युवा आक्रोशले मोदीलाई धक्का

हिमाल प्रेस १२ साउन २०८३ १२:१८ | Tuesday, July 28, 2026
4
SHARES
युवा आक्रोशले मोदीलाई धक्का

काठमाडौँ- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो राजनीतिक जीवनमा असफलता नगण्य मात्रामा मात्र देखेका छन्। अक्टोबर २००१ मा मोदी विधायक नहुँदै भारतीय जनता पार्टी (बीजेपी) ले उनलाई गुजरातको मुख्यमन्त्री बनाइदियो। मुख्यमन्त्री बनेपछि मोदीले राजनीतिमा कदम राखे। उनले फेब्रुअरी २००२ मा राजकोट–२ बाट विधानसभा उपनिर्वाचन जितेका थिए। त्यो मोदीको राजनीतिक जीवनको पहिलो चुनाव थियो।

त्यतिबेला जितको अन्तर १४ हजार ७ सय भोट थियो। उनी मे २०१४ सम्म गुजरातको मुख्यमन्त्री रहे, त्यसपछि प्रधानमन्त्री बने। मोदीको नेतृत्वमा बीजेपीको पहिलोपटक र भारतमा १९८४ पछि पहिलोपटक पूर्ण बहुमतको सरकार बन्यो।

२०१९ को आमनिर्वाचनमा मोदीको लोकप्रियता चरम विन्दुमा थियो। किनभने बीजेपीले उनको नेतृत्वमा ३०३ सिट जितेको थियो, जुन २०१४ को २८२ सिटभन्दा बढी थियो।

२०२४ को आमनिर्वाचनमा मोदीको पकड खुकुलो भयो र बीजेपी २४० सिटमा सीमित हुन पुग्यो। २००१ देखि अहिलेसम्म मोदीको राजनीति हेर्ने हो भने सत्ता केन्द्रित छ। विपक्षको दबाबको सामना नगण्य गरेका छन् उनले।

मोदीले आफ्नो कदम पछि हटाउनुपरेका यस्ता दुर्लभ राजनीतिक घटना कमै छन्। २००२ को गुजरात दंगाका बेला मुख्यमन्त्री पदबाट राजीनामा दिन मोदीमाथि दबाब थियो। तर त्यो दबाब मोदीलाई हटाउन पर्याप्त हुन सकेन।

मोदी–शैलीलाई चुनौती

३७ दिनसम्म दिल्लीको जन्तरमन्तरमा चलेको जेनजी आन्दोलनले मोदीको शैलीलाई कडा चुनौती दियो। उनका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्‍यो। मोदीको मन्त्रीले बाह्य दबाबमा राजीनामा दिनु उनको राजनीतिक शैलीसँग मेल खाँदैन।

मोदी १२ वर्षदेखि लगातार प्रधानमन्त्री छन्। यस अवधिमा उनका कुनै पनि मन्त्रीले राजीनामा दिनुपरेको थिएन। घटना विशेष कारणले मन्त्रीलाई राजीनामा दिलाएर मोदी आफ्नो सरकार कमजोर रहेको सन्देश दिन रुचाउँदैनन्।

युवा आन्दोलनपछि मोदी सरकारका शिक्षामन्त्री प्रधान राजीनामा दिन बाध्य भए। यसलाई प्रधानमन्त्री मोदी र उनको सत्ताधारी बीजेपीको राजनीतिक स्थितिका लागि महत्वपूर्ण धक्काको रूपमा हेरिएको छ।

छिट्टै उनले उत्तर प्रदेशको महत्त्वपूर्ण चुनावको सामना गर्नुपर्नेछ। त्यहाँ युवाका लागि रोजगारीको मुद्दा ठूलो संख्याको मतदाताहरूको प्रमुख चिन्ता हो। यसबाहेक पञ्जाब र उत्तराखण्डमा पनि चुनाव छ।

‘नरेन्द्र मोदी : द म्यान, द टाइम्स’ का लेखक निलाञ्जन मुखोपाध्याय भन्छन्, ‘यो मोदीको धेरै ठूलो हार हो। यो उनको त्यो छविका लागि पनि ठूलो धक्का हो, जसलाई एक कठोर, जनप्रिय र बलियो नेताको रूपमा तयार पारिएको थियो।’

