनाउने प्रयास रहेको बताएका छन्। उनले देशमा खतरनाक र गम्भीर स्थिति बनाउने प्रयास भइरहेको टिप्पणी गरेका छन्।