करिब एक महिनाअघि सुरु भएको युवाहरूको आन्दोलन २० जुलाईमा उग्र बनेको थियो। संसद्तर्फ मार्च गरिरहेका विद्यार्थीहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको थियो।

प्रहरी दमनको तस्बिर तीव्र रूपमा सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा फैलियो। त्यसपछि आम मानिसहरूमा विद्यार्थीहरूप्रति व्यापक सहानुभति पैदा भयो।

बलिउडका धेरै कलाकारहरूले युवाहरूको समर्थन गरे, जबकि प्रहरीको कारबाहीको व्यापक आलोचना भयो।

विपक्षी सांसदहरू पनि विद्यार्थीको समर्थनमा उत्रिए। उनीहरूले शिक्षामन्त्रीको राजीनमा माग्दै संसद अवरूद्ध पारे। विद्यार्थीहरूको आन्दोलन पटना, मुम्बई र कोलकत्तासहित देशका धेरै ठूला सहरहरूमा फैलिसकेको थियो। प्रश्नपत्र चुहावटविरूद्ध हजारौँ युवा सडकमा ओर्लिएका थिए।

के समर्थक नै विरोधी बने?

शनिबार जन्तर मन्तरमा शिक्षामन्त्रीको राजीनामको खबर पुग्नसाथ विद्यार्थीहरू खुसीले झुमेका थिए। ककरोच जनता पार्टी (सीजेपी) का प्रवक्ता सौरभ दासले देशका युवा जागरूक भइसकेको र अगाडि पनि परिवर्तनका लागि संघर्ष जारी राख्ने बताएका थिए।

मोदी सरकार जनदबाबका अगाडि झुक्नुपरेको यो पहिलोपटक भने थिएन।

२०२१ मा पनि उत्तर भारतका हजारौँ किसानहरूको महिनौँ लामो आन्दोलनपछि सरकारले विवादस्पद कानुन फिर्ता लिनुपरेको थियो। तर, यसपटक प्रदर्शनकारीहरूले केही दिनमै सरकारलाई भुक्न बाध्य पारिदिए।

प्रदर्शनकारीहरूको आक्रोश अब प्रश्नपत्र चुहावटसम्म मात्र सीमित नरहेको विषय मोदीका लागि चिन्ताको विषय बनिसकेको विश्लेषकहरूको बुझाइ छ।

पछिल्लो आन्दोलनमा व्यापक असन्तोष देखियो। युवाहरूमा बढ्दो बेरोजगारी र देशका ३७ करोड युवा जनसंख्याका लागि सम्मानजनक र राम्रो तलब भएका कामको कमी जस्ता मुद्दाहरू पनि समावेश छन्।

येल विश्वविद्यालयमा दक्षिण एसियाली अध्ययनका प्राध्यापक सुशासन्त सिंहले ब्रिटिस अखबार ‘फाइनान्सियल टाइम्स’ सँग भने,‘यी प्रदर्शनहरूको निशाना अब मोदी बनिसकेका छन्। यो भिडमा ठूलो संख्यामा यस्ता मानिसहरू थिए, जसले मोदीलाई भोट दिएका थिए। मोदीले उनीहरूसँग बाचा गरेका थिए। मोदीले उनीहरूको विश्वास तोडेको र बाचा पूरा नगरेको युवाहरूले महसुस गरेका छन्।’

अजीम प्रेमजी विश्वविद्यालयको ‘युथ लेबर मार्केट स्टडी’ का अनुसार १५ देखि २५ वर्ष उमेर समूहका लगभग ४० प्रतिशत स्नातक गरेको युवा बेरोजगार छन्। रोजगारीमा भएकाहरूले पनि कम पारिश्रमिक पाउने गरेका छन्। त्योभन्दा पनि कम मानिसहरूलाई सामाजिक सुरक्षा जस्ता सुविधा उपलब्ध छ।

चुनावमा पर्ला असर?

निलाञ्जन मुखोपाध्याय भन्छन्,‘मलाई लाग्छ कि बीजेपीले बुझ्नै सकेन कि युवाहरूसँग कसरी सम्झौता गर्ने वा व्यवहार गर्ने। यो पुस्ता बीजेपीसँग अब तिखो प्रश्न सोधिरहेका छन्, डराउन छोडेका छन्। मैले पहिलोपटिक १६ देखि १९ वर्षका युवाहरूमा प्रधानमन्त्री, मन्त्री र सरकारप्रति यति धेरै आक्रोश देखेको छु।’

‘मैले पहिले कहिल्यै कुनै भारतीय प्रधानमन्त्रीका विरूद्ध यस प्रकारको आक्रोश देखेको थिएन। संकटकालपछि इन्दिरा गान्धीको मजाक उडाइएको थियो, तर यसरी होइन। युवाहरू नारा लगाइरहेका थिए–जब मोदी डराउँछ, हिन्दू–मुस्लिम गर्छ। मैले योसब पहिलोपटक देखेँ।’

युवाहरूको यो चुनौतीका बाबजुद मोदी राजनीतिक रूपमा कमजोर भइरहेका छन् भन्ने मान्न सकिन्छ त? केवल दुई महिनाअघि मात्र बीजेपीले पश्चिम बंगाल, जुन भारतको चौथो सबैभन्दा बढी जनसंख्या भएको राज्य हो, त्यहाँ पहिलोपटक जित हासिल गर्‍यो।

अर्को लोकसभा निर्वाचन २०२९ मा हुनुपर्नेछ। त्यसैले मतदाताहरूका सामु पुनः जानुअघि युवाको असन्तोष कम गर्न मोदीसँग पर्याप्त समय छ।

मुखोपाध्याय भन्छन्,‘समय त छ तर सरकार अझै पनि गम्भीर देखिएको छैन। प्रधानका ठाउँमा शिक्षामन्त्री बनेर आएका व्यक्ति त्यति गम्भीर छैनन्। शिक्षा सचिव पनि उपयुक्त व्यक्ति होइनन्। यी दुवै जनामाथि धेरै प्रकारका गम्भीर आरोपहरू छन्।’

यो आन्दोलनले भारतको शिक्षा व्यवस्थाको स्थितिलाई लिएर भित्रभित्रै गुम्सिरहेको असन्तोषको स्पष्ट संकेत दियो।

करिब ७ प्रतिशतको आर्थिक वृद्धि दरले भारतलाई विश्वको सबैभन्दा तीव्र गतिमा बढ्दै गरेको ठूलो अर्थतन्त्रहरूमा सामेल त गराइदिएको छ, तर हरेक वर्ष लाखौँ स्नातकहरूका लागि पर्याप्त रोजगारी सिर्जना गर्न अझै संघर्ष गरिरहेको छ।

भारतका युवा गम्भीर संकटको सामना गरिरहेका छन्। त्यहाँका कुल बेरोजगारहरूमा हरेक पाँच जनामध्ये चार जना ३० वर्षभन्दा कम उमेरका छन्। अझ चिन्ताजनक कुरा के छ भने स्नातकहरूमा बेरोजगारीको दर निरक्षरहरूको तुलनामा ९ गुणा बढी छ।

अर्कोतर्फ वास्तविक ज्याला लगभग स्थितर बनेको छ। सरकारी सीप विकास कार्यक्रमले पनि अपेक्षित परिणाम दिन सकेको छैन। पछिल्लो एक दशकमा १.६ करोड मानिसलाई तालिम दिइएकोमा केवल १५ प्रतिशतले मात्र रोजगारी पाए।

भारतका प्रतिष्ठित आईटी कम्पनीहरूले पनि इन्जिनियरहरूको कटौती गरिरहेका छन् र नयाँ भर्ना रोकिएका छन्।

पछिल्लो एक दशकदेखि युवाहरूकै सहारामा मोदीले आफ्नो राजनीतिक आधार तयार गरेका थिए। उनले हरेक वर्ष दुई करोड जागिर दिने, सयवटा नयाँ सहर बनाउने, पूर्वाधारमा सुधार गर्ने, भ्रष्टाचार समाप्त गर्ने र एउटा नयाँ मध्यमवर्ग तयार गर्ने बाचा गरेका थिए। तर, १२ वर्षपछि युवाहरू यी बाचालाई लिएर अब प्रश्न सोधिरहेका छन्। बीबीसीको सहयोगमा

प्रकाशित: १२ साउन २०८३ १२:१८ | Tuesday, July 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast